एकै परिवारका तीन नेताको संयुक्त बङ्गुर फर्म

 आवाज संवाददाता     १९ भाद्र २०७४, सोमबार

दोलखा, १९ भदौ

राजनीतिसँगै दोलखाका एकै परिवारका ३ नेताले संयुक्त बंगुर फाराम सञ्चालन गरेका छन् । डेढ करोडको लगानीका ति नेताले बंगुर फाराम सुरु गरेका हुन् । उनीहरुका लागि हिमाली आयोजनाको अनुदान सहयोग गरेको छ ।

गाई, बाख्रा, बङ्गुर तथा चौरी लगायतका पशुपालन र किवी एवम् अलैचीमा हिमाली आयोजनाले विगत ५ वर्षमा उल्लेख्य सहयोग गरेको छ । त्यस्तै दोलखाकै सबै भन्दा ठूलो डाफन नमूना ब्यवसायिक बङ्गुर फर्म सदरमुकाम चरिकोटबाट ६ किमी टाढा डाफनडाँडा साखिनेमा रहेको छ । हिमाली आयोजनाको सहयोग तथा डाफन नेपाल प्रा.ली.को लगानीमा स्थापित बङ्गुर फर्मका सबै सञ्चालकहरू राजनीतिक क्षेत्रमा कृयाशील ब्यक्तित्वहरू छन् ।

डाफन नेपालका अध्यक्ष नेकपा (माले) का पोलिटब्यूरो सदस्य रेशम राजश्वराज रिमाल हुन् । कम्पनीका अर्का सञ्चालक एवम् बजार ब्यवस्थापक बद्रीकुमार चौलागाई सोही पार्टीका केन्द्रीय सदस्य तथा दोलखा संयोजक हुन् । पेशाले शिक्षिका समेत रहेकी उक्त कम्पनीकी प्रबन्ध सञ्चालक मेनुका उप्रेती नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट शिक्षक सङ्गठन दोलखाकी अध्यक्ष हुन् । नातामा चौलागाई र उप्रेती श्रीमान्–श्रीमती हुन् भने रिमाल भाञ्जा हुन् ।

कम्पनीकै स्वामित्वमा रहेको करिब ५ रोपनी जमिनमा फैलिएको यो फर्मले उत्पादन दिन थालेको करिब दुई महिना भयो । यो फर्ममा हाल विभिन्न जातीका ६२ वटा बङ्गुर रहेका छन् । फर्मको मुख्य उद्देश्य उन्नत जातका बङ्गुरको पाठापाठी उत्पादन गरेर किसान तथा अन्य ब्यवसायिक फर्महरूलाई बिक्री वितरण गर्ने रहेको भएता पनि यसले मासु उत्पादन र प्रशोधनको समेत लक्ष्य लिएको कम्पनीकी प्रबन्ध सञ्चालक जिस्नु कुमारी उप्रेतीले बताइन् । उनका अनुसार योजनालाई ध्यानमा राखेर करिब तीन सय बङ्गुर पालन विस्तार गर्ने हिसाबमा कम्पनीले फर्म ब्यवस्थापन गरेकोछ । विज्ञको परामर्शमा कुखुरा पालन एवम् माछा पालनलाई एकसाथ अघि बढाइने योजना रहेको उनले बताइन् । यो फर्ममा पाख्रीबास कालो, मेहसान, योर्कसायर, ह्यामसायर, धराने कालो, ड्यूरोक तथा बँदेल प्रजातीका बङ्गुरहरू उपलब्ध हुने उनले बताइन् ।

दोलखामा बङ्गुर पालक किसानहरुको स्थिति विश्लेषण गर्दा ४० प्रतिशतमात्र उन्नत जातको बङ्गुर पालन गरिएको र ६० प्रतिशत भने अझै स्थानीय जातका बङ्गुर रहेकोले आगामी तीन वर्षभित्र ८० प्रतिशत उन्नत जातको बङ्गुर प्रतिस्थापन गर्ने कम्पनीको लक्ष्य रहेको उनले बताइन् ।  कम्पनीका सञ्चालक बद्रीकुमार चौलागाईंले भने— ‘जातीय अहङ्कारवादी मानसिकताबाट बङ्गुरलाई दलित जनावर बनाइएको पाइन्छ, तर खासमा यो शिल्पी समुदायमाथि भैरहेको दलन र छोइछिटोको छायाँ हो । हामी जस्ता कथित उच्च जातीय ब्राह्मणले सुरु गरेकोे ब्यवसायिक बङ्गुर पालनबाट ऐतिहासिक शिल्पी समुदायमाथि भैरहेको पशुवत् दलन घटाउन पनि सहयोग पुग्छ । खासमा बङ्गुर सुग्घरी र शान्तिप्रिय जनावर हो । यसको मासु खशि, कुखुरा तथा राँगो, भैसी भन्दा लाभदायक हुन्छ । किसानहरूले थोरै मात्रामा बङ्गुर पाल्दा फोहोर खानेकुरा (गार्भेज) पनि ख्वाएर पाल्न सजिलो हुने भए पनि ब्यवसायिक रुपमा बङ्गुर पाल्दा भने गार्भेजभन्दा घाँस र गुणस्तरीय दानामात्र खुवाउदा लाभदायक हुन्छ । त्यसो गर्दा बङ्गुरको बृद्धिदर तीब्र हुने, निरोगिता बढ्ने, मृत्यूदर घट्ने तथा मासु समेत स्वादिलो र स्वस्थकर हुन्छ ।’

राजनीतिक र सामाजिक क्षेत्रमा कृयाशील र ब्यस्त मान्छेहरू बङ्गुर पालन जस्तो संवेदनशील ब्यवसायमा जोडिन र त्यसलाई दीगो बनाउनु चुनौतीपूर्ण काम हो । यो ब्यवसायको सान्दर्भिकता बारे हामीले डाफन नेपाल प्रा.ली.का अध्यक्ष रिमालसँग कुराकानी गरेका थियौं ।  हामीसँगको कुराकानीमा उनले भने— ‘काम गर्नको लागि ठूलो चुनौती छ । हामीले यो ‘कसरी गर्छौ ?’ भन्दा पनि ‘किन गर्नु पर्छ ?’ भन्ने मुख्य कुरा हो । कुनै पनि कुरा ‘कसरी गर्ने होला ?!’ भनेर सोच्नु भन्दा पहिले ‘त्यसलाई किन गर्नु पर्छ ?’ भनेर सोचविचार गर्नु पर्छ । ठूलो ‘किन’ ले जटिल ‘कसरी’ को सरल दिन्छ ।’ कम्पनीको नाम डाफन नेपालको अर्थ डोमेस्टिक एनिमल फार्मिङ एण्ड एग्रिविजनेशन नेक्सस, नेपाल अर्थात ‘नेपालमा घरेलु जनावर पालन तथा कृषी ब्यवसायको श्रृङ्खला’ भन्ने अर्थ रहेको बताउदै रिमालले भने,— ‘हाम्रो बुझाइमा कृषी उत्पादनको क्षेत्रमा परिपुरक उत्पादन, संयुक्त उत्पादन, पुरक उत्पादन र प्रतिश्पर्धात्मक उत्पादन गरी ४ प्रकृतिहरू हुन्छन् । निश्चित अवस्थामा पुगेपछि उत्पादनका यी सबैको प्रकृतीहरु  प्रतिश्पर्धात्मक बन्छन् ।

उत्पादनको यो चरित्रलाई आत्मसाथ गर्दै ब्यवसायलाई प्रगतिशील बनाउनको लागि कम्पनीले ‘उत्पादन परिवर्तनको सिद्धान्त, अवसर लगानीको सिद्धान्त र आयको समसिमान्त सिद्धान्त’ जस्ता कृषी उत्पादनका ३ आधारभूत सिद्धान्तहरूलाई एकसाथ अपनाउने छ । कम्पनीले ब्यवसायिक उद्यममा घातक देखिने ‘विखण्डनवादी प्रवृत्ती’ अर्थात ब्यवसायिक उद्यमको लागि ‘एक जना ठिक्क, दुई जना दिक्क, तीन जना तानातान र चार जनामा हानाहान’ भन्ने तथा ‘एक्लै गरे नाफा हुन्छ, मिलेर गरे डुविन्छ’ भन्ने जस्ता मानसिकतालाई रुपान्तरण गर्न ‘कामको जवाफदेही पक्षलाई प्रत्येक्ष लाभ÷हानीको स्थिति पैदा गर्ने कार्य÷मूल्याङ्कन प्रणाली’को अभ्यास गरेको छ । ‘बंङ्गुर ब्यवसाय नै किन त ?’ भन्ने हाम्रो प्रश्नको सन्दर्भमा नेकपा (माले) का पोलिट ब्यूरो सदस्य समेत रहेका रेशम राजश्वराज रिमालले अर्थराजनीतिक विश्लेषणको आधारमा बङ्गुर ब्यवसायबाट कसरी देशकै समद्धी हाँसिल हुन्छ भनेर प्रष्ट पारे । उनले भने—‘समृद्धी अहिले सबैको नारा बनेको छ । समृद्धी हाम्रो पनि नारा हो ।

तर ‘कसको समृद्धी ?’ एक पटक चीनमा देङ श्याओपिङले भने— ‘विरालो सेतो होस् या कालो, केही फरक पर्दैन, मुसा मारे हुन्छ ।’ देङको विचारको खण्डन गर्दै माओले भने, —‘धेरै फरक पर्छ ! सेतो विरालोले मुसा मा¥यो भने सेतोले खान्छ, कालो विरालोले मा¥यो भने कालोले खान्छ !’ त्यसैगरी ‘कसको समृद्धी ?’ भन्ने कुराले फरक पार्छ । किसान मजदुर र गरिबगुरुवाको समृद्धीले मात्र समृद्ध देश बन्छ ।’ उनले भने,— ‘त्यसैले हामी नेपाली विशेषताको चौथो क्रान्ति मार्फत नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न चाहन्छौं ।

नयाँ जनवादी क्रान्ति भनेको नयाँ खाले जनवादी पुँजीवादी क्रान्ति हो । यहाँ पुँजीवादी क्रान्ति भनेको स्वदेशी उत्पादनलाई कुहाएर, विदेशी सामान देशभरी फैल्याएर, मनपरी कमिसन खाने र रातारात धनी बन्ने दलालहरुको मिलिभगतको बिरुद्ध सङ्घर्ष गर्दै उद्यमशील राष्ट्रिय पुँजीको जगेर्ना र बृद्धी विकास हो । अनि जनवादी भनेको चै त्यस्तो उत्पादनका साधन मुठ्ठीभर मान्छेको हातमा हैन, अत्याधिक गरिब श्रमिकहरुको हातमा पुग्ने गरी पुँजीको वितरण र उत्पादन सम्बन्धको विकास गर्नुपर्छ भन्ने हो । अब, यी दुबै उद्देश्य पुरा गर्नको लागि हामीले कृषि उद्यमको विकास र विस्तार मार्फत नै विदेशीसँग हाम्रो ब्यापार घाटा घटाउने नीति लिनु पर्छ ।’  हाम्रो देशको वैदेशिक ब्यापारको स्थिति देखाउँदै उनले भने— ‘आर्थिक वर्ष ०७१÷७२ मा हाम्रो सामान जति विदेश जान्थ्यो, त्यसका ९ गुणा बढी हामीले विदेशीको सामान किन्ने गथ्र्यौ ।

यस्तो ब्यापार घाटा आ.व. ०७२÷७३ मा ११ गुणा बढ्यो र २०७४ को जेठ मसान्तसम्ममा त्यस्तो घाटा ह्वात्तै बढेर १३.३ गुणा पुग्यो ! अर्थात, पछिल्लो वर्षको एघार महिनामा हामीले ७६ अर्ब ३६ करोडको सामान विदेशीलाई बेच्दा ८९३ अर्ब १० करोडको सामान विदेशीबाट किन्नु परेको रहेछ ! भन्सार छल्न हुने न्यूनविजकीकरणलाई ध्यान दिँदा देशको ब्यापार घाटाको वास्तविक स्थिति अझै डरलाग्दो छ । यो मुलुक नै टाट पल्टिने स्थिति हो । त्यसैले पैठारी ब्यापारलाई कम गर्न दलाल पुँजीवादमाथि निर्मम प्रहार गरेर कृषिलाई निकासी–उद्यमको नीतिमा आधारित बनाउनुको विकल्प छैन । पैठारी ब्यापारमा सबैभन्दा ध्वङ्शात्मक भेल भारतबाट नेपालतिर बगिरहेको तथ्याङ्क छ । निकासी उद्यमको नीति बनाउदा चीनलाई केन्द्रमा राख्नु हाम्रो आवश्यकता हो । अर्कोकुरा, हामीले निकासी उद्यमलाई सफल बनाउन भारतीय पैठारी ब्यापारको भेलले नहान्ने उत्पादनमा जोड दिनु पर्दछ । ‘पोर्क–मार्केट’ (बङ्गुरको मासु बजार) नै एक त्यस्तो उत्पादन हो, जसमा भारतको खासै चासो छैन ।

अर्कोतिर, मित्रराष्ट्र चीन विश्वकै आधा भन्दा बढी पोर्क खपत हुने विश्वकै उत्कृष्ठ बजार हो । यदि नेपाललाई दलाल पुँजीवादको पञ्जाबाट जोगाउन सक्ने हो भने चीनमा १,५०० अर्बदेखि २,००० अर्ब रुपैयासम्मको नेपाली बङ्गुरको मासुले सजिलै बजार पाउन सक्छ । अर्थात, अहिले वर्षभरीमा हुने बैदेशिक ब्यापारको कूल निकासीको सरदर २२ गुणा बढी बङ्गुरको मासुमात्र निकासी गर्न सकिने स्थिति बन्छ । यसरी हामीले डरलाग्दो ब्यापार घाटाको स्थितिलाई उल्ट्याएर पैठारीको अनुपातमा निकासी ब्यापारलाई धेरै माथि उकास्न सक्छौं । यसमा विचौलियाहरुको कार्टेलिङ (मिलिभगत) रोकिदिने वित्तिकै पुँजीको जनवादी वितरण संस्थागत हुन्छ ।’ ‘बङ्गुर भनेको सस्तो खाद्यन्न घाँसपातलाई मासुमा परिणत गर्ने घरेलु मेशिन हो । हामीले जनवादी समृद्धिको लागि चीनको मासु बजारमा प्रवेश गर्ने तथा जनस्तरमा अधिकांश किसानहरूलाई बङ्गुर पालन तथा उद्यममा प्रेरित  गर्ने हो भने किसानले बिक्रीको चिन्ता लिनु पर्दैन र आफ्नै घरगोठबाट बिक्री गर्दा अहिलेको भन्दा दोब्बर बढी मूल्य पाउँछन् । यो उद्यम थोरै जग्गामा गर्न सकिने भएको हुनाले बाँकी जमिनको चक्लाबन्दी गरेर यसलाई चाहिने दाना उत्पादनमा पनि हामी आत्मनिर्भर बन्न सक्छौं ।

जग्गाको चक्लाबन्दी र सहकारी उद्यमले नेपालमा मौलिक पाराको वैज्ञानिक समाजवादी क्रान्तिको लागि आधार तयार पार्नेछ । जसले छोटो समयमै मुलुकको कायापलट संभव छ । तर दलाल–नोकरशाही पुँजीपति वर्ग यसमा वाधक बनेको छ । नोकरशाही तन्त्रमा पनि वित्तीय क्षेत्रका नोकरशाहहरु जनमुखी लगानी–मैत्री हैन, त्यसको दुश्मनको रुपमा खडा छन् ।’  ‘यो नमूना ब्यवसायिक बङ्गुरपालन त्यही दायित्व पूरा गर्ने, त्यसको ब्यवहारिक अध्ययन र अभ्यास गर्ने एउटा जनवादी अर्थराजनीतिको प्रयोगशाला हो । यस्ता प्रयोगशालाहरु देखेर सबै क्षेत्रका दलाल–नोकरशाहहरू तिल्मीलाउने रहेछन् । त्यसको ठोस अर्थराजनीतिक कारण छ । यो ब्यवसाय मात्र नभएर धेरै ठूलो सम्भावना बोकेको वर्गसङ्घर्षको राजनीतिक काम हो ।’

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।