दोलखामा पुँजीगत बजेट खर्च केन्द्रभन्दा कम

 आवाज संवाददाता     ६ पुष २०७४, बिहीबार

दोलखा, ६ पुस
सरकारले खर्च गर्नका लागि पहिलो किस्ता साउनमै निकासा गरे तापनि पहिलो चौमासिक कात्तिक मसान्तसम्म ८ प्रतिशत मात्र पुँजीगत खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय दोलखाले चालु आर्थिक वर्षको पहिलो चौमासिक खर्चको जानकारीका लागि आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय सरकारकोभन्दा पनि दोलखामा कम खर्च भएको उनले जानकारी दिए ।
दोलखाका प्रमुख कोष नियन्त्रक रमेश शिवाकोटीका अनुसार दोलखाका सरकारी कार्यालयहरुले कार्तिक मसान्तसम्म ७.९१ प्रतिशत खर्च गरेको जानकारी दिए । जबकी केन्द्रीय बजेटको प्रगति ८ प्रतिशतभन्दा बढी रहेको छ ।
बजेट खर्च गर्ने सबैभन्दा अग्रस्थानमा जिल्ला भू संरक्षण कार्यालय रहेको कोलेनिको प्रतिवेदनमा रहेको छ । प्रतिवेदन अनुसार भू संरक्षण कार्यालयले ७६ प्रतिशत, जिल्ला शिक्षा कार्यालयले ६३ प्रतिशत, जिल्ला प्रहरी कार्यालयले ४९ प्रतिशत खर्च गरेको उल्लेख छ । त्यसैगरी डिभिजन सडक कार्यालय चरिकोटले १२ प्रतिशत खर्च गरेको छ । जिल्लाका सडक र भवनसँग सम्बन्धित आयोजनागत कार्यालयहरुले खासै प्रगति गर्न नसकेको कोलेनिकाले जनाएको छ ।
दोलखामा चालु खर्च तर्फ ६ अर्ब ५६करोड २ लाख ८८८ हजार अख्तियारी आएकोमा ३४.७० प्रतिशत अर्थात २ अर्ब २७ करोड ६६ लाख ३७ हजार ४६७ खर्च भएको छ । त्यसैगरी पुँजीगत तर्फ १ अर्ब ९२ करोड ७९ लाख ८८ हजार अख्तियारी आएकोमा ७.९१ प्रतिशत अर्थात १५ करोड २४ लाख ९८ हजार खर्च भएको छ ।
प्रमुख कोष नियन्त्रक शिवाकोटीले अहिले अख्तियारी अनुसारको रकम कार्यालयले काम गरेअनुसार निकासा दिने व्यवस्था भएकोे बताए । कोलेनिकाले स्थानीय तहमा पठाएको खर्च भने पूरै देखाएको छ । स्थानीय तहलाई निकासा दिने अधिकार भएको तर खर्चको हिसाव माग्ने अधिकार नभएकाले निकासा गरेको सबै अनुदान भएको बताए । स्थानीय तहमा पहिलो किस्ता साउन पहिलो हप्ता भित्रै र दोस्रो किस्ता मंसिर पहिलो हप्ता भित्रै निकासा दिएको जानकारी दिए ।
निर्वाचन प्रयोजनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत ३ करोड ६३ लाख ५६ हजार ७ सय खर्च भएको छ । त्यसैगरी जिल्ला निर्वाचन कार्यालय मार्फत ९० लाख ४० हजार २०७ रुपैंया खर्च निकासा भएको मुख्य कोष नियन्त्रक शिवाकोटीले बताए । जिल्ला प्रशासन, प्रहरी, सेनामार्फत हुने खर्चमा नियमित प्रक्रिया अनुसारै हुने भएकाले त्यसलाई कोलेनिकाले छुट्टै देखाउन नसकेको बताए ।
वर्षा सकिए लगत्तै प्रदेश र प्रतिनिधि सभाको निर्वाचन भएकाले पुँजीगत खर्च कमी भएको हुन सक्ने उनले बताए । अब निर्वाचन पनि सकिएकाले विषयगत कार्यालयहरुले काम गर्नेमा आफू विश्वस्त भएको बताए ।
कोलेनिकाको अनुसार पुन निर्माण प्राधिकरण अन्र्तगत निजी आवास अनुदान तर्फ हालसम्म चालु आर्थिक वर्षको पुस ५ गतेसम्म ७३ हजार ४५४ जनालाई पहिलो, दोस्रो र तेस्रो किस्ता निकासा गरेको जानकारी दिए । कोलेनिकाबाट भुकम्प पीडितहरुले निजी आवास निर्माणका लागि पहिलो किस्ता लिने ५५ हजार ८१ जना, दोस्रो किस्ता लिने १४ हजार ८०७ जना र तेस्रो किस्ता लिने ३ हजार ५ सय ६६ जना रहेको कोलेनिकाले जनाएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।