दोस्रो ठाडो सुरुङ पूर्ण आकारमा

 आवाज संवाददाता     २६ कार्तिक २०७४, आईतवार

दोलखा, २६ कार्तिक
माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको महत्वपूर्ण कामको रुपमा रहेको दोस्रो ठाडो सुरुङको काम पूरा भएको छ । आयोजनाको माथिल्लो ठाडो सुरुङ (पेनस्टक साफ्ट) को २ महिना अघि ब्रेक थ्रु भए तापनि पूर्ण अकारमा खोल्न बाँकी थियो । सुरुङको पूर्ण आकारमा ल्याउने काम शनिबार पूरा भएको हो ।
आयोजनाको ३१० मिटर ठाडो सुरुङ पूरा भएपछि आयोजनाका लागि ठाडो सुरुङ खन्ने काम सकिएको छ । आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले ठाडो सुरुङलाई पूर्ण आकारमा तयार गर्न २ महिना लागेको बताए । पहिला एलिम्याक प्रविधिबाट तलबाट र माथिबाट तलतिर (डाउन द होल) विधिबाट २.१ मिटर गोलाइको सुरुङ तयार भएको थियो । पछि त्यसलाई आयोजनालाई आवश्यक ४.२ मिटरको तयार पारिएको बताए ।
ठाडो सुरुङ तयार पारेसँगै अब लट २ को ठेकेदारले हाइड्रोमेकानिकलको पाइप जडानको काम सुरु गर्ने छ । यस अघि तल्लो खण्डको ३७२ मिटर ठाडो सुरुङको काम एक वर्ष अघि नै पूरा भएको थियो । ठाडो सुरुङ पूरा भएपछि लाइनिङको काम गरेर पेनस्टक स्टिल पाइप राख्ने काम सुरु गरेको छ ।
आयोजनाका लागि ठाडो सुरुङ निर्माणको काम चुनौतीको रुपमा रहेको थियो । दुवै ठाडो सुरुङ निर्माणमा चीन र जर्मनीबाट ल्याइएका रेजबोरिङ लगायतका उपकरण ल्याएर काम गर्दा समेत असफल भएको थियो । कमजोर चट्टानका कारण कहिले छड्के जाने लगायतका समस्याले ४ वर्षदेखि पटक पटक स्थगित हुँदै सुरु हुँदै आएको थियो ।
आयोजनाले २०७५ असारदेखि विद्युत उत्पादन सुरु गरी पुससम्ममा आयोजना पूर्ण क्षमतामा सञ्चालनको तयारी गरेको छ । आयोजनामा ४५६ मेगावाट विद्युत उत्पादनका लागि ६ वटा युनिट रहेका छन् । अहिले ४ वटा युनिटको काम तिव्र गतिमा चलिरहेको छ ।

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF