दोलखामा १५ दल र स्वतन्त्र गरी ३९ उम्मेद्वार, एमाले नेता केसी मालेमा

 आवाज संवाददाता     ५ कार्तिक २०७४, आईतवार

दोलखा, कात्तिक ५

दोलखामा १५ दल र स्वतन्त्र गरी ३९ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।
नेपाली कांग्रेसले प्रतिनिधिसभामा रुद्रबहादुर खड्का, प्रदेशसभामा दोलखा ‘क’ मा बर्मा लामा र दोलखा ‘ख’ मा केशवराज चौलागाईँको उम्मेद्वारी दर्ता भएको छ । दोलखामा नेपाली कांग्रेसलाई राप्रपाको समेत समर्थन छ । उम्मेद्वारी दर्ताका बेला राप्रपाको समेत उपस्थिति रहेको थियो ।


त्यसैगरी वाम गठबन्धनबाट प्रतिनिधिसभामा एमालेका पार्वत गुरुङ, प्रदेशसभामा दोलखा ‘क’ मा माओवादी केन्द्रका विशाल खड्का र दोलखा ‘ख’ मा एमालेका पोलिटव्यूरो सदस्य पशुपति चौलागाईँले उम्मेद्वारी दर्ता गराएका छन् । उम्मेद्वारी दर्ताका लागि एमाले र माओवादी केन्द्रको संयुक्त टोली मुख्य निर्वाचन कार्यालय पुगेको थियो ।

नेकपा एमालेबाट प्रदेशसभाको टिकट नपाएपछि एमालेका प्रभावशाली नेता लालकुमार केसीले नेकपा मालेबाट दोलखा ‘ख’ मा उम्मेद्वारी दिएका छन् । एमालेबाट दोलखा ‘ख’ मा उनको उम्मेद्वारीको चर्चा भए पनि केसी अन्तिम अवस्थामा टिकट पाउनबाट बञ्चित भएका थिए । संविधानसभा निर्वाचनमा समेत मुख्य दावेदार रहेका केसी अन्तिम अवस्थामा टिकटबाट बञ्चित भएका थिए । नेकपा मालेबाट प्रतिनिधिसभामा गोविन्द विक र दोलखा ‘क’ बाट शिवप्रसाद शिवाकोटीले उम्मेद्वारी दिएका छन् ।
त्यसैगरी संघीय समाजवादी फोरमबाट प्रतिनिधिसभामा लक्ष्मण गुभाजुले उम्मेद्वारी दिएका छन् भने प्रदेशसभामा दोलखा ‘क’ बाट दावाछिरी शेर्पा र दोलखा ‘ख’ बाट टहलबहादुर थामीले उम्मेद्वारी दिएका छन् ।
त्यस्तै नयाँशक्ति पार्टीले प्रतिनिधिसभाका लागि मात्रै उम्मेद्वारी दर्ता गराएको छ । सो पार्टीले बैकुण्ठ भण्डारीलाई प्रतिनिधिसभामा उम्मेद्वार बनाएको हो ।
देशभक्त गणतान्त्रिक मोर्चाले पनि दोलखामा उम्मेद्वारी दर्ता गरेको छ । प्रतिनिधिसभाका लागि गोविन्द काफ्ले, प्रदेशसभामा दोलखा ‘क’ बाट पूर्णबहादुर खड्का र ‘ख’ बाट छत्रबहादुर कार्कीले उम्मेद्वारी दिएका छन् ।
दोलखामा विवेकशील साझा पार्टीले समेत उम्मेद्वारी दिएका छ । सो पार्टीका विजयबाबु शिवाकोटीले प्रतिनिधिसभा सदस्यका लागि उम्मेद्वारी दिएका हुन् ।
त्यसैगरी लिबरल डेमोक्रेटिक पार्टीले पनि उम्मेद्वारी दिएको छ । सो पार्टीले प्रतिनिधिसभामा चित्रबहादुर तामाङ, दोलखा ‘क’ मा सरोज तामाङ उम्मेद्वारी दिएका छन् ।
त्यस्तै प्रतिनिधिसभामा नेमकिपाका कृष्णप्रसाद शिवाकोटी, नेकपा माक्र्सवादीका बलबहादुर दर्जी, मंगोल नेशनल अर्गनाइजेशनका ठाकुरमान थामी, राष्ट्रिय जनमुक्ति पार्टीका काजिमान मोक्तानले उम्मेद्वारी दिएका छन् । त्यस्तै सुब्बा श्रेष्ठ, नेत्रबहादुर केसी, चटकबहादुर गुरुङ (उमेश गुरुङ), मिङ्गुर शेर्पाले स्वतन्त्र उम्मेद्वारी दिएका छन् ।
प्रदेशसभाको दोलखा ‘क’ मा मंगोल नेशनल अर्गनाइजेशनका लोकबहादुृर गुरुङ, स्वतन्त्र उम्मेद्वारहरु बृहस्पति गोले, सुरेश उप्रेती, लीला शिवाकोटी, राजेश श्रेष्ठ, पुष्कर अधिकारीले पनि उम्मेद्वारी दर्ता गराएका छन् ।
प्रदेशसभाको दोलखा ख मा मंगोल नेशनल अर्गनाइजेशनका साङ्ठिलेन शेर्पा, तामाङसालिङ लोकतान्त्रिक पार्टी लालध्वज तामाङ, जनसमाजवादी पार्टी लछुमन विश्वकर्मा, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) महेन्द्र कुमार श्रेष्ठ र स्वतन्त्र उम्मेद्वारहरु रुद्रप्रसाद पोखरेल, हिराप्रसाद चौलागाई, बुद्धिमान शेर्पाले पनि उम्मेद्वारी दर्ता गराएका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।