किन छाडे लालकुमारले एमाले ?

 आवाज संवाददाता     ६ कार्तिक २०७४, सोमबार

‘मैले जन्मभूमि उज्यालो बनाउन रगत पसिना बगाएको छु’ केसीले भने ‘तर मेरो पार्टीले मलाई न्याय गरेन, त्यसैले जनतासँग न्याय माग्न कम्युनिष्ट पार्टीबाटै उम्मेद्वार बनेको हुँ ।’ उनको उम्मेद्वारीले प्रत्यक्ष रुपमा एमालेबाट प्रदेश उम्मेद्वार बनेका पशुपति चौलागाईलाई असर गर्ने भएपछि एमालेका स्थानीय र केन्द्रीय तहदेखि नै उनको उम्मेद्वारी फिर्ता गर्न दबाब परिरहेको छ । तर केसीले भने ‘आफ्नो उम्मेद्वारी फिर्ताका लागि नदिएको’ भन्दै उम्मेद्वारी कायमै राख्ने प्रष्ट पारे ।

दोलखा, ६ कार्तिक
दोलखा ‘ख’ मा प्रदेशसभा सदस्यका आकांक्षी एवं एमालेका पुराना नेता लालकुमार केसीले नेकपा मालेबाट उम्मेद्वारी दिएका छन् । एमालेबाट टिकट नपाएपछि केसीले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय गई नेकपा मालेको तर्फबाट उम्मेद्वारी दर्ता गराएका हुन् ।
नेकपा एमालेका तर्फबाट २०५४ का जिविस सभापति केसी दोलखा एमाले र जिल्लाको कम्युनिष्ट आन्दोलनका पुराना नेता मानिन्छन् । २०२६ सालदेखि कम्युनिष्ट पार्टीमा सदस्य रहेका केसी पञ्चायतकालदेखि नै कम्युनिष्ट राजनीतिमा सक्रिय थिए । २०३६ सालमा ताहचल क्याम्पसको स्ववियु सभापति रहेका उनी २०४२ मा जेल बसेरै जनपक्षीय उम्मेद्वारको हैसियतले प्रधानपञ्चमा उम्मेद्वारी दिएका थिए ।
बहुदल लगतै राजनीतिक दल खुल्ला भएयता तत्कालीन नेकपा माले दोलखाको पहिलो जिल्ला पार्टी प्रमुख (सचिव) रहेका केसी २०५४ मा जिविस सभापति बनेका थिए । २०६४ र २०७० मा सांसदमा आकांक्ष राखे पनि उनले एमालेबाट टिकट पाएनन् ।
उम्मेद्वारी दर्ता लगतै उनले एमालेभित्र अवसर खोस्ने र खुट्टा तान्ने प्रवृत्तिका कारण आफूले मालेबाट उम्मेद्वारी दिएको बताए । ‘एमालेमा निकै पसिना भिजाएँ, उनले भने – ‘तर खुट्टा तान्ने प्रवृत्तिले त्यहाँ बस्न नसकेकै कारण मालेबाट उम्मेद्वारी दिएको हुँ ।’ उनले जिविस सभापति हुँदा दोलखामा विकासको ढोका खोलेर आफूले एमालेको इज्जत जोगाए पनि आफूमाथी अन्तर्घात गरेको दाबी गरे ।
लालकुमार केसीले २०६४ र २०७० को संविधान सभा निर्वाचनमा पनि दोलखा क्षेत्र नं. २ मा दाबी गरेका थिए । २०७० मा त उनको पक्षमा जिल्लाका पदाधिकारी नै केन्द्रसम्म लविङमा पुगेका थिए । अन्तिममा उनको टिकट अर्को चुनावका लागि भन्दै खोसियो । अहिले पनि प्रदेशसभामा दाबी गरेका केसीलाई दिएको पुरानो आश्वासन आश्वासनमा मात्र सीमित भएपछि अन्तमा पार्टी नै त्यागेका हुन् ।
एमाले परित्याग गरी नेकपा मालेबाट उम्मेद्वार बने । ‘मैले जन्मभूमि उज्यालो बनाउन रगत पसिना बगाएको छु’ केसीले भने ‘तर मेरो पार्टीले मलाई न्याय गरेन, त्यसैले जनतासँग न्याय माग्न कम्युनिष्ट पार्टीबाटै उम्मेद्वार बनेको हुँ ।’ उनको उम्मेद्वारीले प्रत्यक्ष रुपमा एमालेबाट प्रदेश उम्मेद्वार बनेका पशुपति चौलागाईलाई असर गर्ने भएपछि एमालेका स्थानीय र केन्द्रीय तहदेखि नै उनको उम्मेद्वारी फिर्ता गर्न दबाब परिरहेको छ । तर केसीले भने ‘आफ्नो उम्मेद्वारी फिर्ताका लागि नदिएको’ भन्दै उम्मेद्वारी कायमै राख्ने प्रष्ट पारे ।
केसी एमालेका केन्द्रीय अनुशासन आयोगका सदस्य समेत बने । जिविस सभापति हुँदा उनले बनाएको योजना अनुसार नै अहिले जिल्लाको विकासले गति लिइरहेको छ । त्यसैको कारण पनि एमालेको संगठन दोलखामा राम्रो रहेको छ ।

२०५४ सालमा केसी सभापति हुँदा पार्वत गुरुङ इलाका नं. १ बाट जिविसमा क्षेत्रीय सदस्य थिए । गुरुङले २०७० मा निर्वाचनमा दोलखा १ बाट टिकट पाएर सभासद भए । उनैले पुनः २०७४ सालमा प्रतिनिधि सभा सदस्यमा टिकट पाएका बेला केसीले प्रदेश सभामा मात्रै दाबी गर्दा पनि पार्टीबाट टिकट पाउन नसकेपछि रुष्ट बनेका हुन् ।

त्यसो त एमाले छाड्ने नेताहरुमा केसी पहिलो नेता भने होइनन् । विगतमा एमालेमा बसेर पार्टीको महत्वपूर्ण जिम्मेवारी सम्हालेका र सांसद् भएकाहरुले पनि एमाले परित्याग गरिसकेका छन् । एमालेबाट उम्मेद्वार बनी सांसद भएकाहरुमा इन्द्रबहादुर खड्का, जितवीर लामा, वाङ्छे शेर्पा एमाले परित्याग गर्ने नेताहरुमा पर्छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF