तामाकाेसी पाँचाैमा अपर तामाकाेसीकाे पनि लगानी हुने

 आवाज संवाददाता     १८ पुष २०७४, मंगलवार

९५ मेगावाटको तामाकोसी–५ मा ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी निर्माण गरिरहेको ‘अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेड’ ले पनि सेयर लगानी गर्ने भएको छ । माथिल्लो तामाकोसीबाटै निस्केको पानी उपयोग गरी पाँचौ निर्माण हुने हुँदा लगानीका लागि कम्पनीलाई आह्वान गरिएको हो । पाँचो निर्माण गर्न ‘तामाकोसी जलविद्युत् कम्पनी लिमिटेड’ गठन भइसकेको छ । नेपाल विद्युत् प्राधिकरणले अध्ययन गरेको आयोजना कम्पनी गठन गरेर अघि बढाइएको हो । कम्पनीमा प्राधिकरणको कम्तिमा ५१ प्रतिशत, स्थानीयको १० र सर्वसाधारणलाई १५ प्रतिशत सेयर छुट्ट्याइएको छ । बाँकी सेयर अप्पर तामाकोसीले लगानी गर्ने गरी छलफल भइरहेको छ । लगानी गर्नेबारे सैद्धान्तिक सहमति भइसके पनि ठोस निर्णय हुन बाँकी रहेको तामाकोसी कम्पनीका प्रमुख कार्यकारी अधिकृत नसिबमान प्रधानले बताए । माथिल्लो तामाकोसीको टेलरेस (पानी निकास सुरुङ) मा जोड्ने संरचनाको काम जारी छ । विद्युत् उत्पादन भएपछि तामाकोसी पाँचौं निर्माण गर्न माथिल्लो तामाकोसी बन्द गर्नुपर्ने हुन्छ । यसैले पहिला नै बाहिर निस्कने पानीलाई बन्द गरे सुरुङमा हाल्न लिंक निर्माण भइरहेको छ । आयोजनाको यो संरचनापछि हेडवक्र्सको अन्य संरचना निर्माण गर्नु पर्दैन । ४० मिटर लामो सुरुङ र गेट निर्माण गर्न आयोजनाले २० करोड खर्च गर्दैछ । माथिल्लो तामाकोसी सञ्चालनपछि बन्द गर्दा ४ अर्ब लाग्ने हुँदा अहिले माथिल्लो तामाकोसीकै ठेकेदारमार्फत काम भइरहेको छ । माथिल्लो तामाकोसीबाट निस्केको पानी ८.२ किलोमिटर सुरुङबाट लादुकको सुरीटारमा खसालेर विद्युत् उत्पादन हुनेछ । त्यहाँ भूमिगत विद्युतगृह निर्माण हुनेछ । यसबाट वार्षिक ४६०.५ गिगावाट घन्टा विद्युत उत्पादन हुने अनुमान छ । आगामी ७ महिनाभित्र आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार हुने प्रधानले बताए । यसको काम माथिल्लो तामाकोसीकै परामर्शदाता जर्मनी कम्पनी ल्याह्मेरले गरिरहेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।