चुनावी गतिविधि जिल्ला शुन्य, काठमाडौंमा चहलपहल

 आवाज संवाददाता     ९ कार्तिक २०७४, बिहीबार

दोलखा, ९ कार्तिक
प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो चरणको उम्मेद्वारी लगत्तै दोलखामा चुनावी गतिविधि सुन्य भए पनि काठामाडौंमा चहलपहल बढेको छ । पहिलो चरणको निर्वाचन गर्ने सूचीमा पर्ने ३२ जिल्ला मध्ये दोलखा पनि परे तापनि जिल्लामा अहिले चुनावी गतिविधि सुन्य जस्तै छ । आइतबार उम्मेद्वारी दर्ता लगत्तै उम्मेद्वार सहितका नेताहरु काठमाडौं केन्द्रित भएपछि जिल्लामा गतिविधि नभएको हो ।
दोलखामा मुख्य गरी बाम गठबन्धन र नेपाली काँग्रेस बीच प्रतिस्पर्धा हुने अनुमान छ । तर दुवै दलका नेताहरु जिल्लामा छैनन् । बाम गठबन्धनका नेताहरु आफ्नो आन्तरिक विवाद मिलाउनकै लागि केन्द्रित छन् । बुधबार नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चको आयोजनामा टिकट नपाएर असन्तुष्ट बनेका एमाले नेता बालकृष्ण शिवाकोटीसँग जिल्लाका उम्मेद्वारहरु बीच छलफल गराए । बाम गठबन्धनलाई आफ्नै भित्रका असन्तुष्टहरुकै कारण सजिलै जित्ने निर्वाचन पनि फुत्किने हो कि भन्ने संका छ ।
बाम गठबन्धनकै दुवै दलका दोलखा काठमाडौं सम्पर्क मञ्च आयोजनामा शुक्रबार काठमाडौंमै हुने कार्यक्रममा नेताहरु व्यस्त हुने बताइएको छ । अहिले एमाले र माओवादी केन्द्र दुवैका नेताहरु सोही कार्यक्रमका लागि काठमाडौं केन्द्रित भएका छन् ।
नेकपा एमाले भित्र प्रदेश सभाका लागि दोलखा ख मा लालकुमार केसी र बालकृष्ण शिवाकोटीले दाबी गर्दै आए तापनि उम्मेद्वारी दिनुभन्दा केही समय अघि मात्र केन्द्रबाट पशुपति चौलागाईलाई टिकट दिएको थियो । त्यसबाट असन्तुष्ट बनेपछि लालकुमार केसी नेकपा मालेबाट उम्मेद्वार बनेका छन् ।
नेपाली काँग्रेसका पनि प्रतिनिधि सभा र प्रदेश सभाका तीनै जना उम्मेद्वारहरु सोमबारदेखि नै काठमाडौं छन् । उम्मेद्वारी दर्ता लगत्तै दोलखामा अनौपचारिक पार्टीको बैठकपछि उनीहरु काठमाडौं पुगेका हुन् । विहीबार काठमाडौं काँडाघारी क्षेत्रका दोलखालीहरुले आयोजना गरेको कार्यक्रममा उम्मेद्वारहरु व्यष्त भए । केही दिनदेखि काँग्रेस नेताहरु आन्तरिक भेटघाटमै काठमाडौंमा व्यस्त छन् ।
राजधानीमा विभिन्न पेशा व्यवसाय गरी बस्नेतहरुको जमात दोलखालीहरुको ठूलो रहेकाले दलहरुले तिनीहरुलाई आफ्नो प्रभावमा पार्नका लागि पनि रणनीति स्वरुप सुरुमै काठमाडौं केन्द्रित भएका हुन् । नेपाली काँग्रेस दोलखाका सभापति समेत रहेका प्रतिनिधि सभाका उम्मेद्वार रुद्रबहादुर खड्काले शुक्रबारदेखि जिल्लामै अभियान सुरु हुने बताए । शुक्रबार दिउँसो नै काँग्रेस दोलखाले चुनावी रणनीति बनाउँन भेला राखेको छ ।
वामगठबन्धले पनि जिल्लास्तरको निर्देशनात्मक समिति, चुनाव परिचालन समिति र प्रचार प्रसार समिति गठन गरेको छ । निर्देशात्मक समितिमा दुवै पार्टीका केन्द्रीयस्तरमा प्रतिनित्व गर्ने र जिल्ला प्रमुख समावेश छन् । त्यसैगरी चुनाव परिचालन समिति नेकपा एमालेका अध्यक्ष इश्वरचन्द्र पोखरेलको नेतृत्वमा गठन गरेका छन् । त्यसको सह संयोजक नेकपा माओवादी केन्द्र दोलखाका संयोजक गोपाल पाण्डे छन् । चुनाव प्रचार प्रसारको जिम्मा पनि तिनै नेताहरुलाई दिएको छ ।
बाम गठबन्धनले शनिबार आफ्नो पार्टीको बैठकपछि चरिकोटमा आइतबार संयुक्त सभापछि कार्तिक १४ गतेदेखि स्थानीयस्तरको कार्यक्रम तय गरेको छ । माओवादी केन्द्रका नेता गोपाल पाण्डेले दुवै क्षेत्रको अभियान कार्यक्रम चुनाव परिचालन समितिले तयारी गरिरहेको जानकारी दिए ।
उम्मेद्वारी दर्ताकै दिन एमाले परित्याग गरी नेकपा मालेबाट प्रदेश सभामा दोलखा क्षेत्र नं. ख बाट उम्मेद्वारी दिएका लालकुमार केसी पनि काठमाडौंमै व्यस्त छन् । उनले पनि अब चाँडै आफ्नो क्षेत्रको अभियान सुरु गर्ने बताए । केसी नेकपा एमालेबाट २०५४ मा जिविस सभापछि निर्वाचित हुन् भने दोलखा कम्युनिष्टको संस्थापक हुन् ।
नेताहरु कार्यकर्ता र मतदाता भेटघाट र आर्थिक सहयोग संकलनका लागि पनि राजधानीमा केन्द्रित भएको उनका समर्थकहरुको भनाई छ । दोलखामा बाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभामा नेकपा एमालेका पार्वत गुरुङ, प्रदेश सभा दोलखा क मा नेकपा माओवादीका विशाल खड्का र ख मा नेकपा एमालेका पशुपति चौलागाई रहेका छन् । चौलागाईलाई ३ नं. प्रदेशका भावी मुख्यमन्त्रीको रुपमा पनि प्रचार गरेका छन् ।
त्यसैगरी नेपाली काँग्रेसबाट प्रतिनिधि सभामा पार्टी सभापति रुद्रबहादुर खड्का, प्रदेश सभामा दोलखा क मा वर्मा लामा र ख मा केशवराज चौलागाई उम्मेद्वार बनेका छन् । दोलखा ख मा प्रदेश सभामा नेपाली काँग्रेसले क्षेत्रीय उम्मेद्वारको नारा पनि जोडतोडले उठाएको छ । एमालेले २०५१ सालदेखिका निर्वाचनमा अर्को क्षेत्रका नेतालाई उम्मेद्वार बनाउँदै आएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF