माथिल्लो तामाकोसीमा स्थानीयलाई ३० कित्ता देखि ३०० कित्तासम्म

 आवाज संवाददाता     ७ भाद्र २०७४, बुधबार

 

दोलखा, ६ भदौ
माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको जिल्लावासीले पाउने शेयर पौषमा खुल्ला हुने भएको छ । स्थानीयबासीका लागि खुल्ने सेयरका लागि न्यूनतम् ३० कित्तादेखि ३०० कित्तासम्म दोलखाबासीले लगानीको अवसर पाउने भएका छन् ।

जिल्ला समन्वय समितिकामा बसेको बैठको जिल्ला स्थित राजनितिक दल, जनप्रतिनिधि ,माथिल्लो तामाकोसी जलविद्युत आयोजनाका अधिकारी तथा सरोकारवालाहरुसँगको छलफलले यस्तो निर्णय गरेको हो । शेयर खुल्लाको प्रक्रिया भदौबाट सुरु गर्ने निर्णय भएको जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डे बताए । ‘सबै दोलखाबासी न्युनतम ३० कित्ता सेयर सुरक्षित रहेको छ, अधिकतम ३०० सम्मको शेयर लगानी गर्न दिने निर्णय भयो’ उनले भने ‘अब दोलखाबासीको तामाकोसीको सेयर लगानी गर्ने प्रतिक्षाको घडी पुसमा पूरा हुनेछ ।’ समन्वय समितिका प्रमुखले पाण्डेका अनुसार यही महिनाबाट प्रक्रिया सुरु गर्दा पनि पुष महिनामा मात्रै सेयर निष्काशन गर्न सकिनेछ । आयोजनाले यसअघि २०७१ सालमै शेयर निष्कासनको तयारी गरे पनि विनाशकारी भुकम्पका शेयर निस्कासन प्रक्रिया अबरोद्ध भएको थियो ।

आयोजनाबाट अतिप्रभावित, प्रभावित र अन्य गरी जिल्लाबासीलाई तीन वर्गमा विभाजन गरी सोही अनुपातमा सेयर वितरण गर्ने समेत निर्णय भएको छ । आयोजनाको मुख्य संरचना भएको र पानीको स्रोत भएको साविकको लामाबगर र गौरीशंकर गाविसलाई ‘क’ वर्ग, प्रवेशमार्ग र प्रशारण लाइनले छोएका गाविसलाई ‘ख’ वर्ग र बाँकी गाविसलाई ‘ग’ वर्गमा विभाजन गरिएको छ । स्थानीय संयन्त्रलये आयोजनाको प्रवक्ता डा. गणेश न्यौपानेको संयोजकत्वमा बनेको सेयरको मोडालिटीको बारेमा बनेको सुझाव उप समितिको सुझवलाई समेत आधार
बनाएर समन्वय समितिले निर्णय गरेको हो ।
२०७१ सालमा जिल्ला विकास समितिले गरेको सर्वेक्षण अनुसार दोलखाको कुल जनसंख्या २ लाख ८२ हजार १ सय २५ छ । जसमा अति प्रभावित ‘क’ वर्गमा ४ हजार ४ सय ३२, प्रभावित ‘ख’ वर्गमा ८१ हजार ९ सय ९९ र जिल्लाको वाँकी क्षेत्रको जनसंख्या १ लाख ९५ हजार ६ सय ९४ रहेको छ । सेयर दामासायी वितरण गर्दा पनि जनसंख्या अनुसार अतिप्रभावित क्षेत्रका सर्वसाधरणले प्रतिव्यक्ति ९५ कित्ता, प्रभावित क्षेत्रकाले ४६ कित्ता र जिल्लाका वाँकी क्षेत्रका सर्वसाधरणले ३३ कित्ता सेयर पाउने अनुमान गरिएको छ । ४ सय ५६ मेगावाट क्षमताको तामाकोसि आयोजनाले जिल्लावासिका लागि छुट्याएको दश प्रतिशत अर्थात १ अर्व ५ करोड ९० लाख रुपैयाँ बराबरको सेयर बाँडफाँड गर्नु पर्ने हुन्छ । यता आयोजनाले असार मसान्तसम्म ९५ प्रतिशत काम सम्पन्न गरिसक्नुपर्ने लक्ष्य राखेपनि साउन मसान्तसम्म आइपुग्दा ९१ प्रतिशत पनि काम सम्पन्न गर्न सकेको छैन ।
आयोजनाको वातावरणीय प्रभाव प्रतिवेदनमा अतिप्रभावितको सूचीमा साविकको लामाबगर र गौरीशंकर गाविस पर्दछ । त्यस्तै प्रभावित ‘ख’ वर्गमा ओराङ, खारे, बुलुङ, लादुक, लामिडाँडा, सुनखानी, सुन्द्रावती, हालको भीमेश्वर नगरपालिका वडा नं. १, २ र ३, नाम्दू, गैरीमुदी, भीरकोट, जफे, मालू र सहरे गाविस पर्दछ । दोलखाका बाँकी क्षेत्रलाई ‘ग’ वर्गमा राखिएको छ ।
डलरको मुल्यमा उतारचढाव आउनु लक्ष्य अनुसार निर्माण कार्य अगाडी नबड्नु र आयोजनाको समयसिमा लम्बिदै जानुका कारण ३५ अरब २९ करोडमा सम्पन्न गर्ने अनुमान गरिएको आयोजनाको लागत बढेर ४१ अर्ब ७२ करोड पुग्ने अनुमान गरिएले शेयर अनुपात बढने अनुमान गरिएको छ । विदेशी विनिमय दरमा भएको वृद्धि बजारमुल्य, भुकम्पले क्षति पु¥याँउदाको २ वर्ष ढिलाई लगायतका कारण आयोजनाको लागत करिव ७ अर्ब ४३ करोड बढ्ने अनुमान गरिएको छ । ३५ अर्व २९ करोड लागत अनुमान गरिँदा डलरको भाउ करिव ८० रुपैयाँको प्रक्षेपण गरिएको थियो तर अहिले डलरको भाउ ११० पुगेको छ । नेपाली काँग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्काले विभिन्न कारणले रोकिएको सेयर वितरणको अब गाँठो फुकेको प्रतिक्रिया दिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।