आसन्न निर्वाचनमा यस्ता छन् दोलखाका उम्मेद्वारहरु !

 आवाज संवाददाता     ६ कार्तिक २०७४, सोमबार

दोलखा, ६ कार्तिक
निर्वाचन आयोगको कार्यतालिका अनुसार पहिलो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेद्वारी दर्ता सकिएको छ । दोलखामा १६ राजनैतिक दल र स्वतन्त्र सहित ४० जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।
दोलखामा प्रतिनिधिसभामा १ र प्रदेशसभामा २ वटा क्षेत्र रहेको छ । दोलखामा यति धेरैले उम्मेद्वारी दर्ता गराए तापनि मुख्य गरी बाम गठबन्धन र नेपाली कांग्रेसबिच प्रतिस्पर्धा हुने देखिन्छ । प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेद्वारी दिएकामध्ये मुख्य दलका उम्मेद्वारहरुको बारेमा यहाँ चर्चा गरिएको छ ।

रुद्रबहादुर खड्का, नेपाली कांग्रेस

रुद्रबहादुर खड्का नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभाका लागि दोलखाबाट उम्मेद्वार बनेका छन् । बहुदलीय व्यवस्थापछिको २०४९ मा भएको पहिलो स्थानीय निर्वाचनमा नेकपा एमालेका आनन्दप्रसाद पोखरेललाई पछि पार्दै जिविस दोलखाको सभापति भएका थिए ।
विद्यार्थी जीवनमा जिरी माविमा पढ्दै गर्दा नेविसंघबाट राजनीति सुरु गरेका खड्का बहुदलका लागि २०४६ को आन्दोलनमा सक्रिय भूमिका खेलेका थिए । ३२ वर्षको उमेरमा जिविस सभापति बनेका खड्काकै पालादेखि दोलखाको विकासले गति लिएको हो । दोलखा–सिंगटी सडक, सिद्धाकोथान–जुँगू सडक, खावा–छौडे सडक उनकै पालामा सुरु भएको हो । जिल्लालाई रिङ रोड बनाएर सडक सञ्जाल विस्तार गर्ने उनकै कार्यकालको परिकल्पना हो ।
दोलखाको झ्याँकुमा जन्मेका खड्का एक वर्ष अघिदेखि नेपाली कांग्रेस दोलखाको सभापति छन् । उनी पहिलो पटक संसदीय राजनीतिको प्रतिस्पर्धा गर्दै छन् । नम्र स्वभावका खड्का दोलखाको दुर्गम गाउँ लप्ची र ना, बेदिङसम्म पुगी स्थानीयसँग बसेर त्यहाँको विकासको योजनाको बारेमा भलाकुसारी गरेका छन् ।

पार्वत गुरुङ, नेकपा एमाले

पार्वत गुरुङ वाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभामा दोलखाबाट उम्मेद्वार बनेका छन् । एमालेका ५ जना प्रतिस्पर्धीमध्ये उम्मेद्वारी दर्ता हुनु केही समयअघि मात्र टिकट लिन सफल उम्मेद्वार हुन् उनी ।

सुरी स्थायी घर भएका गुरुङ २०५४ सालमा क्षेत्रीय सदस्य भएका थिए । विद्यार्थी कालदेखि नै राजनीतिमा संलग्न गुरुङ पार्टीमा जिल्ला कमिटी सदस्य हुँदै २०६६ मा भएको पार्टीको निर्वाचनमा ईश्वरचन्द्र पोखरेल र भरत केसीलाई पछि पार्दै पार्टीको जिल्ला अध्यक्ष भए ।

पार्टी अध्यक्षपछि २०७० मा भएको निर्वाचनमा दोलखा क्षेत्र नं. १ बाट संविधानसभा सदस्य भएका गुरुङ अहिले पुनः प्रतिनिधिसभा सदस्यका उम्मेद्वार बन्न सफल भएका छन् । गुरुङ अहिले नेकपा एमालेको केन्द्रीय सदस्य र जिल्ला इन्चार्ज समेत छन् ।

बर्मा लामा, नेपाली कांग्रेस

बर्मा लामा प्रदेशसभामा नेपाली कांग्रेसको तर्फबाट दोलखा ‘क’ बाट उम्मेद्वार बनेका छन् । डाँडाखर्क स्थायी घर भएका लामा गत बैशाखमा भएको स्थानीय निर्वाचनमा मेलुङ गाउँपालिकाको अध्यक्षमा थोरै मतान्तरले पराजित भएका थिए ।

स्थानीय तहको निर्वाचनमा उम्मेद्वार बनेकाहरुलाई टिकट नदिने कांग्रेसको नीति भए तापनि लामा अपवादमा टिकट पाउने भाग्यमानी नेता हुन् ।

नेविसंघ दोलखाका संस्थापक अध्यक्ष भएका लामा अहिले पार्टीको महासमिति सदस्य समेत छन् । नेपाली कांग्रेसका नेता भीमबहादुर तमाङले चुनावमा उठ्दै आएको दोलखा क्षेत्र नं. १ मा २०७० को संविधानसभा निर्वाचनमा पूर्व केन्द्रीय सदस्य जीपछिरिङ लामा उम्मेद्वार बनेका थिए । त्यसपछि यो क्षेत्रमा वर्मा लामा उम्मेद्वार बन्न सफल भएका हुन् ।

केशवराज चौलागाई, नेपाली कांग्रेस

केशवराज चौलागाई प्रदेशसभामा नेपाली कांग्रेसको तर्फबाट दोलखा ‘ख’ बाट उम्मेद्वार बन्न सफल नेता हुन् । लगातार ३ पटक ताराबहादुर कोइराला यही क्षेत्रबाट कांग्रेसबाट उम्मेद्वार बनेका थिए ।

विद्यार्थी राजनीतिबाट कांग्रेस राजनीति सुरु गरेका चौलागाईले केही वर्ष शिक्षण समेत गरेका थिए । हिन्दु धार्मिक अभियान, रेडियोकर्मी र गीत संगीतमा रुची राख्ने चौलागाई कांग्रेसभित्रका प्रखर वक्ताका रुपमा चिनिन्छन् ।

भीमेश्वर नगरपालिका ४ जिलू स्थायी घर भएका चौलागाई नेपाली कांग्रेस दोलखाको ३ पटक सचिव र अहिले पनि महासमिति सदस्य हुन् । दोलखा २ मा ठूला पार्टीले क्षेत्र नं. १ बाट नेता ल्याएर उम्मेद्वार बनाउनुपर्ने विगतको परम्परालाई यसपाली कांग्रेसले तोडेर आफूलाई उम्मेद्वार बनाएको उनले बताए ।

पशुपति चौलागाई, नेकपा एमाले

दोलखाको काब्रे स्थायी घर भएका पशुपति चौलागाई नेकपा एमालेका पोलिट्व्यूरो सदस्य हुन् । उनी २०५६ र २०६४ मा दोलखा क्षेत्र नं. १ बाट चुनावी प्रतिस्पर्धा गरेर २०५६ मा विजयी र २०६४ मा पराजित भएका थिए ।

२०७० मा संविधान सभामा समानुपातिकबाट सभासद् भएका उनी यसपटक दोलखा ‘ख’ बाट प्रदेशसभामा उम्मेद्वार भएका हुन् ।
विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक अभियान सुरु गरेका चौलागाईले केही वर्ष शिक्षण समेत गरे । पार्टी राजनीतिमा तत्कालीन प्ररायु संघ (हाल युवा संघ) का केन्द्रीय अध्यक्ष समेत भएका चौलागाई पार्टीमा वागमती अध्यक्ष इञ्चार्ज समेत भएका थिए ।

मंसिर १० गते हुने निर्वाचनमा प्रतिनिधिसभाका लागि आफ्नो दाबी प्रस्तुत गरे तापनि आन्तरिक रुपमा मिलाउँदा अन्ततः प्रदेश नं. ३ को भावी मुख्यमन्त्री पाउने आश्वासनमा प्रदेश सभामा दोलखा ‘ख’ बाट उम्मेद्वार बनेका छन् ।

विशाख खड्का, नेकपा (माओवादी केन्द्र)

विशाल खड्का यसपालिको निर्वाचनमा प्रत्यक्ष तर्फबाट टिकट पाउने नेकपा माओवादी केन्द्र दोलखाका एक मात्र नेता हुन् । नेकपा माओवादीका संस्थापक नेता रितबहादुर खड्का र पूर्व राज्यमन्त्री देवी खड्का भाइ विशाल वाम गठबन्धनका तर्फबाट दोलखा ‘क’ बाट उम्मेद्वार बनेका छन् ।

२०५२ सालमै माओवादी गतिविधिमा लागेका खड्का २०५४ सालदेखि भूमिगत भएका थिए । भूमिगत कालमै ओखलढुङ्गामा प्रहरीबाट पक्राउ परेपछि ८ वर्ष जेल जीवन बिताएका थिए । जेलबाट छुटेसँगै भूमिगत कालमा एरिया सेक्रेटरी, क्षेत्रीय इन्चार्ज, हुँदै जिल्ला पार्टी अध्यक्ष र हाल दोलखाको पार्टी सह–इन्चार्ज छन् ।

खड्का २०७० सालको संविधान सभा निर्वाचनमा उम्मेद्वार बनेका थिए । प्रखर र निडर नेताको रुपमा चिनिने खड्का जुँगूका स्थायी बासिन्दा हुन् ।

लालकुमार केसी, नेकपा माले

एमालेका पुराना नेता लालकुमार केसीले दोलखा ‘ख’ मा प्रदेशसभा सदस्यका लागि नेकपा मालेबाट उम्मेद्वारी दिएका छन् । एमालेबाट टिकट नपाएपछि केसीले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय गई नेकपा मालेको तर्फबाट उम्मेद्वारी दर्ता गराएका हुन् ।
नेकपा एमालेका तर्फबाट २०५४ का जिविस सभापति केसी दोलखा एमाले र जिल्लाको कम्युनिष्ट आन्दोलनका पुराना नेता मानिन्छन् । २०२६ सालदेखि कम्युनिष्ट पार्टीमा सदस्य रहेका केसी पञ्चायतकालदेखि नै कम्युनिष्ट राजनीतिमा सक्रिय थिए । २०३६ सालमा ताहचल क्याम्पसको स्ववियु सभापति रहेका उनी २०४२ मा जेल बसेरै जनपक्षीय उम्मेद्वारको हैसियतले प्रधानपञ्चमा उम्मेद्वारी दिएका थिए ।
बहुदल लगतै राजनीतिक दल खुल्ला भएयता तत्कालीन नेकपा माले दोलखाको पहिलो जिल्ला पार्टी प्रमुख (सचिव) रहेका केसी २०५४ मा जिविस सभापति बनेका थिए । २०६४ र २०७० मा सांसदमा आकांक्ष राखे पनि उनले एमालेबाट टिकट पाएनन् ।
केसीले २०६४ र २०७० को संविधानसभा निर्वाचनमा पनि दावेदार थिए । अहिले पनि प्रदेशसभामा दाबी गरेका केसीलाई एमालेले टिकट नदिएपछि नेकपा मालेबाट प्रदेशसभामा उम्मेद्वारी दिएका हुन् ।

तर यसका अतिरिक्त नेमकिपाका ६९ वर्षीय कृष्णप्रसाद शिवाकोटी पनि प्रतिनिधिसभा सदस्यका उम्मेद्वार बनेका छन् । उनी यसपटकको निर्वाचनका सबैभन्दा ज्येष्ठ उम्मेद्वार हुन् । प्रतिनिधिसभाका लागि संघीय समाजवादी पार्टीका लक्ष्मण गुभाजु र स्वतन्त्र उम्मेद्वार सुव्वा श्रेष्ठ सबैभन्दा कान्छा उम्मेद्वार हुन् । उनीहरु दुबै २९ वर्षका छन् । प्रदेशसभाका उम्मेद्वारमा जनसमाजवादी पार्टीका लछुमन विश्वकर्मा र स्वतन्त्र उम्मेद्वार राजेश श्रेष्ठ सबैभन्दा कान्छा उम्मेद्वार हुन् । उनीहरु दुबै २६ वर्षका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।