लिंबागाउँमा खानेपानी धारा बनेपछि ५ सय जना लाभान्वित

 आवाज संवाददाता     १५ भाद्र २०७४, बिहीबार

दोलखा, १५ भदौ

जंगलको बीचमा रहेको मुहानबाट गाउँमा पाइपमार्फत पानी ल्याएपछि विगू गाउँपालिका वडा नं. ४ लिंबागाउँका ९४ घरका ४ सय ९१ जना लाभान्वित भएका छन् । वर्षौंदेखि प्रयोग गर्दै आएको खानेपानी मुहान र धारा २ वर्ष अघिको भुकम्पले क्षतविक्षत भएपछि यहाँका नागरिकहरु पानीका लागि घण्टौं धाउन बाध्य थिए ।
लिंबामा अहिले २ वटा खानेपानी योजनामार्फत २१ वटा सामुदायिक धारा तयार भएका छन् । नागपोल खानेपानी आयोजना मार्फत १० वटा र नागपोल सिम खानेपानी आयोजनामार्फत ११ वटा धारा तयार भएका हुन् । लिंबा गाउँमा अधिकाशंक तमाङ जातीहरुको मात्र बसोबार रहेको छ ।
सेवक नेपाल र सामुदायिक विकास मन्चको पहलमा सफा पानी कार्यक्रम मार्फत ति धारा बनेपछि आफूहरुलाई ठूलो राह भएको स्थानीय सुर्गा तमाङले बताए । योजना गत फागुन देखि सञ्चालन सुरु भएर अघिल्लो हप्ता मात्र पूरा भएको छ । हरेक सार्वसानिक धारामा ३ घर देखि ५ घरले प्रयोग गर्न सकिने गरी तयार भएको नागपोल खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र खड्काले जानकारी दिए ।
हरेक धारा बालमैत्री हुने गरी तयार गरिएको छ । साना बच्चालाई धारा खोल्न र पानीको प्रयोगमा समस्या हुने भएकाले बालबालिकाका लागि छुट्टै धारा र ठूलाहरुका लागि ठूलो धारो हुने गरी तयार गरिएको उनले बताए ।
दुवै खानेपानी योजनाका लागि १८ लाखभन्दा बढी खर्च भएको छ । पानीका धारा र पाइपलाइन नियमित मर्मत संभारका लागि समेत मर्मत संभार कोषमा सेवकले सहयोग गरेको सेवक नेपालका जिल्ला प्रबन्धक प्रह्लाद तिमल्सिनाले बताए । खानेपानीका धारा पूरा भए तापनि आगामी दिनमा उपभोक्ता र समूहको सशक्तिकरणका लागि कार्यक्रम सञ्चालन गरिने उनले बताए ।

विगू गाउँपालिकाका अध्यक्ष युधिष्टिर खड्काले गाउँपालिकाले आगामी दिनमा एक घर एक धाराको नीति लिएकाले साझेदार संस्थाहरुले पनि सोही अनुसार कार्यक्रम बनाउन निर्देशन दिए । योजनाको गाउँपालिका अध्यक्ष सहित जिल्ला समन्वय समिति र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका तर्फबाट अनुगमण भएको छ ।
सफा पानी कार्यक्रमका फिल्ड संयोजक सरद सापकोटाले दोलखाका साविकका १४ वटा गाविसमा खानेपानी योजनाको काम भइरहेको जानकारी दिए । खानेपानी योजनाले सरसफाइमा समेत ठूलो सहयोग पुग्ने उनले बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।