विद्युत नियमित गर्नभन्दै उपभोक्ता आन्दोलित

 आवाज संवाददाता     ९ भाद्र २०७४, शुक्रबार

दोलखा, ९ भदौ
लोडसेडिङ् मुक्त भनिएको दोलखा जिल्लामा विजुली माग्दै व्यवसायी र उपभोक्ताहरु प्रशासन धाउने र सडकमा उत्रिन थालेका छन् । विद्युत आपुर्तिमा पटक–पटक समस्या भएपछि उद्यमी व्यवसायीहरु र उपभोक्ताहरु आन्दोलित भएका हुन् ।
जिल्लामा नियमित विद्युत आपूर्ति नहुँदा उद्योग, कलकारखाना, व्यापार, व्यवसाय र नियमित काम कारवाही प्रभावित भएको भन्दै व्यवसायी तथा सेवाग्राहीहरुले आन्दोलन सुरु गरेका हुन् । नियमित विद्युत आपूर्ति नभएको विरोधमा दोलखाको सिंगटीका व्यवसायीहरुले शुक्रबार सिंगटी बजार वन्द गराएका छन् । जिल्ला सदरमुकाम चरिकोट सहित ग्रामिण क्षेत्रमा समेत केही दिन यता विद्युत आपूर्ति नहुँदा सेवाग्राही आक्रोशित बनेका छन् । सोही आक्रोश स्वरुप आज सिंगटी बजार बन्द भएको हो ।
जिल्लामा नियमित बिद्युत आपूर्ति नहुँदा व्यापार व्यवसाय प्रभवित भएको भन्दै सिंगटी उद्योग वाणिज्य सँघको अगुवाईमा व्यवसायीहरुले आज सिंगटी बजार वन्द गराएका हुन् । वन्दका कारण सिंगटीमा यातायात र बजार ठप्प भएको छ । नियमित विद्युत आपूर्तिका लागि पटक–पटक विद्युत प्राधिकरणको ध्यानाकर्षण गराए पनि समस्या समाधानका लागि कुनै पहल नभएपछि दवाव स्वरुप सिंगटी बजार वन्द गराईएको सिंगटी उद्योग वाणिज्य सँघका अध्यक्ष सुन्दर श्रेष्ठले बताए ।
जिल्लाको उत्तरी क्षेत्रमै धेरै जलविद्युत आयोजना रहेको र लोडसेडिङ् मुक्त जिल्ला भनिए पनि बिद्युत आपूर्ति नहुँदा लोडसेडिङ् भन्दा पनि चर्को मार खेप्नु परेको उनले गुनासो गरे । माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने सिँगटीका व्यवसायी महेश श्रेष्ठले बताए ।
विहीबार मात्रै दोलखा उद्योग वाणिज्य संघको पहलमा नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रमा ध्यानाकार्षण पत्र बुझाउँदै जिल्ला प्रशासन कार्यालयमा समेत ज्ञापन पत्र बुझाएको थियो । संघका अध्यक्ष सुन्दर कार्कीले लामो समयदेखि विद्युत अनियमित हुँदा उद्योग व्यवसाय सञ्चालनमा समस्या परेको बताए । ‘विद्युत जाने आउने टुङ्को नै छैन’ उनले भने ‘विद्युत आउने जाने गर्दा आम उपभोक्ताका कम्प्युटर, टेलिभिजन, मोबाइल जस्ता इलेक्ट्रिक वस्तुमा क्षति पुगेको छ ।’

नेपाल बिद्यूत प्राधिकरण दोलखा बितरण केन्द्रका इन्जिनियर उमेश श्रेष्ठले क्षमताभन्दा लामो प्रसारण लाईन नै विद्युत आपूर्तीको मुख्य समस्या भएको बताए । नेपाल विद्युत प्राधिकरण दोलखा शाखाको अनुसार दिउँसोको समयमा विद्युत् प्रशारणमा अनौठो समस्या देखिएको बताएको छ । विद्युत् प्राधिकरण दोलखाको इन्जिनियर श्रेष्ठका अनुसार घाम लागेर तापक्रम बढेसँगै मकैबारी सवस्टेशनमा स्वचालित ट्रिप हुन्छ र विद्युत् अवरुद्ध हुन्छ ।
ठूलै जनशक्ति र खर्च गर्दा पनि समस्या हालसम्म पनि पहिचान हुन नसकेको उनले बताए उँछन् । तर साँझको समय र चिसो मौषम हुने विक्तिकै समस्या आफै समाधान भएर विद्युत नियमित भईरहेकोले जिल्लामा अनौठो समस्या देखिएको इन्जिनियर श्रेष्ठ स्वीकार गर्छन ।
हावाहुरी र सडक निर्माणको क्रममा बिद्युतीय पोल तथा तारमा क्षेति पुग्ने गरेका कारण नियमित बिद्युत आपूर्ति हुन नसकेको जानकारी दिए । पछिल्लो समय मकैवारी सव स्टेशनवाट चरिकोट हुँदै दोलखा बजारसम्म निर्माण भईरहेको ११ केभी प्रसारण लाईनको तार हाल भईरहेको प्रसारण लाईन माथि पर्न गएको र घाम चर्किएर तापक्रम बृद्धि हुँदा दुई वटा पोलमा टाँगिएको तार एक अर्का माथि खप्टिएको र दुरी कम हुन गई बिद्यूत भार बढि भएर सर्ट हुने गरेका कारण समस्या भएको उहाँले बताए ।
प्राधिकरणले पछिल्लो समस्या हिजो साँझ मात्रै पत्ता लगाएको र समस्या समाधान भईसकेको श्रेष्ठको भनाई छ । एसियाली विकास बैंकको सहयोगमा मकैवारी देखि दोलखा बजार सम्म नयाँ पोल गाडेर एबिसि केवल राखेर ११ केभी फिडर बिस्तारको काम भईरहेको छ । कतिपय स्थानमा बिद्यूत सर्ट डाउन नगरी तार तान्न तथा केवल राख्न नसकिने भएका कारण पनि बिद्यूत आपूर्ति बन्द हुने गरेको प्राविधिकहरुले बताए ।
सामान्यतया ३३ केभी प्रसारण लाईनको लम्वाई ६० किलो मिटर र ११ केभी फिडर लाईनको लम्बाई २० किलो मिटर हुनु पर्ने इन्जिनियर श्रेष्ठले बताए । दोलखामा दुवै प्रसारण लाईनको लम्वाई धेरै बढी छ । प्राधिकरण दोलखा बितरण केन्द्रका अनुसार सिन्धुपाल्चोकको सुनकोसी सव स्टेशन देखि दोलखा सम्मको ३३ केभी प्रसारण लाईन करिव १ सय ३० किलो मिटर र ११ केभी फिडर लाईन २ हजार किलो मिटर छ । प्रसारण लाईन क्षमता भन्दा लामो दुरीको भएका कारण सामान्य हावाहुरीमा पनि बिद्यूत आपूर्ति बन्द हुने गरेको छ । प्राधिकरणले सिँगटीमा निर्माण गरिरहेको ३३ केभी प्रसारण लाईनको सव स्टेशन सँचालनमा आउन ढिलाई भएका कारण बिद्यूत आपूर्तिमा ढिलाई भएको जनाएको छ ।
बिद्युत आपूर्ति प्रभावकारी बनाउन नसकेकोमा आलोचित प्राधिकरण दोलखा वितरण केन्द्रका प्रमुख शेरबहादुर सुनारको सरुवा भए पनि नयाँ प्रमुख अमृतबाबु अधिकारी दोलखा आइपुगेका छैनन् । सेवाग्राहीसँग सम्पर्कमा आउन नचाहने र कार्यालयमा समेत विहान बेलुका मात्र काम गरेर सम्पर्क विहीन हुने सुनार सामुदायिक तथा ग्रामीण विद्युतीकरण विभाग जस्तो महत्वपूर्ण ठाउँमा सरुवा हुँदा पुरस्कृत गरे जस्तो देखिएको प्राधिकरणका कर्मचारीहरु नै बताउँछन् ।

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।