माओवादीबाट देवी खड्का दोलखा प्रतिनिधि सभा उम्मेद्वार

 आवाज संवाददाता     २ आश्विन २०७४, सोमबार

 

दोलखा, २ असोज

नेकपा माओवादी केन्द्रले दोलखाबाट प्रतिनिधि सभामा देवी खड्कालाई उम्मेद्वार बनाउने भएको छ । नेकपा माओवादी केन्द्रको आइतबार भएको पार्टी प्रशिक्षण र सोमबार दिउँसो बसेको जिल्ला कमिटी बैठकले खड्कालाई संघीय प्रतिनिधि सभाको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेद्वार बनाउने निर्णय गरेको हो ।
पूर्व राज्य मन्त्री समेत भएकी खड्का २०६४ सालमा दोलखा क्षेत्र नं. १ बाट संविधान सभा सदस्य निर्वाचित भएकी थिएन् भने २०६३ सालमा माओवादीबाट विधायीका समेत भएकी थिइन् । बैठकमा सहभागी एक माओवादी नेताले खड्काको नाममा सहमती भएको जानकारी दिए ।
प्रतिनिधि सभामा माओवादी दोलखाका संस्थापक नेता तथा नेकपा माओवादी केन्द्रका पोलिट्व्यूरो सदस्य गंगा कार्कीलाई उम्मेद्वार बन्न कार्यकर्ताहरुले आग्रह गरे तापनि उनले आफू उम्मेद्वार नबने बताएपछि खड्काको नाममा सहमति भएको उनले बताए । त्यसैगरी प्रतिनिधि सभामा समानुपातिक उम्मेद्वारको रुपमा श्यामाका डीएन शेर्पाको नाममा पनि सहमति भएको छ ।
२ वटा क्षेत्र रहेको ३ नं. प्रदेश सभाका लागि भने छलफल मात्र भएको छ । ति माओवादी नेताका अनुसार क्षेत्र नं. १ मा अहिले कुनै पनि व्यक्तिको नाममा छलफल नभएको र क्षेत्र नं. २ मा भने गोपाल पाण्डे र नरबहादुर पाख्रिनको नाममा छलफल भएको बताए । सबै उम्मेद्वार सर्वसम्मत रुपमा चयन गर्ने गरी अहिले पार्टी लागि परेको उनले बताए ।
दोलखामा प्रतिनिधि सभामा १ र प्रदेश सभामा २ वटा क्षेत्र रहेको छ । आगामी मंसिर १० गते हुने दुवै चुनावका लागि अरु पार्टीहरुले भने छलफल सुरु गरेका छैनन् । तर नेकपा एमाले दोलखाका प्रचार विभाग प्रमुख धर्मेन्द्र मोक्तानले अरु नेताहरुले पटक पटक अवसर लिएकाले यस पटक पार्टीमा योगदान दिएका तर अवसर नपाएका नेताहरुलाई अवसर दिने बताए । उनका अनुसार आउँदो चुनावमा प्रतिनिधि सभामा लालकुमार केसी, प्रदेश सभाको क्षेत्र नं. १ मा शिवप्रसाद भण्डारी र क्षेत्र नं. २ मा धनबहादुर तमाङलाई उम्मेद्वार बनाउने बताए ।
तर नेकपा एमालेमा ३ नं. प्रदेशको मुख्य मन्त्री पाए पोलिट्व्यूरो सदस्य पशुपति चौलागाईलाई क्षेत्र नं. १ बाट उम्मेद्वार बनाउने तयारी छ । यदि त्यो अवसर नभए चौलागाई सहित वर्तमान सांसदहरु आनन्दप्रसाद पोखरेल र पार्वत गुरुङ प्रतिनिधि सभाको टिकटको दौडमा छन् । त्यसैगरी प्रदेश सभामा क्षेत्र नं. १ बाट शिव भण्डारी र क्षेत्र नं. २ बाट बालकृष्ण शिवाकोटीले समेत दाबी गरेका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF