सडककै कारण तामाकोसीको प्रगतिमा बाधा

 आवाज संवाददाता     २८ कार्तिक २०७४, मंगलवार

दोलखा, २८ कार्तिक
माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको प्रगतिमा सडक बाधक बनेको छ । अस्तव्यस्त सडकै कारण उपकरण ढुवानीमा समस्या आयोजनाको निर्माण अवधी लम्बिने सम्भावना छ ।
२०७५ को असारबाट उत्पादन सुरु गरेर पुसभित्र सबै युनिटबाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित अहिले आयोजनाको काम धमाधम भइरहेको छ । निर्माणको अन्तिम चरणमा जडान गर्नुपर्ने उपकरण ढुवानीमा भने समस्या भइरहेको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले बताए ।
ढुवानी हुन नसक्दा आयोजनाका आधाजति उपकरण अझै वीरगंजमै रोकिएका छन् । आयोजनाका लागि २०७२ बैशाखको भुकम्प अघि नै ति सामान वीरगंजमा आएको हो । पानी परेको बेला र बर्खामा त सामान ढुवानी समस्या नै हुने उनले बताए ।
सामान ढुवानीकै लागि आयोजनाले सिन्धुपाल्चोकको खाडी चौरमा ३ पटक सुनखानी डाइभर्सन गरी सकेको छ । नदीमा पानी घट्दै गएकाले यसपाली फेरि नदी डाइभर्सनको तयारी सुरु गरेको छ । एक पटक नदी डाइभर्सन गरी हिमपाइप राख्नका लागि कम्तिमा २ करोड खर्च हुन्छ । ति पाइप बर्खा लागेसँगै गत असारमा निकालिएको थियो ।
सिन्धुपाल्चोकको खाडीचौरदेखि दोलखाको चरीकोटसम्मको ५५ किलोमिटर सडक दुई लेनमा विस्तार भइरहेको छ । विस्तारक्रममा धेरै ठाउँमा भत्केका र खाल्डाखुल्डी भएका कारण उपकरण ढुवानी गर्न समस्या भएको हो ।
दोलखादेखि सिंगटीसम्मको ३५ किलोमिटर सडक पनि स्तरोन्नती गरी कालोपत्रे गर्ने कार्य एक वर्षदेखि जारी छ । त्यो सडकमा पनि हिलो र खाल्डाखुल्ढीले ढुवानी प्रभावित भएको छ । खाडीचौरी–चरिकोट सडक भारतीय एक्जिम बैंकको सहयोगमा र दोलखा–सिंगटी एसियाली विकास बैंकको सहयोगमा स्तरोन्नती र विस्तार भइरहेको हो ।
पानी परेको समयमा त खाडीचौरबाट चरीकोट पुग्न सामान्य गाडीलाइ झन्डै ५ घन्टा लाग्छ । सडक विभागसँगको समन्वयमा ढुवानीको काम भइरहे पनि यसले विद्युत् उत्पादनको लक्ष्य प्रभावित हुन सक्ने उनको भनाइ छ ।
भारतीय एक्जिम बैंकको ऋण सहयोगमा विस्तार भइरहेको खाडीचौर–चरीकोट सडकको काम दुई खण्डमा बाँडिएको छ । कूल ५५ किलोमिटर यो सडक स्वीस सरकारको सहयोगमा निर्माण भएको थियो ।
खाडीचौर जिरोदेखि ९ किलोमिटरसम्म साँधुरो र धेरै ठाउँमा मोड भएकाले समस्या भएको नेपालले बताए । उनका अनुसार १७ देखि २५ किलोमिटर खण्डमा पनि समस्या छ । तर, सुधार गरिँदैछ ।
दोलखा–सिंगटी सडकको भने कालोपत्रे हाल्ने काम नै सुरु भएको छ । पहिला दोलखादेखि लामाबगरसम्मको ६८ किलोमिटर सडक आयोजना आफैंले मर्मत सुधार गर्दै आएको थियो । सडक विस्तार आयोजनाले लिएपछि आयोजनाले अहिले सिंगटीदेखि आयोजनास्थलसम्मको २८ किलोमिटर मात्र मर्मत सुधार गर्दै आएको छ ।
सडक सुधारसँगै गत सातादेखि ठूला खाडीचौरदेखि ठूला सामान ढुवानीको काम सुरु भएको छ । आयोजनाको हाइड्रोमेकानिकलका पेनस्टक पाइप र इलोक्ट्रोमेकानिकलका जेनेरेटर, टर्वान लगाएतका उपकरण सुनकोसी नदीपारी सुनकोसी विद्युत केन्द्र परिसरसम्म ढुवानी गरिएका थिए ।
आयोजनाका लागि ७० टनसम्मका उपकरण ढुवानी हुन्छ । वीरगंजबाट ति सामान बोकेको गाडी आयोजनास्थल पुग्न एक महिनासम्म लाग्छ । दिउँसो ट्राफिक जामको समस्याले रातमा मात्र ति सामान बोकेका गाडी गुड्छन् ।
आयोजनाको हालसम्म भौतिक पूर्वाधार राम्रो भए तापनि उकरण जडान र पाइप जडानमा सुस्तता छ । आयोजनाको सबै किसिमका गरी कुल १८ किलोमिटर सुरुङ तयार हुन्छ । आयोजनाको मुख्य सुरुङ अर्को साता पूरा हुने लक्ष्य छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF