दोलखामा थप ७ हजार ८ सय मतदाता

 आवाज संवाददाता     ११ भाद्र २०७४, आईतवार

दोलखा, ११ भदौ
दोलखामा ७ हजार ८ सय ४६ मतदाता थपिएका छन् । निर्वाचन आयोगले मतदाता नामावली संकलनका लागि साउन महिनामा अभियान सञ्चालनपछि यि मतदाता थपिएका हुन् । योसँगै दोलखामा मतदाताको संख्या १ लाख ४४ हजार ८ सय २५ पुगेको छ ।
यसअघि जिल्लाका कुल मतदाताको संख्या १ लाख ३६ हजार ९ सय ७९ रहेको थियो । साउन १ गतेदेखि भदौ ३ गतेसम्म भएको मतदाता नामावली संकलनबाट जिल्लामा ३ हजार २ सय ५६ महिला र ४ हजार ५ सय ९० पुरुष गरी ७ हजार ८ सय ४६ मतदाता थपिएका हुन् । जसमध्ये जिल्ला निर्वाचन कार्यालयबाट मात्रै ३ हजार ३ सय ९३ र ८ स्थानीय तहबाट ४ हजार ४ सय ५३ मतदाता थप भएका हुन् ।
यसअघि साउन १ देखि १५ गतेसम्म जिल्ला निर्वाचन कार्यालयबाट मात्रै मतदाता नामावली संकलन भएकोमा १६ देखि भदौ ३ गतेसम्म भने जिल्लाका सबै स्थानीय तहबाट नामावली सँकलन भएको थियोे । जिल्लाका ९ स्थानीय तहमध्ये भिमेश्वर नगरपालिकाको जिल्ला निर्वाचन कार्यालयबाटै र अन्यको सम्बन्धित स्थानीय तहको कार्यालयबाट नामावली संकलन भएको थियो । निर्वाचन कार्यालयबाट १५ गतेसम्मको अवधीमा ९ सय ९२ पुरुष र ५ सय ७६ महिला गरी १५ सय ६८ र दोस्रो चरणमा १६ देखि ३ गतेसम्मको अवधीमा ८ सय १५ महिला र १ हजार १० पुरुष गरी १८ सय २५ जनाको नाम थपिएको छ । जिल्लामा थप भएका मध्य १ सय ९ जना बाह्य जिल्लाका रहेको निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिकारी अच्यत उप्रेतीले जानकारी दिए ।
स्थानीय तहतर्फ भने सबैभन्दा बढि बैत्यश्वर गाउँपालिकामा ७ सय ७९ जनाले फोटो सहितको मतदाता नामावलीम नाम दर्ता गराएका छन् । जसमा ३ सय ४० महिला र ४ सय ३९ पुरुष रहेका छन् । यसैगरी शैलुङ गाउँपालिकामा ३ सय ३० महिला र ४ सय पुरुष गरी ७ सय ३० तथा जिरी नगरपालिकामा ३ सय १९ महिला र ३ सय ८२ पुरुष गरी ७ सय १ मतदाता थपिएका छन् । कालिञ्चोकमा २ सय २८ महिला र ३ सय ८८ पुरुष गरि ६ सय १६, गौरीशंकरमा २ सय ५५ महिला र ३ सय १९ पुरुष गरी ५ सय ७४, मेलङमा १ सय ६२ महिला र २ सय २३ पुरुष गरी ३ सय ८५ र विगु गाउँपालिकामा १ सय ३३ महिला र २ सय ४३ पुरुष गरी ३ सय ७६ जनाले नाम दर्ता गराएका छन् । तामाकोशी गाउँपालिकामा भने सबैभन्दा कम २ सय ९२ जनाको मात्रै फोटो सहितको मतदाता नामावलीमा नाम थप भएको छ । नाम दर्ता गराउनेमा ९८ महिला र १ सय ९४ पुरुष रहेका छन् ।
पछिल्लो नामावली संकलन तथा अध्यावधिक कार्यक्रम अन्र्तगत ३८ जनाको त्रुटी सच्याईएको छ भने ठेगना सार्ने २ सय ७१ रहेका छन् । जसमध्ये जिल्लाभित्र ठेगना सार्ने २ सय ३८ र बाह्य जिल्लामा लाने ३३ जना रहेको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ । अहिले मतदाता नामावलीमा नाम दर्ता गराएकाहरुले आउँदो प्रदेश र संघीय निर्वाचनमा मतदान गर्न पाउँने छन् ।
गत बैशाख ३१ मा भएको स्थानीय तह निर्वाचनमा कतिपय नेताहरु मतदाता नामावलीमा नाम नभएकै कारण उम्मेद्वार बन्न र मतदान गर्नबाट समेत वञ्चित भएका थिए । भर्खरै स्थानीय तह निर्वाचन सम्पन्न भएको र निकट भविष्यमै प्रदेश सभा र संघीय निर्वाचन हुने भएकाले पनि यसपाली राजनैतिक पार्टी र नेताहरुले छुटेकाहरुलाई मतदाता परिचय पत्र बनाउनका लागि लागि परेका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।