तामाकोसी पाँचौको मुआव्जाप्रति स्थानीय असन्तुष्ट

 आवाज संवाददाता     १९ पुष २०७४, बुधबार

दोलखा, १९ पुस
तामकोसी पाँचौ जलविद्युत आयोजनाको लागि अधिग्रहण गर्न लागेको जग्गाको मूल्य निर्धारणप्रति स्थानीयले असन्तुष्टि देखाएका छन् । आयोजनाका लागि आवश्यक जग्गाको प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्लास्तरीय दररेट निर्धारण समितिले २ महिना अघि गरेको मूल्य निर्धारण कम भएको भन्दै असन्तुष्टि जाहेर गरेका हुन् ।
जग्गाधनीहरुले प्रमुख जिल्ला अधिकारी र आयोजना पक्षलाई भेटी जग्गाको पुनः मूल्य निर्धारणका लागि आग्रह गरेका छन् । जग्गाधनी शान्तबहादुर केसीले सबै जग्गाको एउटै मूल्याङ्कन हुनु पर्ने बताए । सबै जग्गा उस्तै भएकाले जिल्लाको मूल्यनिर्धारणमा विभेद गर्न नहुने आफूहरुको माग रहेको बताए ।
आयोजनाका लागि आवश्यक जग्गाका लागि सार्वजनि सूचना प्रकाशित जग्गा अधिग्रहणका लागि मूल्य निर्धारण समेत भइसकेको छ । २ महिना अघि दोलखाका प्रमुख जिल्ला अधिकारी लक्ष्मणबिक्रम थापाको अध्यक्षतामा बसेको बैठकले न्यूनतम् ३ लाख ७४ हजारदेखि अधिकतम ७ लाख ४८ हजार प्रतिरोपनी मूल्य निर्धारण गरेको हो ।
आयोजनाका लागि विगू गाउँपालिका वडा नं. ४ साविक लादुक ९ को सुरीटारमा रहेको जग्गा अधिग्रहण गर्ने छ । जग्गाको मूल्य निर्धारण समितिले सिंगटी–भोर्ले–तामाकोसी सडकले छोएको सडकको २५ मिटर पछाडीसम्मको मूल्य प्रति रोपनी ७ लाख ४८ हजार निर्धारण गरेको छ । त्यस्तै सडकले नछोएको बाँकी जग्गाको मूल्य ३ लाख ७४ हजार निर्धारण गरेको छ ।
आयोजनाका लागि ५८ जनाको ५५ रोपनी जग्गा आवश्यक पर्छ । तामाकोसी पाँचौको सुरीटारमा विद्युत गृह लगायतका संरचना तयार गर्ने प्रस्ताव छ । आयोजनाको विद्युत गृह भूमिगत हुनेछ । आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयारीका लागि जर्मन कम्पनी ल्याह्मेरले गरिरहेको छ । ल्याहेमेरले ६ महिना भित्र डीपीआर तयार गरिसक्नु पर्छ । जग्गाको अभावमा उसले परीक्षण सुरुङ समेत खन्न सकेको छैन ।
ल्याह्मेर ४५६ मेगावाटको निर्माणाधिन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको समेत परामर्शदाता हो । डेढ वर्षमा पूरा गर्ने गरी एक वर्ष अघि महिना अघि ल्याह्मेर र विद्युत प्राधिकरण बीच सम्झौता भएको थियो ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मणबिक्रम थापाले जिल्लाबाट भएको निर्णय यहींबाट पुर्नमूल्याङ्कन हुन नसक्ने बताए । ‘स्थानीय चलनचल्तीको मूल्याङ्कन, सरकारी मूल्याङ्कन समेतलाई आधार मानेर मुख्य सडक, नदी किनार समेतलाई हेरेर मूल्य निर्धारण गरेका हौं’ उनले भने ‘जिल्लाको निर्णय चित्त नबुझे ३५ दिन भित्र गृह मन्त्रालयमा पुनरावेदन गर्न सक्ने कानुनी व्यवस्था छ ।’ जग्गाको मूल्य निर्धारणमा चित्त नबुझ्नेहरुलाई पनि आफूले पुनरावेदन गर्न सक्ने कानुनी बाटो रहेको जानकारी गराको उनले बताए ।
तामाकोसी जलविद्युत कम्पनीका प्रशासन प्रमुख सिताराम थापाले मूल्यमा चित्त नबुझेपछि जग्गा अधिग्रहण समेत गर्न नसकेको बताए । जग्गाको मुआव्जा वितरणका लागि आयोजना पक्ष तयारी अवस्थामा रहेको बताए । तर स्थानीयले भने मुआब्जा पुनरावलोकनका लागि पुनरावेदन पनि नजाने र जग्गा पनि नदिने बताउँन थालेका छन् ।
जग्गाको मूल्य निर्धारणमा भएको विवादलाई स्थानीय तहले पनि समाधानको पहल गर्ने भएको छ । विगू गाउँपालिकाका अध्यक्ष युधिष्टिर खड्काले जग्गाको मुआब्जा निर्धारण स्थानीय चलनचल्तीभन्दा न्यून भएको बताए । जग्गाको मूल्याङ्कन पुनरावलोकन हुने भए गाउँपालिकाले समस्या समाधानको पहल गर्ने बताए ।
अहिले परामर्शदाताको अध्ययनमा ९५ मेगावाटको बनाउन सकिने अनुमान छ । तामाकोसी पाँचौ माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको क्यासकेट आयोजना हो । नेपाल विद्युत प्राधिकरणले गरेको प्रारम्भिक अध्ययन अनुसार माथिल्लो तामाकोसीको टेलरेसबाट निस्केको पानीलाई पुनः गरी ८ दशमलब २ किलोमिटर सुरुङबाट लादुकको सूरीटारमा भूमिगत विद्युत गृह बनाएर विद्युत उत्पादन गर्ने लक्ष्य छ । आयोजनाको ग्रस हेड ६० मिटर छ । यसबाट वार्षिक ४ सय ६० दशमलब ५ गिगावाट घण्टा विद्युत उत्पादन हुने हुने छ ।
बाटोको पहुँच, कम वातावरणीय प्रभाव, हेडवक्स निर्माण गर्न नपर्ने कारणले पनि आयोजना आकर्षक सरकारले पनि ४ वर्षदेखि प्राथमिकतामा राखेको आयोजना हो । आयोजनाबाट उत्पादित विद्युत माथिल्लो तामाकोसीले निर्माण गर्ने गोंगर–खिम्तीको २२० केभी डबल सर्किट प्रसारण लाइनमा जोड्ने लक्ष्य छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।