मलेसियाको शिविरबाट १० नेपालीको उद्धार

 आवाज संवाददाता     १७ असार २०७३, शुक्रबार

काठमाडौँ, १७ असार । मलेसियाको कैद शिविर (डिटेन्सन क्याम्प) मा रहेका १० नेपालीको उद्धार गरी नेपालमा ल्याइएको छ ।

मलेसियास्थित नेपाली दूतावासद्धारा जारी विज्ञप्तिमा अवैधानिक रुपमा काम गरेको आरोपमा जेल सजाय काटिसकेपछि पनि टिकट काट्ने रकम नभएर घर फर्किन नपाएका पाँच जना र विभिन्न शिविरमा रहेका पाँच जना गरी १० जनालाई बिहीबार नेपाल फर्काइएको उल्लेख गरिएको छ ।

मलेसिया भ्रमणमा रहनुभएका श्रम तथा रोजगारमन्त्री दीपक बोहराले विभिन्न शिविरमा गई अवलोकनको क्रममा अलपत्र अवस्थामा रहेको उनीहरुलाई भेटेपछि वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सहयोगमा हवाई टिकट किनेर स्वदेश फर्काइएको हो ।

मन्त्री बोहराले शिविरका प्रमुखलाई त्यहाँ रहेका नेपालीलाई छिटो घर फिर्तिका लागि सहयोग गर्न समेत आग्रह गर्नुभएको थियो ।

भ्रमणको क्रममा उहाँले मलेसियास्थित व्यापारीलाई नेपालमा लगानी गर्न आग्रह गर्नुभयो ।

सरकारी र गैरसरकारी सङ्घ सङ्स्थाको सहयोगमा निःशुल्क टिकटको व्यवस्था गरी हालसम्म ५९६ जना नेपालीलाई स्वदेश फर्काइएको दूतावासले जनाएको छ । रासस

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF