तामाकोसी ३ को अध्यययनका लागि भवन भट्टको आवेदन

 आवाज संवाददाता     २५ आश्विन २०७४, बुधबार

गैरआवासीय नेपाली संघ (एनआरएन) अध्यक्षका दाबेदार भवन भट्टले ६ सय ५० मेगावाटको तामाकोसी–३ जलविद्युत आयोजना अध्ययन गर्न आवेदन दिएका छन् । अध्ययन अनुमतिपत्र लिन उनले टिबिआई होल्डिङ कम्पनी लिमिटेडका नाममा आवेदन दिएका हुन् ।

उक्त कम्पनीको नामबाट मंगलबार विद्युत विकास विभागमा आयोजनाको अध्ययन अनुमतिपत्र लिन आवेदन दिइएको छ । भर्खर अावेदन परेकाले यसबारे अध्ययन गरेपछि निर्णय गर्ने विभागले निर्णय गर्ने जनाइएको छ ।

भट्टले आगामी असोज ३० मा हुने एनआरएनको निर्वाचनमा अध्यक्षमा उमेदवारी दिएका छन् । उनी कारोबार दैनिकका मालिकसमेत हुन् । उनी तथा टिबिआई समूहले पर्यटन, होटल तथा रिसोर्ट, शिक्षालगायत क्षेत्रमा लगानी गरेको छ ।

पुर्ख्याैली घर गाेरखा भएका भट्ट लामाे समयदेखि जापानमा अाप्रवासी नेपालीका रूपमा स्थायी बसाेबास गर्दै अाएका छन् ।

अायाेजनाकाे हालकाे अवस्था

लगानी बोर्डले वर्षौंसम्म निर्माण प्रक्रिया अघि बढाउन नसकेपछि याे अयाेजना सरकार अफैँले निर्माण गर्ने गरी बास्केटमा राख्ने तयारी भइरहेकाे छ ।

नर्वेको स्याटक्र्याफ्ट नरफन्ड कम्पनी (एसएन पावर) ले आयोजनाबाट हात झिकेपछि निर्माणको मोडल तय गर्न लगानी बोर्डलाई २०७२ माघमा अध्ययन गर्ने जिम्मा दिइएको थियो । मोडालिटीको खाका तयार गरेर बोर्डले २०७३ पुसमा रायका लागि ऊर्जा मन्त्रालय पठाएको थियो ।
तर, बोर्ड अक्षम भइसकेकाले अयाेजनामा मन्त्रालयले कुनै राय दिएकाे छैन । आन्तरिक खपतका लागि सार्वजनिक–निजी–साझेदारी (पिपिपी) वा प्रतिस्पर्धा गराएर आयोजना बनाउन सकिने बोर्डले निष्कर्ष निकालेको थियो ।

५ सय मेगावाटभन्दा ठूला जलविद्युत र १० अर्ब रुपैयाँसम्मका ठूला आयोजना अघि बढाउने गरी २०६८ सालमा बोर्ड गठन भएको थियो । तामाकोसी–३ सहित जलविद्युतसँग जोडिएका आधा दर्जन आयोजना च्यापेर बसेको बोर्डले परिणाम देखिने गरी काम गर्न सकेको छैन ।

बोर्डमा दक्ष जनशक्ति अभाव र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) का कर्मचारी हाबी हुँदै गएपछि आयोजनासँग सम्बन्धित मन्त्रालयले पत्याउन छोडेका छन् । पर्यटन तथा नागरिक उड्डयन र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यसअघि काठमाडौं–तराई दु्रतमार्ग, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बोर्डमा जानबाट रोकेका थिए ।

बिजुली भारत निर्यात गर्ने उद्देश्यले सरकारले सन् २००९ मा एसएन पावरलाई ६ सय मेगावाटका लागि मात्र अध्ययन अनुमतिपत्र दिएको थियो । कम्पनीले वातावरणीय, भौगोलिक र नदीको बहावको अध्ययन गरेर ८ सय ८० मेगावाट क्षमतामा बनाउन सकिने निचोड निकालेको थियो ।

काम अघि बढाउन सरकारले सहयोग नगरेको कारण देखाए पनि भारतीय बजारमा बिजुलीको मूल्य निरन्तर ओरालो लागेकाले नै एसएन पावर आयोजनाबाट बाहिरिएको थियो ।

८ सय ८० मेगावाट क्षमतामा आयोजना बनाउँदा दोलखाको सिँगटी बजारसमेत डुबानमा पर्ने हुँदा स्थानीयले व्यापक विरोध गरेका थिए । त्यसपछि कम्पनीले क्षमता ६ सय ५० मेगावाटमा झारेको थियो । आयोजना नदी प्रवाही भए पनि १५ करोड ७८ लाख मिटर क्युबसम्म पानी सञ्चित हुने जलाशय बन्ने र यसमा करिब डेढ महिनासम्म पानी सञ्चित गर्न सकिने अध्ययनमा उल्लेख छ ।

आयोजनाबाट दोलखाका लादुक, झ्याकु, लामिडाँडा, नाम्दुलगायत १८ गाविस र भिमेश्वर नगरपालिका र रामेछापको फुलाँसी गाविस प्रभावित हुने अध्ययनले देखाएको छ । आयोजनाको जलाशयले ४ सय २४ हेक्टर जमिनमा प्रत्यक्ष असर पार्नेछ । जटिल भौगोलिक क्षेत्र बढी भएकाले आयोजनाको लागत माथिल्लो कर्णाली र अरुण तेस्रोको भन्दा बढी लाग्ने अनुमान छ ।
साभारः ऊर्जा खबर

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।