माथिल्लो तामाकोसीको ठाडो सुरुङ सम्पन्न

 आवाज संवाददाता     १ आश्विन २०७४, आईतवार

दोलखा, १ असोज
माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको महत्वपूर्ण कामको रुपमा रहेको दोस्रो ठाडो सुरुङको काम पूरा भएको छ । आयोजनाको माथिल्लो ठाडो सुरुङ (पेनस्टक साफ्ट) को शनिबार पूरा भएको हो ।
आयोजनाको ३२२ मिटर ठाडो सुरुङ पूरा भएपछि आयोजनाका लागि ठाडो सुरुङ खन्ने काम सकिएको छ । अपर तामाकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत समेत रहेका आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठले ठाडो सुरुङ निर्माण पूरा हुनु आयोजनाका लागि एक महत्वपूर्ण उपलब्धी भएको बताएका छन् । ‘आयोजनाको ३२२ मिटर ठाडो सुरुङको ब्रेक थ्रु भयो’ उनले भने ‘यो हाम्रो आयोजनाको लागि एउटा महत्वपूृर्ण कोसेढुङ्गा जस्तै उपलब्धी हो ।’
यस अघि तल्लो खण्डको ३७२ मिटर ठाडो सुरुङको काम एक वर्ष अघि नै पूरा भएको थियो । ठाडो सुरुङ पूरा भएपछि लाइनिङको काम गरेर पेनस्टक स्टिल पाइप राख्ने काम सुरु हुने उनले बताए । एक वर्ष अघि पूरा भएको ठाडो सुरुङमा लाइनिङ गरेर पेनस्टक जडानको काम भइरहेको छ ।
आयोजनाका लागि ठाडो सुरुङ निर्माणको काम चुनौतीको रुपमा रहेको थियो । दुवै ठाडो सुरुङ निर्माणमा चीन र जर्मनीबाट ल्याइएका रेजबोरिङ लगायतका उपकरण ल्याएर काम गर्दा समेत असफल भएको थियो । कमजोर चट्टानका कारण कहिले छड्के जाने लगायतका समस्याले ४ वर्षदेखि पटक पटक स्थगित हुँदै सुरु हुँदै आएको थियो ।

मुख्य सुरुङ डेढ महिनाभित्र पूरा हुने

आयोजनाको मुख्य सुरुङ डेढ महिनाभित्र पूरा हुने भएको छ । अहिले मुख्य सुरुङको भैसे खण्ड र गोंगरडाँडा खण्डबाट निर्माणको काम भइरहेको छ । आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले मुख्य सुरुङ अब २७० मिटर जति मात्र बाँकी रहेको बताए । कुल ८ किलोमिटर लामो मुख्य सुरुङको काम भुकम्पका कारण २ वर्ष अबरोध भएको थियो ।
आयोजनाले मुख्य सुरुङ निर्माणका लागि प्रवेश मार्गमा २ वटा रोड टनेल समेत निर्माण गरेको छ । ‘हामी कार्तिक अन्तसम्म मुख्य सुरुङ ब्रेक थु्र गर्ने गरी काम गरिरहेका छौं’ उनले भने । आयोजनाको सिभिल संरचना सर्ज साफ्टको लागि अर्को १ किलोमिटर लामो छड्के सुरुङको डिजाइन भएको छ । त्यो सुरुङ मुख्य सुरुङ पूरा भएपछि निर्माण सुरु हुने उनले बताए ।
सर्ज साफ्ट सुरुङ पावर हाउस चलिरहेको बेला एक्कासी बन्द गर्नु पर्दा मुख्य सुरुङबाट आएको पानी जाने ठाउँ तयारीको लागि निर्माण गर्न लागिएको हो । पहिला ४ सय मिटरको ठाडो सुरुङ बनाउने योजना भए तापनि पनि डिजाइ परिवर्तन गरेर छड्के सुरुङ बनाउन लागिएको हो ।

आयोजनाबाट उत्पादित विद्युत खेर जाँदैन

आयोजनाले आउँदो असारसम्म पहिलो युनिट सञ्चालन गर्ने गरी कामलाई तिव्रता दिएको हो । खिम्ती सव स्टेशन निर्माण गर्न ढिलाइ भए तापनि आयोजनाबाट उत्पादित विद्युत खेर जान नदिने प्रवक्ता न्यौपानेले बताए ।
स्थानीयले सरकारले निर्धारण गरेको जग्गाको मुआव्जा लिन लामो समयदेखि अस्वीकार गर्दा फुलासीमा निर्माण प्रस्ताव गरिएको सवस्टेशन सुरु हुन सकेको छैन । ‘सव स्टेशन निर्माणको कुरा करिब मिल्न लागि सक्यो, मलाई विश्वास छ चाँडै यो समस्या समाधान हुन्छ’ उनले भने ‘२÷४ महिना ढिला भयो र आयोजनाको विद्युत उत्पादन भए पनि त्यसको विकल्पमा सोझैं किर्नेमा रहेको ६० मेगावाटको खिम्ती १ जलविद्युत केन्द्रमार्फत जोड्ने गरी योजना समेत बनेको छ ।’
आयोजनाले विद्युत प्रसारणका लागि गोंगरदेखि फुलासीसम्मको ४७ किलोमिटर लामो प्रसारण लाइनको काम तिव्र गतिमा भइरहेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।