तामाकोसी पाँचौंको दसैं लगत्तै परीक्षण सुरुङ

 आवाज संवाददाता     ५ आश्विन २०७४, बिहीबार

दोलखा, ५ अजोज
तामाकोसी पााँचौं जलविद्युत आयोजनाको दसैं लगत्तै परीक्षण सुरुङ खन्ने भएको छ । तामाकोसी पाँचौको विस्तृत आयोजना प्रतिवेदन(डीपीआर) तयारीका लागि परामर्शदाता जर्मनी कम्पनी ल्याहमेरले दसैंपछि परीक्षण सुरुङ खन्न लागेको हो ।
आयोजनाको लागि आवश्यक जग्गाको मुआब्जा वितरण लगत्तै ल्याह्मेरले परीक्षण सुरुङ खन्ने छ । आयोजनालाई आवश्यक जग्गाका लागि सार्वजनि सूचना प्रकाशित गरिसकेको छ भने बिहीबार बसेकोे जिल्ला मूल्य निर्धारण समितिको बैठकले आयोजनालाई आवश्यक जग्गा अधिग्रहणका लागि मूल्य निर्धारण पनि गरेको छ ।
जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जग्गाको मूल्य निर्धारण समिति हुन्छ । दोलखाका प्रमुख जिल्ला अधिकारी लक्ष्मणबिक्रम थापाको अध्यक्षतामा बसेको बैठकले न्यूनतम् ३ लाख ७४ हजारदेखि अधिकतम ७ लाख ४८ हजार प्रतिरोपनी मूल्य निर्धारण गरेको छ ।
आयोजनाका लागि आवश्यक जग्गा अधिग्रहणका लागि यस अघि नै सार्वजनिक सूचना जारी भई सकेको छ । जग्गाको निर्धारण भइ सकेकाले अब दसैपछि जग्गाको मुआब्जा वितरणको काम सुरु हुने तामाकोसी पाँचौं जलविद्युत आयोजनाका प्रशासन प्रमुख तथा मुआब्जा वितरण प्रमुख सिताराम थापाले जानकारी दिए ।
आयोजनाका लागि विगू गाउँपालिका वडा नं. ४ साविक लादुक ९को सुरीटारमा रहेको जग्गा अधिग्रहण गर्ने छ । जग्गाको मूल्य निर्धारण समितिले सिंगटी–भोर्ले–तामाकोसी सडकले छोएको सडकको २५ मिटर पछाडीसम्मको मूल्य प्रति रोपनी ७ लाख ४८ हजार निर्धारण गरेको छ । त्यस्तै सडकले नछोएको बाँकी जग्गाको मूल्य ३ लाख ७४ हजार निर्धाण भएको प्रशासन प्रमुख थापाले बताए ।
आयोजनाका लागि ५८ जनाको ५५ रोपनी जग्गा आवश्यक पर्छ । तामाकोसी पाँचौको सुरीटारमा विद्युत गृह लगायतका संरचना तयार गर्ने प्रस्ताव छ । ल्याह्मेर ४५६ मेगावाटको निर्माणाधिन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको समेत परामर्शदाता हो । ल्याह्मेरले अबको एक वर्षमा आयोजनाको डीपीआर तयार पूरा गर्नेछ । डेढ वर्षमा पूरा गर्ने गरी ६ महिना अघि ल्याह्मेर र विद्युत प्राधिकरण बीच सम्झौता भएको थियो ।
आयोजनाको प्रारम्भिक अध्ययन अनुसार ८७ मेगावाट क्षमताको बन्ने भएपछि अहिले परामर्शदाताको अध्ययनमा ९५ मेगावाटको बनाउन सकिने अनुमान छ । आयोजनाका लागि तामाकोसी पाँचौ जलविद्युत कम्पनी लिमिटेड दर्ता भई सकेको छ । अहिलेसम्म नेपाल विद्युत प्राधिकरण मार्फत अध्ययन भएको आयोजना चाँडै कम्पनीलाई हस्तान्तरण हुने छ । तत्कालिन ऊर्जामन्त्री जनार्दन शर्माको पालामा तामाकोसी पाँचौ सहित, दुधकोसी, बुढीगण्डकी, नलसिंघगाढ, माथिल्लो सेती लगायतका आयोजना कम्पनी मोडेलमा निर्माण गर्ने निर्णय गरेका थिए ।
अबको एक वर्षमा वित्तीय संरचना, टेण्डर डकुमेन्ट तयार, लगानीको स्रोत जुटाउने लगायतका काम हुने उनले बताए । तामाकोसी पाँचौ ४५६ मेगावाट क्षमताको निर्माणाधिन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको क्यासकेट आयोजना हो । माथिल्लो तामाकोसीको टेलरेसबाट निस्केको पानीबाट पुनः अर्को सुरुङ बनाएर तामाकोसी पाँचौको निर्माण हुनेछ । विगू गाउँपालिकाका उपाध्यक्ष सञ्जिव ओलीले आयोजना निर्माणका लागि स्थानीय तहबाट पूर्ण सहयोग हुने बताए ।
नेपाल विद्युत प्राधिकरणले गरेको प्रारम्भिक अध्ययन अनुसार माथिल्लो तामाकोसीको टेलरेसबाट क्यासकेट गरी ८ दशमलब २ किलोमिटर सुरुङबाट लादुकको सूरीटारमा भूमिगत विद्युत गृह बनाएर विद्युत उत्पादन गर्ने लक्ष्य छ । आयोजनाको ग्रस हेड ६० मिटर छ । यसबाट वार्षिक ४ सय ६० दशमलब ५ गिगावाट घण्टा विद्युत उत्पादन हुने हुने छ ।
बाटोको पहुँच, कम वातावरणीय प्रभाव, हेडवक्स निर्माण गर्न नपर्ने कारणले पनि आयोजना आकर्षक सरकारले पनि ४ वर्षदेखि प्राथमिकतामा राखेको आयोजना हो । आयोजनाबाट उत्पादित विद्युत माथिल्लो तामाकोसीले निर्माण गर्ने गोंगर–खिम्तीको २२० केभी डबल सर्किट प्रसारण लाइनमा जोड्ने लक्ष्य छ ।

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।