रोल्वालिङको लाइसेन्स अपर तामाकोसीलाई

 आवाज संवाददाता     ३ आश्विन २०७४, मंगलवार

दोलखा, २ असोज
रोल्वालिङ डाइभर्सनबाट अर्को जलविद्यूत आयोजना निर्माणका लागि अपर तामाकोशी हाइड्रोपावर कम्पनीले लाइसेन्स पाएको छ । २२ मेगावाटको आयोजनाका लागि विद्युत विकास विभागबाट अपर तामाकोसीले अघिल्लो हप्ता सर्भे लाइसेन्स पाएको हो । सर्भे लाइसेनस पाएसँग तामाकोसीलाई आयोजना अघि बढाउनका लागि थप सहज भएको हो ।
लामाबगरमा रहेको माथिल्लो तामाकोशीको जलाशय भन्दा करिब दुई सय मिटरमाथि उचाइबाट रोल्वालिङ डाइभर्सन सुरुङ आउँछ । उक्त उचाइ (वाटर हेड) लाई प्रयोग गरी अर्को २२ मेगावाटको छुट्टै जलविद्युत आयोजना निर्माण गरिने कम्पनीका प्रमुख विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिए ।
३ वर्ष अघि नै अपर तामाकोसीले जुम खोला र रोल्वालिङ डाइभर्सन गरेर १०० मेगावाटको छुट्टै आयोजना बनाउनका लागि विद्युत विकास विभागमा अनुमति माग गरे तापनि पछि विभागले जुम खोलाको लाइसेन्स सानिमा हाइड्रो पावर कम्पनीलाई दिएको थियो । सानिमाले उक्त लाइसेन्स पाएपछि अपर तामाकोसीले रोल्वालिङ डाइभर्सन गरी छुट्टै आयोजना बनाउन लागेको हो ।
रोल्वालिङ डाइभर्सनबाट छुट्टै आयोजना बनाउनका लागि विद्युत विभागबाट कम्पनीले सर्भे लाइसेन्स समेत पाइसकेको छ । ‘विद्युत विकास विभागबाट २२ मेगावाट आयोजनाको सर्वे लाइसेन्स पाएका छौं’ उनले भने,‘यसबाट हिउँदमा १६ करोड ९० लाख युनिट ऊर्जा थपिने छ ।’
४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना पूरा भएको थप २ वर्षमा रोल्वालिङ डाइभर्सनबाट २२ मेगावाटको आयोजना पूरा गरिने उनले बताए । माथिल्लो तामाकोसीको आउँदो असारबाट विद्युत उत्पादन सुरु गर्ने गरी काम भइरहेको छ । आयोजनाको हालसम्म ९१ प्रतिशत भौतिक प्रगती भएको छ ।
बाँध, सुरुङ लगायतका संरचना खोला डाइभर्सन गर्दा नै बनाउनु पर्छ, त्यसमा बालुवा थिग्रयाउने (डिस्यान्डर बेसिन) र विद्युत गृह मात्रै थप बनाउने पर्ने हुँदा आयोजना ज्यादै सस्तो छ । सस्तोमा करिव ८० मेगावाटका विद्युत आयोजनाबाट उत्पादन हुने बराबरको ऊर्जा रोल्वालिङ डाइभर्सनबाट पाउन सकिने कम्पनीले जनाएको छ ।
माथिल्लो तामाकोसीको दोस्रो चरणमा रोल्वालिङको पानी डाइभसर्नन गरी दोलखाको लामाबगरमा रहेको आयोजनाको बाँधमा मिसाउन लागिएको हो । डाइभर्सनमा करिव ६ किलोमिटर सुरुङ बनाउनु पर्ने छ । यसकोे विस्तृत इञ्जिनियरिङ डिजाइन भइरहेको छ ।
रोल्वालिङ डाइभर्सन जलविद्युत आयोजना अपर तामाकोशी हाइड्रोपावर कम्पनीले नै बनाउने भएको छ । लागत तय भएपछि माथिल्लो तामाकोसीमै ऋण लगानी गरिरहेका कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम, नागरिक लगानी कोष लगायतलाई लगानीका लागि आग्रह गरिने आयोजनाले जनाएको छ । सस्तो र आकर्षक आयोजना रहेका यसमा लगानी गर्न सबै तयार छन् ।
रोल्पालिङ डाइभर्सनको बाँध स्थल गौरीशंकर गाउँपालिका वडा नं. ९ रिगू गाउँभन्दा केही माथि पर्छ । भौगोलिक जटिलता भएको र सडक सुविधा नभएकाले त्यहाँसम्म रोप वे बनाउने कम्पनीको योजना छ । लामाबगरको छेतछेतदेखि गौरीशंकरको रिगु गाउँसम्म करिव २ किलोमिटर रोपवे बनाउने कम्पनी छनोटका लागि टेण्डर आहन भइसकेको छ । रोपवेबाटै निर्माण सामग्री लगायत ढुवानीको योजना बनाइएको छ ।
रोप वेलाई आयोजनाको काम पूरा भएपछि कार जडान गरेर त्यसैलाई केबरकारको रुपमा प्रयोग गराउने आयोजनाको योजना छ । रोल्वालिङ क्षेत्र दोलखाको प्रमुख पर्यटकीय गन्तव्य पनि हो । छेतछेतदेखि रोप वे सञ्चालन भएमा रोल्वालिङमा पर्यटन प्रबद्र्धनमा समेत सघाउ पुग्ने पक्का छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF