माथिल्लो तामाकोसीकाे पहुँचमार्गमा बुमरबाट सुरूङ निर्माण सुरु

 आवाज संवाददाता     १८ असार २०७३, शनिबार

दोलखा, १८ असार, माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको पहुँचमार्गमा सुरुङ निर्माणको काम सुरु भएको छ । गोगरदेखि लामाबगरसम्मको ११ किलोमिटर सबैभन्दा बढी भुकम्पले क्षति भएको सडकको काब्रे भीरमा ३ सय ६० मिटर सुरुङ अब बुमर मेसिनमार्फत बनाउन सुरु भएको हो ।
बुमरबाट शुक्रबार रातीदेखि काब्रेभीरमा सुरुङमार्ग निर्माणको काम सुरु गरेको हो । सुरुङ निर्माणका लागि बाहिरी तयारी पूरा भएको छ । बुमरबाट सुरुङ निर्माण भएकाले चाँडै पूरा हुने आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले बताए ।
“बुमरले सुरुङ खन्ने पहाडको चट्टान आफैं खोप्ने र चट्टान निकाल्ने काम गर्छ” प्रवक्ता न्यौपानेले भने “उपकरण मार्फत सुरुङ निर्माण गर्दा काम छिटो छरितो हुन्छ ।” आयोजनाको १६ किलोमिटर बढी सुरुङ पाखुराकै बलमा निर्माण भएको हो । बुमर आयोजनाको सिभिल निर्माण कम्पनी सिनो हाइड्रोले ल्याएको हो ।
बुमर २ हप्ता अघि नै आयोजनास्थल ल्याएको भएतापनि ३३ केभी प्रसारण लाइनको काम नसकिएकाले काम रोकिएको थियो । बुमरबाट ३ महिनामा सुरुङ निर्माण सकिने उनले बताए । चाँडै भैंसे खोलातिरबाट पनि सुरुङमार्ग निर्माण सुरु हुने उनले जानकारी दिए ।
भुकम्पले ठूलो क्षति पु¥याएको काव्रेभीरको बाहिरी सडक टिकाउ नहुने निश्कर्षपछि भूमिगत मार्ग बनाउन थालिएको आयोजनाको निश्कर्ष छ । बाहिरीसतह कमजोर भएकाले परिपक्क र संधै चालु हुने गरी सुरुङमार्ग निर्माण थालेकोले सुरुङमार्ग ३ महिना भित्र सकिने उनले जानकारी दिए । २०७२ बैशाख १२, १३ र २९ गतेको भूकम्पहरुले आयोजना प्रवेशमार्गको सिंगटीदेखि लामावगरसम्म ठाउँठाँउका चेनेजहरु ध्वस्त पारेको थियो ।
प्रवेशमार्गको अभावमा हेडवक्स क्षेत्र लामाबगरसम्म ३३ केभी विद्युत प्रसारण लाइन मर्मत समेत हुन सकेको छैन । विद्युत अभावमा लामाबगरको बाँध क्षेत्र र हेडरेस सुरुङको ३ किलोमिटर क्षेत्रमा जमेको पानी तानेर पाल्ने काम समेत हुन सकेको छैन । सुरुङमा जमेको पानी पाल्न पनि ३ महिनाभन्दा बढी लाग्ने अनुमान छ ।
आयोजनाको पेनस्टक साफ्टको लागि दोस्रो ठाडो सुरुङको काम पनि तिब्र रुपमा निर्माण भई रहेको छ । तल्लो ठाडो सुरुङ ३ सय ७२ मिटरको एक वर्ष अघि नै पूरा भएकाले त्यसमा पेनस्टक पाइप जडानको तयारी भए पनि माथिल्लो सुरुङ बाँकी थियो ।
माथिल्लो ठाडो सुरुङ (साफ्ट) तल र माथि दुवैतिरबाट निर्माण गर्न आयोजनाले गोगरडाँडासम्म ४ किलोमिटर सडक समेत निर्माण गरेको थियो । भुकम्पले सडक ध्वस्त भएको र निर्माण गर्न समय लाग्ने भएकाले अहिले तलबाट मात्र काम सुरु गरेको आयोजनाका प्रवक्ता डा न्यौपानेले बताए । ३ सय १० मिटरको माथिल्लो साफ्ट सुरुङ मध्ये १ सय ४५ मिटर पूरा भएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।