अलपत्र सडक विरुद्ध २४ घण्टे अन्तिमेत्थम् पछि सुधार हुँदै, आज पनि नागरिक आन्दोलन

 आवाज संवाददाता     १९ असार २०७३, आईतवार

सातदोबाटो सडक विस्तार कार्यमा ठेकेदारले अलपत्र छाडेपछि नागरिक समाज आन्दोलनमा उत्रेको छ । काम नगर्ने ठेकेदारलाई कारबाही गर्नुको साटो उल्टै संरक्षण गर्ने गरी म्याद थप गर्न लागेपछि नागरिक समाजको ध्यानाकार्षण हो । हिजो नागरिक समाजले डिभिजन सडक कार्यालय दोलखालाई ध्यानाकर्षण गराएपछि डिभिजन सडक कार्यालय आफैँले आज केही सुधारका काम सुरु गरेको छ । तर काममा तीव्रता नभएको भन्दै नागरिक समाजले आज पनि सातदोबाटो चोकमा दिउँसो २ बजे प्रदर्शन गर्ने जनाएको छ ।
दोलखाका नागरिक समाजका प्रतिनिधिहरु डिभिजन सडक कार्यालय चरिकोटमा पुगेर २४ घण्टाभित्र काम सुरु नगरे कडा आन्दोलनमा उत्रने चेतावनी दिएका थिए । नागरिक समाज दोलखाका संयोजक चिरञ्जीवि मास्केले वर्षौंदेखि सदरमुकामको मुख्य चोक अस्तव्यस्त पारेकाले आन्दोलनमा उत्रनु परेको बताए ।
नागरिक समाजले २४ घण्टाभित्र हिलाम्मे सडकको काम नगरे सडक कार्यालयमा तालाबन्दी गर्ने लगायतको चेतावनी दिएको थियो । दोलखाका पत्रकार, व्यवसायी लगायतका ५४ जनाले हस्ताक्षर गरी सडक कार्यालयको ध्यानाकार्षण गराएका हुन् ।
सातदोबाटो आसपासका १ किलोमिटर सहरी सडक निर्माणको ठेक्का पाएको लोहनी ब्रदर्श–स्काइ बिल्डर्स जेभीले काम नगर्दा सडक अलपत्र छ । सम्बन्धित निर्माण व्यवसायीको उपस्थितिमा डिभिजन सडक कार्यालय चरिकोटमा निर्माण व्यवसायी र राजनैतिक दलका प्रतिनिधिहरुको उपस्थितिमा ४ दिन अघि काम नगर्ने ठेकेदार कम्पनीको म्याद थप्ने निर्णय गरेकोप्रति नागरिक समाज आक्रोशित भएको छ । उनीहरुको यो निर्णयपछिको सिफारिसले कालोसूचिमा राख्ने तयारी भैसकेको फर्मलाई म्याद थप गर्न बाटो मिलेको हो ।
दलका प्रतिनिधिको उपस्थितमा भएको बैठकले ३ दिनभित्र ठेकेदारले कार्ययोजना पेश गर्ने, कात्तिक मसान्तभित्र पीच सक्ने र पुस मसान्तभित्र सम्पूर्ण काम पूरा गर्ने सहमतीजन्य निर्णय भएको थियो । डिभिजन सडक कार्यालयका डिभिजन प्रमुख अशोक तिवारीले कार्ययोजना पेश गरेकाले म्याद थप्ने प्रक्रिया सुरु भएको बताए । निर्माण व्यवसायीले तत्काल काम सुरु गर्ने विश्वास उनले राखे ।
डिभिन सडक कार्यालयले २ वटा काम नगर्ने फर्मलाई कालो सुचीमा राख्ने तयारी गरेको थियो । चरिकोट सातदोबाटो सहरी सडक विस्तार कार्यको जिम्मा लिएका लोहनी एण्ड ब्रदर्श÷स्काई विल्डर्स जेभी र सिन्धुपाल्चोकको सियाले त्रिवेनीधामको सुनकोसी नदीमा स्टिल पुल निर्माणको जिम्मा पाएको बी।टी। फ्रेन्स श्रेष्ठ जेभी कालो सूचीमा राख्ने तयारी थियो ।
लोहनी ब्रदर्शका प्रोपाइटर खोपानिधि लोहनी हुने भने स्काई बिल्डर्सका प्रोपाइटर यक्षध्वज कार्की हुन् । कार्की निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष समेत हुन् भने दोलखा बासी पनि हुन् । एमालेका भौतिक पूर्वाधार विभागका सदस्यमा समेत पार्टीले मनोनित गरेपछि एमाले दोलखाका कार्यकर्ताहरुले सामाजिक सञ्जालमै व्यापक विरोध गरेका छन् ।
सडक विस्तार ०७१ असार मसान्तमा काम सक्ने गरी २०७० बैशाख ९ गते सम्झौता भएको थियो । उक्त समयमा खासै प्रगति नभएपछि डिभिजन सडक कार्यालय चरिकोटबाट ६ महिना र सडक विभागबाट ६ महिना गरी २०७२ जेठ मसान्तसम्म म्याद थप भएको थियो । त्यसपछि म्याद समय थप भएको छैन ।
ठेकेदारले १ महिना अघि ग्राभेल विच्छाए पनि पुनः बीचैमा छाडेका छन् । वर्षात लागेपछि अहिले पनि सडक हिलाम्मे छ । सहरी सडकको लम्बाइ १ किलोमिटर र सडक पेटी सहित १५ मिटर चौडाइ छ ।
अपडेट

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।