आफ्नै पत्नीलाई वेश्यालयमा बेच्ने युवक प्रहरी फन्दामा

 आवाज संवाददाता     १० भाद्र २०७४, शनिबार

दोलखा, भदौ १० । आफ्नै पत्नीलाई वेश्यालयमा लगेर बेच्ने नुवाकोटका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
नुवाकोट जिल्ला खरानीटार ५ का निरकुमार नेपालीलाई मानव बेचबिखन तथा ओसारपसारको आरोपमा प्रहरीले पक्राउ गरेको हो । साविक दोलखा नाम्दु गाविसकी एक युवतीलाई बेचविबखन गरेको आरोपमा पक्राउ परेका युवकले आफ्नी जेठी पत्नीलाई पनि वेश्यालयमा बेचेको खुलेको हो ।
आरोपी निरकुमारले नाम्दुकी १७ वर्षीया युवतीलाई २०७२ साल साउन ३ गते बिहे गरी ‘राम्रोसँग काठमाडौँमा राख्छु र हाम्रो भविष्य राम्रो हुन्छ’ भनी ललाइफकाई लगेका थिए । तर ती युवतीलाई नातामा दिदी पर्ने सीता नेपालीको सहयोगमा बिहे गरी काठमाडौँ लगेका उनले अन्य दुई जनाको सहयोगमा माइक्रोबसमा चढाई नेपालगंजसम्म पु¥याए । नेपालगंजको रुपैडिया नाका हुँदै दिल्लीस्थित मजनुकातिला पु¥याई भारतीय रुपैयाँ एक लाख ३५ हजारमा बिक्री गरेका थिए ।
बेचिएकी ती युवतीले एक भारतीय युवकलाई प्रेममा पारी उनको सहयोगमा कोठीबाट बाहिरिएर प्रहरीकोमा पुगेकी थिइन् । राजदूतावासमार्फत नेपाल फर्किएपछि आफू बेचिएको घटनाको बारेमा उजुरी गरेपछि घटनामा संलग्न सीता नेपालीलाई पक्राउ गरी पुपक्षका लागि थुनामा राखिएको छ ।
घटनाका मुख्य अभियुक्त निरकुमार नेपाली फरार रहेकोमा उनलाई यही भदौ ९ गते पक्राउ गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
अनुसन्धानको क्रममा उनले आफ्नी जेठी पत्नीलाई पनि भारतको वेश्यालयमा बेचेको कुरा खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए । पक्राउ परेका उनले आफ्नै पत्नीलाई वेश्यालयमा बेचेको स्वीकार गरेको उनले बताए ।
मानव बेचबिखन तथा ओसारपसारको आरोपमा पक्राउ परेका निरकुमारलाई थुनामा राखी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF