वैदेशिक रोजगारीको बाध्यता र भोगाइ : एक अध्ययन

 आवाज संवाददाता     १ कार्तिक २०७४, बुधबार

– विक्रम कार्की –

दोलखाको पूर्वी क्षेत्रमा गरिएको एक अध्ययनले खासगरी घरेलु कामदारको रुपमा वैदेशिक रोजगारीमा गएकाहरुको कहाली लाग्दो अवस्था सार्वजनिक भएको छ ।
जब दोलखा जिल्लामा अन्तराष्ट्रिय श्रम संगठनको समन्वय र सहकार्यमा साविकको जिविस र पौरखी नेपालले सचेतीकरण कार्यक्रम सञ्चालन गर्यो तब गुमनामको अवस्थमा रहेका घरेलु कामदारको लागि वैदेशिक रोजगारमा गएका महिलाहरु, पाएको दुःख र वेदनाको कहानी बाहिर देखिन थाले । र सवै सरोकारवाला निकायहरुको चासोको विषय हुन थाल्यो ।
साविकको ११ गाविस र २ नगरपालिकामा मात्र सञ्चालित उक्त कार्यक्रमले केही मात्रामा भए पनि जिल्लाभरि सचेतीकरण गरायो । जिल्ला प्रशासन कार्यालय, दोलखाको तथ्यांक अनुसार गत आर्थिक बर्षमा ४७७६ जनाले पासपोर्टको लागि आवेदन दिएका थिए जसमध्ये १९०० जना महिलाहरु छन् । श्रम तथा रोजगार विभागको तथ्यांक अनुसार वैदेशिक रोजगारको लागि ५५० जनाले श्रम स्वीकृति लिएका छन् । दोलखा जिल्लाको पूर्वी भागको जिरी नगरपालिकास्थित वडा न. २ र ३ (साविकको माली गाविस) पर्यापर्यटन र सांस्कृतिक पर्यटनको लागि महत्वपूर्ण मानिएको उक्त गाउँबाट ८० प्रतिशत घरधुरीबाट वैदेशिक रोजगारमा गएका छन् । उक्त गाउँमा क्षेत्री वाहुन र शेर्पा जातिको बसोवास लगभग वरावरी जस्तो छ ।
जिरीको ल्याण्डस्केपसँग मिल्दोजुल्दो र चेर्दुंगको रेन्जको माली माथिको डांडाको चौरमा चरिरहेका पशु पक्षीको दृश्य लोभलाग्दो छ । पशु पालन र आलु उत्पादनको अनुकुल स्थान भएको उक्त भूगोललाई यलुंग खोलाले दुई भागमा बिभाजन गरेको छ । यस गाउँमा सानै उमेरमा अनमेल विवाह, आर्थिक अभावले श्रीमान श्रीमतीको झगडा र अरुको देखासिकीका कारण प्रायःजसो महिलाहरु वैदेशिक रोजगारको लागि खाडी मुलुकहरुमा गएका छन् । जिल्लाको अन्य गाउँ भन्दा धेरै महिलाहरु वैदेशिक रोजगारमा गएकाले स्थलगत अध्ययन गरी दुःखका कथाव्यथा यसमा उल्लेख गर्ने प्रयास गरिएको छ ।
‘प्रायःजसो शेर्पाहरु अमेरिका. अस्ट्रेलिया र युरोप गएका छन् र धनी पनि छन्’ भन्दै मैले जिरी नगरपालिका वडा न. ३ का अध्यक्ष नोर्बु शेर्पाको वरिपरि बसेका र वैदेशिक रोजगारबाट फर्केर आएका महिलाहरुसँग कुरा सुरु गरेँ । कुरा सुन्ने वित्तिकै वडा न. ३ स्थित माली निवासी फुरोलुभु शेर्पा भन्न थालिन् ‘धनीहरु गए होलान् त्यहाँ, हामी त गरिब, शेर्पा परिवार, विहान वेलुका खान नपुग्ने अनि घर बनाएको दश हजार ऋण पनि तिर्न नसकेर घरेलु कामदारको रुपमा दश बर्षअघि कुबेत गएँ । पहिला पठाउने मान्छेले महिनाको पन्ध्र हजार दिन्छ भन्यो तर पछि दश हजार मात्र दियो ।’
उनले थपिन्, ‘मालिकको घरमा दुई वर्ष काम गरेर घर खर्च र लागेको ऋण तिरेँ, फर्कँदा जम्मा ३० हजार मात्र लिएर आएको थिएँ । हाल एकल महिलाको भत्ताले जीवन गुजारेको छु ।’
पुःन विदेश जान मन लाग्दैन? भन्ने प्रश्नमा उनले भनिन् ‘बुढाको मृत्युपछि जान मन लागेको छैन, २४ बर्षकी छोरी एसएलसी पास गरेर धेरै गर्मी हुने दुबई गएकी छे । दिनमा १५ घन्टा काम गर्नुपर्छ, निदाउँन पाइँदैन आमा भनेर फोन गर्छे पिर लाग्छ । के गर्नु ! हामी गरिबको दुःख त पैत्रिक सम्पति नै भइसक्यो ।’
जिरी ३ कै २७ बर्षीय ङाटी शेर्पाको भनाइ पनि उस्तै छ – ‘म ३ महिना दुबई र ७ महिना कुबेत बसेर आएँ । जम्मा एक लाख पचास हजार कमाएछु । सुरुको ३ महिना त बिरामी भएँ । बिदेशमा काम गर्दा विहान ७ बजेदेखि बेलुका १२ बजेसम्म खट्नुपर्ने रहेछ, आफ्नो मान्छे भेट्न पनि नपाउने ।’ सामाजिक परिचालक सिलु खत्रीतिर हेर्दै उनले भनिन् ‘अहिले उहाँहरुले सञ्चालन गरेको तालिममा कहिलेकाँही आफ्नो अनुभव बताउँछु ।’
जिरी २ की डोल्मा शेर्पाको भोगाइ अलि फरक छ, बुबा आमाले १५ बर्षको उमेरमा १२ बर्षको केटोसँग बिबाह गरिदिए र घर बस्न मन लागेन । उनी इजराएल गइन्, ७ बर्ष इजराइलमा कियर टेकरमा काम गरिन् । उनले भनिन्, ‘पैसा राम्रै कमाएर काठमाडौँमा जग्गा किनेको छु । बुढोसँग छुट्टिएर अहिले आमाको घरमै बसेको छु र बुढो पनि साउदी अरब गएको छ भन्ने सुनेको छु ।’
जिरी २ कै नरमाया बिक धेरै दिदीबहिनी र गरिबीको कारण घरेलु कामदारको लागि कुबेत गएकी रहिछन् । पैतालिस हजार खर्च गरेर कुबेतमा चार बर्ष बसेर कमाएको रकम घर खर्चबाट बचाएर ऋणमा लगाएकी रहिछन् । पौरखी नेपालले सञ्चालन गरेको कुखुरा पालन तालिम लिएकी उनलाई अब गाउँमै बसेर केही आय आर्जन गर्न मन लागेको छ ।
जिरी २ कै पासाङजामु शेर्पा १७ बर्षको उमेरमा कुबेत पुगेकी हुन् । कुबेतमा साँढे चार बर्ष बुढाबुढीको स्याहार गरेर बसिन् र कमाएर ल्याएको पैसाले लिंकन बजारमा होटेल खोलेर बसेकी छन् । उनले पनि पतिलाई दुबई पठाएकी छिन् । कहिलेकाँही पौरखीले सञ्चालन गरेको अभिमुखीकरण कार्यक्रममा सहभागीहरुसँग आफ्नो अनुभव बताउने गर्छिन् ।
बुबा साउदी अरब भएकोले जिरी २ की फुलमाया तामाङलाई १९ बर्षको उमेरमा विदेश जान मन लाग्यो र ३० हजार खर्च गरेर घरेलु कामदारको रुपमा लेबनान गइन् । सुरुमा भाषाको समस्या भयो । मासिक पन्ध्र हजारमा चार बर्ष लेबनानमा काम गरेर स्वदेश आएकी फूलमाया पुन घरेलु कामदारको रुपमा चाहिँ जान चाहन्नन् किनकि कुनै घरमा मालिक मालिक्नीको पशुको व्यबहार गरेको सुनेकी रहिछिन् साथीहरुबाट ।
बैदेशिक रोजगारमा अभ्यस्त भइसकेका माली गाउँका सवैको साझा बोली छ – ‘कत्ति साथीहरु घरको ऋण र विदेशको दुःखले पागल जस्तो भइ सडकमा भौतारिन्छन् भन्ने पनि सुनिन्छ । हामी गरिब दुःखी भएर नै विदेश गएका हौँ, तर जहाँ गए पनि हाम्रो दुःख पैत्रिक सम्पति नै रहेछ । तालिम लिएर, भाषा सिकेर र सवै कुरा बुझेर गएदेखि अलि सहज हुने रहेछ ।’

