प्रहरी हिरासतमा रहेका किशोरको मृत्युमा छानविन समिति

 आवाज संवाददाता     २३ भाद्र २०७४, शुक्रबार

दोलखा, २३ भदौ 

प्रहरी हिरासतमा रहेका एक किशोरको मृत्यु भएको घटनालाई लिएर विवाद सिर्जना भएपछि घटनाको छानविनका लागि जिल्ला प्रशासन कार्यालय दोलखाले छानविन समिति गठन गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज भट्टको संयोजकत्वमा छानविन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मणविक्रम थापाले जानकारी दिए । उनका अनुसार समितिको सदस्यमा जिल्ला न्यायाधिवक्ता र प्राथमिक स्वास्थ्य केन्द्र अर्थात प्रस्तावित चरिकोट अस्पतालका डाक्टर सदस्य रहेका छन् ।
चोरीको अभियोगमा यही भदौ १९ गतेदेखि थुनामा रहेका रवि केसीको स्वास्थ्यमा समस्या आएपछि प्राथमिक स्वास्थ्य केन्द्रको रिफरमा काठमाडौँ लैजाने क्रममा रामेछापको मिल्तीखोलामा पुगेपछि मृत्यु भएको थियो । एक्कासी पेट दुख्ने समस्या भएपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको र उसकै रिफरमा उपचारका लागि काठमाडौ लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ भने मृतकका आफन्तले १५ वर्षका नाबालकलाई गैरकानुनी थुनामा राखेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । पीडितले दिएको उजुरीको आधारमा सत्यतथ्य छानविनका लागि छानविन समिति गठन गरिएको हो । तर रवि आफैँले आफ्नो उमेर १८ वर्ष बताएको प्रहरीले दावी गरेको छ ।
मृतक रवि भोजपुर घर भई दोलखाको भिमेश्वर नगरपालिका ५ किरातीछापस्थित मामाघरमा बस्दै आएका थिए । मृतकका आफन्तले शुक्रवार साँझसम्म शव बुझेका छैनन् ।
कानुनतः १६ वर्ष भन्दा कम उमेरका बालबालिकालाई प्रहरी हिरासतमा राख्न नपाउने व्यवस्था छ । मृतक केसी ध्रुव र रिताका एक मात्र सन्तान हुन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF