इन्धनको खपत बढ्दै वार्षिक दुई खर्ब

 आवाज संवाददाता     २७ पुष २०७४, बिहीबार

आपूर्तिमन्त्री जयन्त चन्दले पेट्रोलियम पदार्थको भण्डारण क्षमता वृद्धि गर्न आवश्यक रहेको बताएका छन् । नेपाल आयल निगमको ४८औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

इन्धनको माग दिनहुँ वृद्धि भइरहेकाले भण्डारण क्षमता वृद्धि गरे आपूर्ति सहज गर्न समस्या नहुने उनको भनाइ थियो । मन्त्री चन्दले अन्य संस्थानको तुलनामा निगमको कामको प्रकृति फरक र संवेदनशील रहेकाले जनताको निरन्तर निगरानी भइरहेको बताए । आपूर्तिसचिव तथा निगम सञ्चालक समिति अध्यक्ष अनिल ठाकुरले निगमलाई उपभोक्तामुखी भएर कारोबार गर्न निर्देशन दिए ।

निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले व्यावसायिक नभई उपभोक्तामुखी भएर काम गर्न खोजिरहेको बताए । इन्धनको खपत बढ्दै गएर वार्षिक दुई खर्बको कारोबार गर्न लागेकाले पुँजी वृद्धि आवश्यक रहेको उनले बताए । ‘निगमको चालू पुँजी ९ करोड रुपैयाँ मात्र छ, तर कारोबार २ खर्ब रुपैयाँको हुन लागिसकेको छ,’ उनले भने, ‘ठूलो कारोबार हुन थालेकाले अब पुँजी वृद्धि गर्नु आवश्यक भइसकेको छ ।’

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF