कृष्णले दिए, अनाथलाई छात्रवृत्ति

 आवाज संवाददाता     २५ आश्विन २०७४, बुधबार

 

दोलखा, २५ असोज

घरको आर्थिक अवस्था कमजोर हुँदा आफूले बीचमै आफ्नो पढाइ छाडेर हिडेका कुलप्रसाद शिवाकोटी (कृष्ण) गाउँ फर्केर अनाथ बालबालिकालाई छात्रवृत्ति वितरण गरे । आफूले जस्तै आर्थिक अभावमै कसैले पनि पढाइ नरोकियोस् भनेर उनले भूकम्पमा अभिभावक गुमाएका बच्चाहरुलाई पढाइमा अघिल्लो वर्षदेखि सुरु गरेको छात्रवृद्धि यस वर्ष पनि वितरण गरे ।
गत वर्ष भूकम्पबाट अनाथ बनेका १४ जनालाई छात्रवृद्धि वितरण गरे तापनि यस वर्ष घटेर ७ जना मात्र छात्रवृत्ति बुझ्न आउँदा कृष्णले दुःखेसो पोखे । ‘पोहोर १४ जनालाई सहयोग गरेको थिएँ’ उनले भने ‘यस वर्ष २० जनालाई सहयोग गर्न पाए हुन्थ्यो भनेको झन् पो घटेछन् ।’
आर्थिक अभाव, स्टेशनरी, विद्यालय पोशाककै अभावमा कोही पनि बालबालिका पढाइबाट वञ्चित हुन नपरोस् भनेर आफूले छात्रवृत्ति वितरण सुरु गरेको बताए । दोलखामा २०७२ बैशाखको भूकम्पबाट १४ जना बालबालिकाले अभिभावक गुमाएको तथ्याङ्कका आधारमा उनले सहयोग गरेका हुन् । उनले प्रतिविद्यार्थी १० हजारका दरले सहयोग गरेका हुन् ।
माध्यमिक तहसम्म अध्ययन पूरा नहुञ्जेल आफूले निरन्तर बालबालिकाहरुलाई सहयोग गर्ने उनले बचत दिएका छन् । गत वर्ष सहयोग पाएका मध्ये एक जना माध्यमिक तह पूरा गरेका र ४ जना थामी बालबालिकाले विद्यालय नै छाडेकाले छात्रवृत्ति लिन आउन नसकेको हुराडेक नेपालका ध्रुव आचार्यले बताए । बीचैमा पढाइ छाडेकाहरुलाई पनि निरन्तरता गराउन सहयोग गर्न कृष्णले आग्रह गरे ।
‘पालन पोषण गर्न नै समस्या भए पनि भन्नुस्, म सहयोग गर्छ’ उनले भने ‘तर कसैले पनि बीचैमा पढाई छाड्नु नपरोस् ।’ कृष्ण ११ वर्ष अघि घरको आर्थिक अवस्था कमजोर भएकाले प्रवेशिका परीक्षा दिएर घरको ऋण तिर्न भन्दै भारतको सिक्किमसम्म पुगेका थिए ।
अनेक संघर्षपछि अहिले शिवाकोटी स्वीट्जरल्याण्डमा ३ वर्षदेखि निरन्तर रोजगारी गर्दै छन् भने पोखराको लेकसाइडमा होटल व्यवसाय पनि गर्दै आएका छन् । आफू विदेशमै रोजगारी गर्नु पर्ने भएपछि पोखराको होटल भाइलाई जिम्मा लगाएका छन् । आफूले कमाएको रकम सामाजिक कामका लागि खर्च गर्ने बताए ।
दसैं मनाउन नेपाल आएका बेला उनी छात्रवृद्धि वितरणका लागि उनको गाउँ सुुनखानी आएका हुन् । एक वर्ष अघि पनि गाउँ आएर गरिब भुकम्प पीडितलाई २१ लाख रुपैंया बाँडेर फर्किएका हुन् । १० वर्ष अघि देशमा सत्ता परिवर्तनका लागि जनआन्दोलन चलिरहेको बेला उनी एसएलसी दिएर परिवारले थप पढाउन नसक्ने भएपछि घरबाट खाली खुट्टा निस्किएका थिए ।

