लाठी प्रहार गरी ८३ वर्षीय पतिको हत्या

 आवाज संवाददाता     ९ भाद्र २०७४, शुक्रबार

दोलखा, भदौ ९ । बुढेसकालमा पतिपत्नी एकार्काका सहारा मानिन्छन् । तर दोलखाको एक गाउँमा पत्नीको हातबाट ८३ वर्षीय पतिको हत्या भएको छ ।
आफ्नी पत्नीको लाठी प्रहारबाट ८३ वर्षीय पतिको मृत्यु भएको छ । पत्नीको पिटाइबाट मेलुङ गाउँपालिका ४ का कर्णबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ ।
प्रहरीका अनुसार साविक भेड्पु गाविस ७ का कर्णबहादुरलाई उनकी पत्नी ६० वर्षकी सन्जी तामाङले लाठी प्रहार गर्दा उनको मृत्यु भएको हो । प्रहरीले दिएको जानकारी अनुसार हिजो बेलुका अत्यधिक मदिरा सेवन गरी घर पुगेका कर्णबहादुरले बुहारी विपना थोकरसँग फेरि मदिरा मागेका थिए । बुहारी विपनाले उनलाई मदिरा नदिएपछि कर्ण बहादुरले बुहारीलाई उल्टै पिट्न लागे । बुहारी पिट्न लागेका कर्णबहादुरलाई सन्जीले लाठीले हिर्काउँदा चोटपटक लागेर उनको ज्यान गयो ।
घटनापछि प्रहरीले अभियुक्त सन्जी तामाङलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF