दोलखामा माओवादी केन्द्रद्वारा छायाँ सरकार घोषणा

 आवाज संवाददाता     १८ भाद्र २०७४, आईतवार

दोलखा, १८ भदौ
वर्तमान प्रमुख सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले दोलखामा छायाँ सरकारको घोषणा गरेको छ । आइतबार चरिकोटमा आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्र दोलखाकी इन्चार्ज देवी खड्काले छायाँ सरकारको रुपमा ‘जनपरिषद’को घोषणा गरिन् ।
स्थानीय तह निर्वाचनमा दोलखाका दुई स्थानीय तहको उपाध्यक्ष र ११ वडा अध्यक्षमा बिजयी भएको माओवादीले जिल्लाका सवै स्थानीय तहमा छायाँ सरकार गठन गर्ने घोषणा गरेको हो । जिल्ला जनपरिषदको संयोजक पार्टी नेता कुलवहादुर बुढाथोकीलाई बनाइएको छ भने नगरपालिका, गाउँपालिका र वडा तहसम्म माओवादीले जनपरिषद बनाउने भएको छ । जनपरिषदमा माओवादीवाट स्थानीय तहमा बिजयी तथा पराजित भएका उम्मेदवारहरु सदस्य रहने व्यवस्था गरिएको छ । अन्य पार्टीवाट स्थानीय तहमा उम्मेदवार बनेकाहरुलाई समेत परिषदमा समेट्ने माओवादीको योजना छ ।
जनसेवा तथा सामाजिक काम गर्नुका साथै स्थानीय तहका सरकार, गैर सरकारी संस्था तथा विकास योजनामा हुन सक्ने अनियमिततालाई नियन्त्रण गर्न तथा आफ्नो जनमतको संरक्षण गर्न जनपरिषद गठन गरिएको इन्चार्ज खड्काले बताइन् । जनपरिषद छायाँ सरकार भए पनि समानान्तर सत्ता वा युद्धकालीन जनसरकार जस्तो नभएको उनले स्पस्ट पारिन् ।

एक महिने संगठन सुदृढीकरण अभियान
संघीय र प्रदेश सभा निर्वाचन नजिकिँदै गएको बेला नेकपा माओवादी केन्द्र दोलखाले एक महिने संगठन सुदृढीकरण अभियान सुरु गरेको छ । माओवादी केन्द्र दोलखाले पार्टीको जिल्ला स्तरीय बिस्तारित बैठकवाट औपचारिक निर्णय गरेर एक महिने संगठनात्मक अभियान सुरु गरेको जिल्ला इन्चार्ज खड्काले जानकारी दिइन् ।
शनिबार बसेको बिस्तारित बैठकका निर्णयलाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दै माओवादी जिल्ला इन्चार्ज देवी खड्काले संगठन निर्माण र बुर्जुवा समाजवाद कायम गर्न खोज्ने पूँजीवाद धारालाई जनस्तरबाट बैचारिक ढंगले भण्डाफोर गर्न अभियान संचालन गरेको जानकारी दिइन् ।
आगामी असोज २१ गते सम्म जारी रहने सँगठन सुदृढीकरण अभियान अन्तर्गत माओवादीले सेल कमिटीदेखि वडातहसम्मको पार्टी संरचनालाई नयाँ ढंगले निर्माण गर्ने योजना रहेको माओवादी दोलखाले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ । सो अनुसार नगर र गाउँपालिकाका प्रत्येक वडामा ३ देखि ११ जनासम्म सदस्य रहेको कम्तीमा ५ वटा सेल कमिटी गठन हुने व्यवस्था छ । नयाँ सांगठानिक संरचना अनुसार माओवादीको वडा कमिटी १५, गाउँपालिकाको ३५, नगरपालिकाको ५३ र जिल्ला कमिटी १ सय ५१ सदस्य हुने बताइएको छ । असोज २१ गते जिल्लाका ७४ वटै वडामा सम्मेलन गर्ने माओवादीको योजना छ । सेल कमिटीको संख्याको आधारमा मात्रै माथिल्लो कमिटीमा प्रतिनिधि पर्यवेक्षक बन्न पाउने व्यवस्था गरिएको छ ।
माओवादीले सञ्चालन गरेको एक महिने अभियानलाई ‘रितवहादुर–कृपास्वर स्मृति संगठन सुदृढीकरण अभियान–२०७४’ को नाम दिइएको छ । अभियानको मुल नारा ‘कमरेड रितवहादुर–कृपास्वरको महानता, हामी सबै संगठन सुदृढीकरणको अभियन्ता’ रहेको छ ।
पत्रकार सम्मेलनमा माओवादी जिल्ला इन्चार्ज देवी खड्काले रितवहादुर र कृपाश्वरको संगठन बिस्तारको रफ्तारलाई समाउने गरी अभियान सुरु गरिएको र ‘सुख र दुःख दुवै राम्रो सबैको साथी माओवादी हाम्रो’ भन्ने नारा सहित जनसम्वन्धलाई सुदृढ गर्ने कार्यक्रम रहेको जानकारी दिइन् । अभियान अन्तर्गत पार्टी केन्द्रीय स्तरमा चलेको पार्टी एकता र ध्रुवीकरणको अभियानलाई जिल्ला स्तरमा पनि व्यापक ढंगले अघि बढाउने माओवादीले जनाएको छ ।

वाईसीएललाई लडाकु बनाइने
संविधान सभाको पहिलो निर्वाचनपछि कमजोर भूमिकामा रहेको माओवादीको भातृ संगठन वाईसीएललाई दोलखा पार्टीले सशक्त भूमिकामा ल्याउने भएको छ । विस्तारित बैठकले वाईसीएललाई ‘लडाकु चरित्र’ बनाउने निर्णय गरेको छ । माओवादी दोलखाद्वारा जारी विज्ञप्तिमा वाईसीएल दोलखाले सामाजिक विकृति, विसंगति, अनियमितता र भ्रष्टाचारी विरुद्ध अभियान चलाउने उल्लेख गरिएको छ । माओवादीले गठन गरेको जनपरिषदका काम कारवाहीलाई सहयोग गर्न वाईसीएलले सहयोग गर्ने रणनीति लिइएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।