भुकम्प पीडितलाई दोस्रो किस्ता लिनै सास्ती

 आवाज संवाददाता     ३० भाद्र २०७४, शुक्रबार

दोलखाः विगू गाउँपालिका– ४ लादुककी चिनीमाया तामाङ नेपालै पहिलो आवास पुनर्निर्माण अनुदान सम्झौता गर्ने मध्ये पर्छिन् । उनले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सिंगटीबाट अनुदान सम्झौता सुरुवात गरेको भोलिपल्टै अर्थात् २०७२ फागुन १३ गते सम्झौता गरेकी हुन् । तर अहिलेसम्म उनले दोस्रो किस्ता लिन सकेकी छैनन् ।

तामाङ एउटा प्रतिनिधि पात्रमात्र हुन् । भूकम्पको वैशाख २९ को केन्द्र बिन्दुनजिक परेर सबैभन्दा बढी क्षति पुगेको सिंगटी नजिकैका उनीजस्तै धेरैले दोस्रो किस्ता पाउन सकेका छैनन् । उनीहरूले घर नबनाएर र घर मापदण्ड नपुगेर दोस्रो र तेस्रो किस्ता नपाएका होइनन् । अनुदान दिने जिम्मेवारी पाएको बैंक टाढा भएर र अनावश्यक झण्झटका कारण किस्ता पाउन नसकेका हुन् ।

अनुदान लिएका पनि अनेक सास्ती भोग्दै रकम बुझेको बताउँछन् । भीम तामाङलाई भूकम्पले भत्काएको घर पुनर्निर्माणका लागि सरकारले दिएको अनुदानको दोस्रो किस्ता लिन एक साता लाग्यो । एक लाख ५० हजार लिनका लागि उनले १० हजारभन्दा बढी बाटो खर्चमै सिध्याए । दोस्रो किस्ता बल्ल लिए पनि तेस्रो किस्ता लिन सहजहोस् भन्ने उनले सरकारसँग माग गरेका छन् ।

भूकम्पपीडित मध्ये सरकारी अनुदान लिन सास्ती पाउने तामाङमात्र होइन । लादुकका सरीता खत्रीको पीडा पनि कम छैन । बल्लबल्ल घर बनाएकी खत्रीले गाउँमा आएका इन्जिनियरबाट प्रमाणित गराएर पैसा लिन रामेछाप पुग्नु प¥यो । घरबाट एक घण्टाको दूरी सिंगटी बजारमा बैंक छ तर उनी आफ्नो अनुदान लिनका लागि अर्कै जिल्ला जानु प¥यो ।

सरकारले अनुदान लिनका लागि तोकेको बैंककै कारण विगू गाउँपालिकाका लादुक, चिलंखा र आलम्पूका भूकम्पपीडितले सास्ती भोग्नु परेको छ । लादुकमा पहिलो चरणमै १ हजार २५ जना लाभग्राहीको नाम प्रकाशित भए तापनि दोस्रो किस्ता लिने अहिलेसम्म १२ जनामात्र पुगेका छन् । बैंक टाढा हुनु र ससानो निहुँमा पनि बैंकले फर्काइ दिँदा भूकम्पपीडित झन् सास्ती भोग्न बाध्य भएका हुन् ।

राहत लिन रामेछाप
दोलखाका सबै भूकम्पपीडितले जिल्लाभित्रैबाट अनुदान पाएका छन् । तर विगू गाउँपालिकाका– ४, ५ र ६ का २ हजार ६४० भूकम्पपीडित मात्र राहत लिन रामेछाप जानुपर्ने बाध्यता छ । विगू गाउँपालिकाको आलम्पूदेखि सिंगटीसम्म हिँडेर आउन एक दिन, त्यहाँबाट रामेछापको मन्थलीसम्म बस परिवर्तन गर्दै अर्को एक दिनको यात्रा गर्नुपर्छ ।

त्यसमा पनि कहिले बिदा त कहिले बाटोको अवरोधले गर्दा एउटा किस्ता लिन जान साता दिनसम्म लागेको आलम्पूका भूकम्पपीडित आइतमान थामीले गुनासो गरे ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आवास पुनर्निर्माण अनुदानका लागि गत वर्ष बैैंकहरू तोक्ने क्रममा जिल्लाभर १६ वटा बैंकलाई गाउँ र भूकम्पपीडितको संख्या नै तोकियो । सबै बैंक दोलखाभित्र शाखा भएका बैंक परे । धेरैलाई नजिकै पायक पर्ने ठाउँमै प¥यो । तर लादुक, चिलंखा र आलम्पूका लागि नेपाल इन्भेस्टमेन्ट बैंक तोकियो । त्यसको नजिकको शाखा भनेकै मन्थलीमा छ ।

इन्भेस्टमेन्ट बैंकले पहिलो किस्ता वितरणका लागि सिंगटीमै आएर वितरण ग¥यो । तर दोस्रो स्ताका लागि र थप भएका लाभग्राहीका लागि सिंगटी आउन नसक्ने भन्दै मन्थलीमै बोलाएर सास्ती दियो ।

विगू गाउँपालिकाका प्रवक्तासमेत रहेका वडा नं. ४ का वडाअध्यक्ष बुक्ताम तामाङले बैंककै कारण धेरैले दुःख पाएर त्यत्तिकै फर्कनु परेको बताए । सबै कागजात पूरा गरेर पठाउँदा पनि विभिन्न बहानामा बैंकले फर्काउने गरेको बताए ।

धेरै जना किस्ता नलिई फर्केपछि आफैं पनि मन्थली पुगेको उनले बताए । सुरुमा इन्भेस्टमेन्टले शाखारहित सेवा सञ्चालन गरेर भए पनि भूकम्पपीडितलाई सेवा पु¥याउने सर्तमा उसले जिम्मेवारी पाए तापनि पछि उसले कामै नगरेको जनप्रतिनिधिको भनाइ छ ।

टाढा बैंक भएर समस्या परेकाले नजिकै भएको बैंकमा अनुदान पाउने व्यवस्थाका लागि पुनर्निर्माण प्राधिकरणमा पटकपटक आग्रह गरेको उनले बताए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण चरिकोटका प्रमुख सागर आचार्यले ३ गाउँका भूकम्पपीडितले बैंक टाढा भएको गुनासो गरेकाले बैंक नै परिवर्तन गर्न पहल गरेको बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF