राष्ट्रिय सेवा दलको तालिम निरीक्षण

 आवाज संवाददाता     ११ पुष २०७४, मंगलवार

दोलखा पुस ११
दोलखा जिल्लाका दुईवटा विद्यालयमा सञ्चालित राष्ट्रिय सेवा दलको जुनियर डिभिजन तालिमको निरीक्षण रणभीम गणका गणपति प्रमुख सेनानी झविन्द्रबहादुर रेस्मीले गरेका छन् ।


जिल्ला सदरमुकामस्थित कालिन्चोक मावि र जिरी नगरपालिकाको जिरी मावि सञ्चालित जुनियर डिभिजन तालिमको निरीक्षण प्रमुख सेनानी रेस्मीले गरेका हुन् । कालिन्चोक माविमा अघिल्लो वर्षदेखि सो तालिम सञ्चालन भएको हो भने जिरी मावि जिरीमा यस वर्षदेखि सुरु भएको हो । राष्ट्रिय सेवा दलको तालिम नेपालमा २०२२ सालदेखि सुरु भएको हो ।

विद्यालयमा ७९ दिन सञ्चालन गरिने तालिम सकिएपछि रणभीम गण चरिकोटमा आयोजना गरिएको विद्यार्थीहरुले सिकेका सीप प्रदर्शनको निरीक्षण गर्दै प्रमुख सेनानी रेस्मीले राष्ट्रिय सेवा दलको उद्देश्यअनुसार विद्यार्थीहरुले सीप सिकेकोमा खुशी व्यक्त गरे । उनले विद्यार्थीहरुलाई सो तालिम सेना बनाउन नभै उनीहरुलाई अनुशासित बनाउन, राष्ट्रियताप्रति समर्पित गर्न, नेतृत्वकलाको विकास गर्न, दैवी प्रकोपको समयमा आवश्यक तालिमप्राप्त युवाशक्ति उत्पादन गर्न दिइएको बताए ।


प्रदर्शनको क्रममा कालिन्चोक मावि र जिरी माविका क्याडेटहरुले मास पीटी, तेक्वान्दो पीटी, एरोविक्स र साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । तालिममा सदरमुकाम चरिकोट स्थित कालिञ्चोक माविका १८ छात्र र १७ छात्रा तथा जिरी माविका १७ छात्र र १७ छात्रा गरी ६९ जनाको सहभागिता रहेको रणभीम गण चरिकोटले जनाएको छ ।
गत असार ३ गतेबाट ७९ दिनसम्म सञ्चालन भएको तालिममा उनीहरुले खुकुरी ड्रिल, मास पिटी, तेक्वान्दो पीटीे, नेपाली सेना सम्बन्धी जानकारी र एरोविक सम्बन्धी प्रयोगात्मक ज्ञान दिइएको गणले जनाएको छ ।
अब २१ दिन नेपाली सेनाको क्याम्पमा सामूहिक तालिम सञ्चालन गरिने र त्यसमा उत्कृष्ठ हुनेलाई विदेशमा समेत तालिमको लागि लगिने गणपति रेस्मीले बताए । रणभीम गणमा तालिम लिएका राष्ट्रिय सुरक्षा दलमा आवद्ध विद्यार्थीहरुलाई मोरङको याङसीला क्याम्पमा सामूहिक तालिमको लागि लगिने गणपति रेस्मीले बताए ।
राष्ट्रिय सुरक्षा दलको यो तालिम देशको बिभिन्न ७३ वटा विद्यालयमा सञ्चालन भएको र तालिममा झण्डै ६ हजार विद्यार्थी सहभागी रहेको रणभीम गणका सेनानी सन्तोष थापाले बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF