माथिल्लो तामाकोसीको काम स्थानीयले रोके

 आवाज संवाददाता     २८ मंसिर २०७४, बिहीबार

दोलखा, २८ मंसिर

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको हेडवक्समा स्थानीयले रोजगारीको माग गर्दै रोकेका छन् । स्थानीयको अवरोधपछि विहीबार विहानैदेखि आयोजनाको बाँध क्षेत्र लामाबगरमा काम हुन सकेको छैन । स्थानीयले आयोजनामा स्थानीयलाई प्राथमिकता दिनुपर्ने माग गरेका छन् ।
स्थानीयहरुले आयोजनाको निर्माण कम्पनीहरुले स्थानीयलाईभन्दा बाहिरका मान्छेलाई प्राथमिकता दिएकाले आन्दोलनमा उत्रनु परेको बताए । आयोजनाको सुरुङ निर्माण पूरा भएपछि केही स्थानीय कामदार समेत चिनीया कम्पनी सिनो हाइड्रोले निकालेको बताए ।
लामाबगरमा आयोजना बनेकाले स्थानीयलाई प्राथमिकता दिनु पर्ने स्थानीयहरुले माग राखेको स्थानीय प्रदीप सुनुवारले बताए । आयोजना व्यवस्थापन पक्ष र आयोजनाको ठेकेदार कम्पनीलाई दबाब दिनका लागि आन्दोलन भए तापनि वार्ताबाट चाँडै सहमतिमा आउन सकिने उनले बताए ।
माथिल्लो तामाकोसी जलविद्युत आयोजनाका आयोजना प्रमुख दिनेशजंग राणाले स्थानीय र ठेकेदार कम्पनीको सामान्य विषय भएको बताए । आयोजनाले समन्वय गरेर दुवै पक्ष बीच वार्ता भइरहेकोले साँझसम्म सहमति गरी आयोजनाको काम सुचारु हुनेमा आफू विश्वस्त रहेको उनले बताए ।
लामाबगरमा विगू गाउँपालिकाका वडाध्यक्ष हिरण्डे गुरुङ, आयोजनाको पक्ष र ठेकेदार कम्पनी चिनो हाइड्रोका प्रतिनिधिहरु सहित वार्ता भइरहेको छ । अायाेजनाकाे हेडवक्सकाे काम ९२ प्रतिशत पूरा भएकाे छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF