सिंगटीमा घर बनाउन अनुमति

 आवाज संवाददाता     २० पुष २०७४, बिहीबार

दोलखा, २० पुस
विगू गाउँपालिका ४ सिंगटीका भुकम्प पीडितले अब आवास निर्माणका लागि अनुदान पाउने भएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले २ दिन अघि सिंगटी बजार क्षेत्रमा आवास निर्माण गर्ने भुकम्प पीडितहरुलाई अनुदान वितरणका लागि परिपत्र गरेको हो ।
नदी किनार र पहिरोको जोखिममा रहेका कारण सिंगटी बजारमा प्राधिकरणले आवास निर्माणका लागि अनुदान रोकेको थियो । राष्ट्रिय पुर्ननिर्माण प्राधिरकण दोलखाका प्रमुख सागर आचार्यले अहिले अनुदान अनुमतिका लागि केन्द्रबाटै परिपत्र आएकाले समस्या समाधान हुने जानकारी दिए ।
बजारभन्दा माथिको पहिलो माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले रोकथाप गर्ने र तामाकोसी नदीको कटान जल उत्पन्न प्रकोप नियनत्रण कार्यालयले तटबन्ध गरेकोले बजार सुरक्षित हुन सक्ने भएकाले स्थानीय जनप्रतिनिधिले सुरक्षित ठाने मापदण्ड अनुसार अनुदान वितरण गर्न सक्ने उनले बताए । विगतमा पहिलो र नदीको कटानकै समस्याका कारण अनुदान रोक्दै आएको थियो ।
विगू गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष बुक्ताम तमाङले सिंगटीको समस्या समाधान भएको सुने तापनि आधिकारिक जानकारी नभएको बताए । पुरानो बजार हटाउन पनि नसकिने भएकाले रोकथामका लागि विभिन्न निकायले काम गरिरहेकाले अब सुरक्षित होला भन्ने आश रहेको बताए । सिंगटीका भुकम्प पीडितले पहिलो किस्ता वापतको ५० हजार अनुदान पाए तापनि अनुमति विना ४ सय बढी भुकम्प पीडितले घर बनाउन पाएको थिएनन् । भूकम्प पीडितहरु मध्ये देशकै पहिलोपटक स्थायी आवासको सम्झौता गरी पहिलो किस्ता प्राप्त गर्ने जिल्लाको उत्तरी व्यापारिक केन्द्रका बासिन्दा अहिले आएर निरास छन् ।
दोलखाको सबैभन्दा बढि भूकम्पले क्षेती पु¥याएको भनिएको यो बजार अझै पनि जोखिमयुक्त छ भनेर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दोस्रो किस्ता उपलब्ध गराउन आनाकानी गरेपछि उनीहरुमा निरासा आएको हो । अर्कोतर्फ, यहाँका बासिन्दालाई सरकारले दिने आवास निर्माणबापतको अनुदान लिन अर्को जिल्ला धाउनु पर्ने सास्ती त छदैछ ।
दुईतर्फबाट बगेको खोलाको बहाव थेग्नुपर्ने यो बजारलाई चारैतर्फको भीरको चुनौती छ । यस्तै चुनौती देखाएर जिल्लाको तीन ठूला बिगु, गौरीशंकर र कालिञ्चोक गाउँ कार्यपालिकाको विनियमय केन्द्र सिंगटी बजारलाई जोखिमयुक्त सूचीमा राखिदिएपछि प्राधिकरणले दोस्रो किस्ता दिन रोकेको हो ।
जलविद्युत् आयोजनाहरुका कारण सिंगटी बजार भूकम्पले तहसनहस पारे पनि केही समय पछि नै गुलजार बनेको थियो । २०७२ वैशाख २९ गतेको भूकम्पको केन्द्रविन्दु यो बजार नजिकै परकाले बढि क्षेती भएको हो । बजार थिग्रिदै गर्दा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका तत्कालिन कार्यकारी प्रमुख सुशिल ज्ञावलीले निजी आवास अनुदान सम्झौताको सुरुवात सिंगटीबाटै गरेका थिए । डेढ वर्ष अघि ज्ञावलीको हातबाट सम्झौतापत्र पाएका पीडितहरुले नै दोस्रो किस्ता प्राप्त सकेका छैनन् ।
यहाँका करिब साढे तीन सय होटल र पसलमा दैनिक करिब एक हजार जनाको आउजाउ हुन्छ । नागरिकतासमेत प्राप्त गर्न सकिने इलाका प्रशासन, सरकारी अस्पताल, केही निजी स्वास्थ्य केन्द्रहरु, बैंक, लघुवित्त र सहकारीको कारोबारले यो बजारलाई चमक थपिदिएको छ । गौरीशंकर संरक्षण क्षेत्रको केन्द्रीय कार्यालय, क्याम्पस र निजी विद्यालयहरुका कारण यहाँ मानिसहरुलाई आउनै पर्ने बाध्यता छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।