दोलखा विद्युतमा सुनार गए अधिकारी आए

 आवाज संवाददाता     ७ भाद्र २०७४, बुधबार

दोलखा, ७ भदौ
नेपाल विद्युत प्राधिकरणले देशभरका वितरण केन्द्रका अधिकांश प्रमुख सरुवा गरेको छ । प्राधिकरणले केन्द्र प्रमुख र अन्य गरी १ सय ५ कर्मचारीको सरुवा गरेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ दक्ष व्यक्तिलाई उचित ठाउँमा अवसर दिने बताउँदै आएका थिए । सोही आधारमा कर्मचारीको सरुवा गरिएको जनाइएको छ ।
देशभरका वितरण केन्द्र, ग्रीण विकास विभाग, योजना तथा प्राविधिक सेवा विभागका कर्मचारीको सरुवा भएको छ । दोलखा वितरण केन्द्रका प्रमुख सेरबहादुर सुनारलाई सामुदायिक तथा ग्राीमण विद्युतीकरण विभाग सरुवा गरेको छ । त्यस्तै गोरखा वितरण केन्द्रका प्रमुख अमृतबाबु अधिकारी दोलखा प्रमुखको रुपमा आएका छन् । दोलखाबाट सरुवा भएका सुनार जनसम्पर्कमा आउन नचाहने र वितरण प्रणाली समेत व्यवस्थित बनाउन नसकेका प्रमुख हुन् ।
उपभोक्ताको सम्पर्कमा रहनु पर्ने कार्यालय भए तापनि उनी हत्तपत्त फोन सम्पर्कमा समेत नआउने हुन् । कार्यालयमा समेत हत्तपत्त उनलाई नभेटिने गरेको उपभोक्ताहरुको गुनासो छ । पछिल्लो समय विद्युत अनियमित हुँदा उपभोक्ताहरु हैरानीमा छन् ।

प्राधिकरणका अनुसार पहुँचका आधारमा नभइ यो नियमित सरुवा प्रक्रिया हो । तर, ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीले काम नगर्ने कर्मचारीलाई दुर्गम ठाउँमा सरुवा गर्ने बताउँदै आएका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।