उनका दुःखका दिन
उमेरले कृष्ण अहिले २९ वर्ष पुगेका छन् । ११ वर्ष अघिको जीवन र घर छाडेपछिको संघर्षका कथा दर्दनाक छ । घरको खरको छानो त्यसमाथि पनि परिवारको १ लाख ऋणले उनको परिवारलाई पिरोलेपछि एसएलसीपछिको पढाइन छाडेर काठमाडौं पुगे ।
अत्यन्तै निम्न परिवारमा जन्मेका उनी २०६२ सालमा एसएलसी पास गरेपछि बाबुलाई लागेको १ लाख रुपैयाँ ऋण तिर्न घर छोडेको बताउँछन् । घर छाडेपछि उनले माइक्रोबसमा सहचालक, होटलमा किचेन हेल्परको काम गरेर केही समय काठमाडौँमा बिताए ।
काठमाडौंमा सेल्स युरो गार्डमा एक वर्षजति काम गरे । त्यसपछि मम पसलमा काम गरेर ठेलागाढामा मम समेत बेचे । मम बेचेर पनि नपुगेर गाउँको दाईले किनेको गाडीमा सहयोगी बसे । २ वर्ष जति यसरी काठमाडौं बस्दा बोल्न र गाडीको मर्मत गर्न जाने तर घरको ऋण तिर्ने पैसा कमाउन सकेनन् ।
त्यसपछि उनी सिक्किम हानिए । सिक्किममा बस्दा इट्टा बोके र गाडीमा सह चालकको काम पाए । सिक्किम बसाइको १ वर्षमा घरको ऋण त तिरे । तर खरको छानो फेरेर जस्ताको छानो हाल्ने रहरले थप पैसा कमाउन दसैंमा घर नफर्किन धन कमाउनकै लागि बसे ।

ड्रिमलाई भेटेपछि सुदिन सुरु
दसैंको बेला घर नफर्की बस्दा उनले काम गर्ने बस टिकट नकाटेको भन्दै कारबाहीमा प¥यो । ७ दिन रिर्जभमा हिड्नु प¥यो । त्यही क्रममा एकजना स्विस नागरिकसँग भेट भयो । त्यसपछि आफ्नो जीवनमा नयाँ मोड आएको उनी सम्झन्छन् ।
उनको मेहनत देखेर ती स्विस नागरिक, वर्न विश्वविद्यालयका प्राध्यापक डाक्टर जोर्ज भान ड्रिमले आफूले पोखरामा रेष्टुरेण्ट सञ्चालन गर्न लागेको भन्दै उनलाई आफूसँगै पोखरा ल्याए । रेष्टुरेण्टमा कृष्णले किचन हेल्परको रुपमा काम सुरु गरे । मेहेनतसँगै थप तालिम पनि लिंदै गए र पछि रेष्टुरेण्ट मेनेजर नै भए । उनले मलेसिया, थाइल्याण्ड जस्ता देशमा पुगेर कुकको तालिम लिए ।
प्राध्यापक डाक्टर ड्रिमले सुरु गरेको रेष्टुरेण्टमा सहयोगीको रुपमा काम सुरु गरेका कृष्ण अहिले त्यही रेष्टुरेण्टको मालिक भए । पोखरामा अहिले कृष्ण किचेन एण्ड कटेज सञ्चालन गर्दैआएका छन् जुन रेष्टुरेण्टको रेखदेख एउटा भाइले गर्छन् ।
ड्रिमकै सहयोगमा स्विटजरल्याण्डमै नर्सको तालिम लिएर स्विटजरल्याण्डको सिलोहा अस्पतालमा नर्सको पेशासमेत गर्दै आएका छन् । ड्रिम प्रशिक्षणका क्रममै उनले संसार घुमि सके । ड्रिम जुनजुन देश जान्छन् कृष्ण सहयोगीका रुपमा उनकै साथ हुन्छन् । उनलाई अहिले बिदेशको कार्यक्रमको समय तालिका बनाउनमै बढी समय खर्चन्छन् । कृष्णले संसारका २७ देशको भ्रमण गरिसकेका छन् ।
कृष्णले अहिलेसम्म २५ करोडभन्दा बढीको पुँजी जम्मा गरिसकेका छन् । काठमाडौंमा पनि अहिले एउटा घर बनाएका छन् । विगतमा गरिबीकै कारण आफ्नो राम्रो घर समेत बनाउन नसकेको र पढ्न पनि नसकेकाले अहिले विगतमा आफूजस्तै गरिबहरुको सहयोगका लागि आफू गाउँ आएको उनले बताए । आफू जस्तै कापी र कलमकै अभावमा पढाइ छाड्न नपरोस् भनेर विपन्न विद्यार्थीका लागि छात्रवृत्ति सहयोग गर्ने बताए ।
गत बैशाख २९ गते केन्द्रविन्दु परेको सुनखानीका ३८ विपन्न परिवार र छिमेकी सुन्द्रावतीका १७ परिवार गरी जम्मा ५५ परिवारलाई निजी आवास निर्माणका लागि कृष्णले निजी स्रोतबाट २० लाख रुपैयाँ वितरण गरेका हुन् । त्यसैगरी उनले सुनखानीका ९ विद्यालय र सुन्द्रावतीका एक विद्यालय गरी १० विद्यालयका १ सय १५ विद्यार्थीहरुलाई एक हजारका दरले १ लाख १५ हजार रुपैयाँ छात्रवृत्ति बाँडेका छन् ।

 

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।