नाम मात्रका पत्रकारको सदस्यता चट

 आवाज संवाददाता     १६ भाद्र २०७४, शुक्रबार

दोलखा, १६ भदौ
नेपाल पत्रकार महासँघका नवनिर्वाचित केन्द्रीय महासचिव रमेश विष्टले नाम मात्रको पत्रकारको सदस्यता चट हुने बताए । पत्रकारिता क्षेत्रमा सक्रिय नरहेका निश्क्रिय पत्रकारहरुको सदस्यता खारेज गर्ने उनले महासंघको योजना रहेको उनले खुलासा गरे ।
पत्रकारिता क्षेत्र र पत्रकार महासँघको सदस्यतालाई सुद्धिकरण गर्ने भन्दै उनले पेशमा नभएका पत्रकारहरुलाई विदा गर्ने बताए । पत्रकार महासँघ दोलखा शाखाले शुक्रबार आयोजना गरेको देवदास स्मृति सभामा बोल्दै महासचिव विष्टले महासंघको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले सदस्यता सुद्धिकरण गर्ने निर्णय गरेको भन्दै कार्यान्वयनको सुरुवात गर्न पत्रकार महासँघ दोलखा शाखालाई आग्रह गरे ।
पत्रकारितामा क्रियाशिल रहेका पत्रकारहरुको मात्रै सदस्यता नवीकरण गर्दा करिव ३० प्रतिशत गैर पत्रकारको सदस्यता खारेज हुने उनको भनाई छ । उनले पत्रकार महासंघलाई संघीय संरचनाको स्वरुपमा ढाल्ने र महासंघका सबै सदस्यले केन्द्रीय नेतृत्व चुन्न पाउने गरी विद्यान संशोधन गरेर अघि बढ्ने वर्तमान कार्यसमितिको योजना रहेको जानकारी दिए ।

 

देवदास पत्रकारिता पुरस्कार पोखरेललाई

यो वर्षको देबदास पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघ दोलखा शाखाका पुर्व अध्यक्ष उद्धव प्रसाद पोखरेल पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ दोलखा शाखाले शुक्रबार एक कार्यक्रमको आयोजना गरी पूर्व अध्यक्ष पोखरेललाई देवदास पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेकोे हो । पोखरेललार्ई महासंघका केन्द्रीय महासचिव रमेश विष्टले नगद १० हजार र प्रमाणपत्र हस्तान्तरण गरे । महासंघ दोलखाका संस्थापक अध्यक्ष स्वर्गीय देवदास श्रेष्ठको स्मृतिमा स्थापना गरिएको सो पुरस्कार प्रत्येक वर्ष दोलखाका एक जना क्रियाशिल पत्रकारलाई दिने गरिएको छ ।

देवदास पत्रकारिताबाट पुरस्कृत पोखरेलले आँफुले पाएको पुरस्कारबाट ५ हजार ५ सय रुपैयाँ महासँघको भवन निर्माणका लागि हस्तान्तरण गरेका छन् । सोही कार्यक्रममा दोलखा घर भई जनजाति कोटाबाट पत्रकार महासँघको केन्द्रीय सदस्यमा निर्वाचित टेक राज थामीलाई सम्मान पनि गरिएको छ ।

पत्रकार महासँघ दोलखा शाखाका अध्यक्ष जीवन लामाको अध्यक्षता भएको देवदास स्मृति सभामा सामुदायिक रेडीयो प्रशारक सँघ (अको¥याब)का केन्द्रीय कोषाध्यक्ष लक्ष्मण खड्का, पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य चिरिञ्जवि मास्के, महासंघ दोलखाका पुर्व अध्यक्ष राजेन्द्र मानन्धर, प्रेस युनियन बाग्मती विशेष क्षेत्रका संयोजक रमेश खतिवडा, प्रेश सोसाईटिका केन्द्रीय सदस्य दिल बहादुर केसी, प्रेस युनियन दोलखाका अध्यक्ष दिपशंकर चौँलागाइँ, प्रेस सेन्टरका कार्यवाहक जिल्ला अध्यक्ष शिव कुमार भुजेल, क्रियाशिल महिला पत्रकार समुह दोलखाकी अध्यक्ष निता राउत लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।