किन जान चाहन्छन् बैदेशिक रोजगारमा ? तत्काल के असर देखिएको छ ?

जिरी नगरपालिका वडा न ३ क वडा अध्यक्ष नोर्बु शेर्पा र सामाजिक परिचालक सिलु खत्रीको भनाइमा विदेश गएका कुल घरधुरीमध्ये दश प्रतिशत जापान, कोरिया लगायत विकसित मुलुकहरुमा र बाँकी नब्बे प्रतिशत खाडी मुलुकतिर गएका छन् । दश बर्षअघिसम्म यहाँ अनमेल विवाह चलिरहेको थियो । समाज वरिपरिका विदेश गएको देखेर, रोजगारी नपाएर र केही गर्नुपर्दछ भन्ने भावनाले बृद्ध बाआमा, छोराछोरी र श्रीमान्श्रीमती छोडेर वैदेशिक रोजगारमा हानिएका छन् यस गाउँका श्रमशक्ति । वैदेशिक रोजगारको लागि विदेशिनुको मुख्य कारण समाज वरिपरिको देखासिकी, वेरोजगारी, गरिबी र घरेलु हिंसा रहेको देखिन्छ ।
तत्कालीन असरको बारेमा वडा अध्यक्ष नोर्बु शेर्पा वताउँछन् .‘वैदेशिक रोजगारले गाउँलेको जीवनमा केही गतिशीलता ल्याएको छ । शिक्षा, स्वास्थ्य जस्ता सामाजिक विकासमा योगदान दिएको छ तर श्रीमान् विदेश जाने वित्तिकै श्रीमतीहरु तत्काल नजिकको लिंकन बजार, चरिकोट र काठमाडौँसम्म पनि स्थानान्तरण भइहाल्छन् र शहरमुखी भएर गाउँ नै सुनसान पार्छन् । श्रीमतीले विदेशबाट पठाएको पैसालाई पनि श्रीमान्ले सदुपयोग गर्दैनन् । समाजमा केही विकृति र विसंगति पनि भित्रिएको देखिन्छ ।’ उनले सामाजिक परिचालक सिलु खत्रीतर्फ हेरेर हाँस्दै भने – ‘बहिनीहरुले पहिला गरेको अभिमुखीकरण कार्यक्रमले सुरक्षित् वैदेशिक रोजगारलाई टेवा पु¥याएकै छ, अव त श्रीमान र श्रीमती जो गाउँमा बसे पनि तत्काल मनोपरामर्स सम्बन्धी तालिम पनि दिनुपर्छ होला ।’
जिरी नगरपालिकाको नीति निर्माण र योजना तर्जुमामा नेतृत्वदायी भूमिका खेल्नु भएकी उपमेयर कृष्णकुमारी बुढाथोकीको भनाइ अनुसार यी समस्याहरुलाई मध्यनजर गर्दै जिरी नगरपालिकाले महिलाहरुको आयआर्जनको लागि समुह बनाएर प्रतिवडामा कृषिको लागि दश लाख र पशु पालनको लागि पाँच लाख बीउ पुँजीको रुपमा विनियोजन गरी कार्यक्रम आगाडि बढाइएको छ ।

स्थानीय सरकार र अन्य सरोकारवालाको भूमिका

नेपालको संबिधान २०७२ को अनुसूची ८ मा स्थानीय तहको अधिकारको २२ वटा सूची उल्लेख गरिएको छ । संवैधानिक अधिकार अन्तर्गत नेपाल सरकारले स्थानीय सरकार सञ्चालन ऐन २०७४, संसदबाट पास गराइसकेको छ । उक्त ऐनमा गाउँरनगर पालिकाले गर्नुपर्ने काम कर्तव्यमा वालविवाह, महिला बिरुद्धको हिंसा, मानब बेचबिखन सामाजिक कुरीति अन्त्य गर्ने गराउने र रोजगार तथा बेरोजगारको तथ्यांक संकलन, प्रसोधन र सूचना प्रणालीको स्थापना गर्नुपर्ने उल्लेख गरिएको छ । साथै स्थानीय सरकारले आवश्यकता अनुसार आफ्नो कानुन निर्माण गरी विकास र सेवाप्रवाह अगाडि बढाउन सक्ने संबैधानिक व्यवस्था भएकोले कानुन, ऐन र नीति निर्माण बनाई श्रमिक बेचबिखन नियन्त्रण, सचेतीकरण कार्यक्रम, सकारात्मक सोच सहितको मनोपरामर्स, आय आर्जन मार्फत रोजगारी सिर्जना मार्फत दिगो विकास लक्ष्य हासिल गरी समृद्ध पालिका बनाउन जरुरी देखिन्छ । अन्य सरकारी तथा गैरसरकारी निकायहरुले पनि सवै सरोकारवालाहरुको समन्वय र सहकार्यमा अभिमुखीकरण तथा आय आर्जनको कार्यक्रम सँगसँगै सञ्चालन गर्दा गरिबी निवारण र विकासमा टेवा पुग्नेछ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF