भीमेश्वरको ‘महाप्रसाद’ ग्रहण गर्दै राष्ट्रपतिले भनिन् – ‘मुलुकलाई कुनै संकट नपरोस्’

 आवाज संवाददाता     ११ आश्विन २०७४, बुधबार

दोलखा, असोज ११
प्रसिद्ध दोलखा भीमेश्वरलाई आएको पसिना पुछिएको कपास ‘महाप्रसाद’को रुपमा राष्ट्रपतिसमक्ष पु¥याइएको छ । महाप्रसाद ग्रहण गर्दै राष्ट्रपति विद्या भण्डारीले भनेकी छन्, ‘मुलुकलाई कुनै संकट नपरोस्’ ।
सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटवाल र भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिको टोलीले आज मध्यान्ह राष्ट्रपतिलाई महाप्रसाद बुझाएको हो । सहायक प्रमुख जिल्ला अधिकारी कटवालका अनुसार राष्ट्रपति भण्डारीले महाप्रसाद ग्रहण गर्दै मुलुकमा कुनै संकट नआओस् भन्ने कामना गरेकी छन् । दोलखा भीमेश्वरलाई आएको पसिना मुलुकमा हुने कुनै ठुलो घटना तथा परिवर्तनको पूर्वसूचक मानिन्छ ।
राष्ट्रपति भण्डारीले महाप्रसाद बुझाउन गएको टोलीलाई क्षमापूजा समेत पठाएकी छन् । भीमेश्वरलाई पसिना आएपछिको महाप्रसाद राष्ट्राध्यक्ष समक्ष बुझाएपछि त्यहाँबाट क्षमापूजा पठाउनुपर्ने प्रचलन छ । यसरी पठाइएको क्षमापूजाको सामग्रीबाट विधिपूर्वक क्षमापूजा गरेपछि संकट टर्ने जनविश्वास समेत रहेको छ ।
हिजो असोज १० गते दिउँसो २ः५५ बजेदेखि ३ः१७ बजेसम्म र पुनः ३ः५१ बजेदेखि ५ः१५ बजेसम्म दोलखा भीमेश्वरको शिलामा पसिना आएको थियो । सो पसिना पुछिएको कपास आज विहानै राष्ट्रपति कार्यालयमा लगिएको थियो ।

तस्विर सौजन्यः सुनिल बज्राचार्य, राष्ट्रपति कार्यालय

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।