प्रभु लाइफ इन्स्योरेन्सको कारोबार सुरु

 आवाज संवाददाता     २९ मंसिर २०७४, शुक्रबार

काठमाडौँ, मंसिर २९
परम्परागत विमा बजारबाट माथि उठ्ने उद्घोष गर्दै प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले औपचारिक कारोबार सुरु गरेको छ ।
प्रभु समूह, प्रभु बैंक, सांग्रिला विकास बैंक र अन्य प्रतिष्ठित व्यवसायिक समूहको लगानीमा सुरु भएको प्रभु लाइफ इन्स्योरेन्स शुभारम्भ विमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले गरे ।
दश वर्षको अवधिमा अर्थतन्त्रमा धेरै परिवर्तन भएको उल्लेख गर्दै विमा समितिका अध्यक्ष चापागाईँले विमा बजारको सम्भावना हेरी थप नयाँ विमा कम्पनीलाई अनुमती दिइएको बताए । उनले नयाँ विमा कम्पनी सञ्चालनमा आउँदा रोजगारीको अवसर खुल्ने र विमा बजार विस्तार हुने विश्वास व्यक्त गरे ।
प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले निर्वाचनपछि राजनीतिक संक्रमण सकिएको र अर्थतन्त्रले नयाँ उचाई लिई विमा बजार पनि गतिशील हुने बताए । विमा कम्पनीका अध्यक्ष रामबहादुर पाण्डेले जीवन विमालाई गाउँसम्म पु¥याउने बताए । उनले सहरसँगै गाउँका किसानदेखि साना व्यापारीसम्मलाई लक्षित गर्दै विमा पोलिसी ल्याउने बताए ।
सांग्रिला डेभलप्मेन्ट बैंकका अध्यक्ष डा. रवीन्द्रसाद श्रेष्ठले सांग्रिला बैंकले नयाँ क्षेत्रमा हात हाल्ने मौका पाएको बताए ।
कार्यक्रममा प्रभु इन्स्योरेन्सकी अध्यक्ष कुसुम लामा, प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेलको उपस्थिति थियो ।
दुई अर्ब चुक्ता पूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा संस्थापन शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन् । कम्पनीले केही समयभित्रै ४० करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने बताइएको छ ।

यस्तो छ बीमा पोलिसीः

१. अमूल्य जीवन बीमा (आजीवन बीमा) – यस जीवन बीमा योजना अन्तर्गत बीमा समाप्ति मितिसम्म बीमित जीवित रहेमा बीमाङ्क रकम र आर्जित बोनस एकमुष्ठ प्रदान गरिनेछ । बीमालेख परिपक्व भएपछि बीमाशुल्क भुक्तानी गर्नुपर्ने छैन र तत् पश्चात कुनै पनि समयमा बीमितको मृत्यु भएमा इच्छाइएको व्यक्तिलाई एक मुष्ठ बीमाङ्क रकम मात्र वा यदि बीमित १०० बर्ष सम्म जीवित रहेमा, १०० बर्ष पुगेको बर्षगाँठमा निजलाई एक मुष्ठ बीमाङ्क रकम पुनः भुक्तानी गरिनेछ । बीमा समाप्ति मिति अगावै बीमालेख चालु रहेको अवस्थामा बीमितको मृत्यु भएमा बीमाङ्क रकम र आर्जित बोनस एकमुष्ठ बीमालेख अन्तर्गत इच्छाइएको व्यक्तिलाई प्रदान गरिनेछ ।

२. सम्बृद्ध जीवन बीमा (सावधिक बीमा)– यस जीवन बीमा योजना अन्तर्गत बीमा समाप्ति मितिसम्म बीमित जीवित रहेमा बीमाङ्क रकम र आर्जित बोनस एकमुष्ठ प्रदान गरिनेछ । बीमा समाप्ति मिति अगावै बीमालेख चालु रहेको अवस्थामा बीमितको मृत्यु भएमा बीमाङ्क रकम र आर्जित बोनस एकमुष्ठ बीमालेख अन्तर्गत इच्छाइएको व्यक्तिलाई प्रदान गरिनेछ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।