सडकमा तालाबन्दी

 आवाज संवाददाता     २८ कार्तिक २०७४, मंगलवार

कात्तिक २८, दोलखा । अघिल्लो आवमा सम्पन्न भएको कामको समेत भुक्तानी नदिएको भन्दै दोलखाका निर्माण व्यवसायीहरुले सडक कार्यालयमा तालाबन्दी गरेका छन् ।

मंगलबार सदरमुकाम चरिकोटस्थित डिभिजन सडक कार्यालय चरिकोट, दोलखाको कार्यालयमा जिल्लाका निर्माण व्यवसायीले कामको भुक्तानी नदिएसम्मका लागि तालाबन्दी गरेका हुन् । आर्थिक वर्ष २०७३–०७४ मा सम्पन्न भएको कामको हालसम्म भुक्तानी नदिएको कारण बाध्य भएर तालाबन्दी गर्नु परेको दोलखा जिल्ला निर्माण व्यवसायी संघका सचिव राजेश थापाले जानकारी दिए ।

सचिव थापाका अनुसार अघिल्लो आवमा सम्पन्न भएको कामहरुको मात्र करिब रु. ५ करोड बराबर भुक्तानी लिन बाँकी रहेको छ । कामदार, साहु र मेशिन कम्पनीहरुलाई भुक्तानी दिन नसकेर चरम समस्या सिर्जना भए पछि के गर्नु त? डिभिजन सडक कार्यालय चरिकोट दोलखाका कर्मचारीले अनुगमन र मूल्याङ्कन गर्ने फाँटका कर्मचारीको सरुवा भएकोले भुक्तानीमा ढिलाई भएको स्वीकार गरेका छन् । अनियमित सरुवा र भुक्तानीमा ढिलाईको कारणले थप काम गराउन समस्या सिर्जना भएको उनीहरुको भनाई छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।