निजी आवास पुर्ननिर्माणको समय तालिका परिवर्तन नहुने

 आवाज संवाददाता     २७ पुष २०७४, बिहीबार

दोलखा, २७ पुस
भुकम्पले क्षति भएका निजी आवास पुर्ननिर्माणका लागि तोकिएको समय परिवर्तन नहुने भएको छ । निजी आवास पुर्ननिर्माणका लागि राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका सचिव मुधसुदन अधिकारीले अहिले समय थप्ने वा परिवर्तनको कुनै सोचाइ नभएको जानकारी दिए ।
राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले जनप्रतिनिधिहरुका लागि गुनासो व्यवस्थापन सम्बन्धी अभिमुखीकरण गोष्ठिमा सचिव अधिकारीले उक्त जानकारी दिएका हुन् । पुर्ननिर्माण प्राधिकरणको समयावधी ५ वर्षे कार्यकाल मध्ये २ वर्ष वितिसकेको छ । अहिले निजी आवासलाई मात्र बढी ध्यान दिएको बताए ।
पहिलो किस्ता २०७४ असोज भित्र लिनेहरुका लागि पुस मसान्तभित्र जग तयार गर्नका लागि दिएको समयकै कारण धमाधम पुर्ननिर्माणको लहर चलेकाले प्राधिकरण निर्देशक समितिले तोकेको समयावधी परिवर्तन नहुने उनले बताए । सामान्य समस्या भए गाँठो फुकाउने विषयमा छलफल भए तापनि प्राधिकरण कार्यतालिका अनुसार नै चल्दा पुर्ननिर्माणको कामको प्रगति राम्रै भएको उनले बताए ।
राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका विज्ञ कार्यकारी सदस्य ध्रुवप्रसाद शर्माले निजी आवास पुर्ननिर्माणमा अझै चुनौती रहेको बताए । “सबै अहिले पुर्ननिर्माणको अभियानमा जुटेका छन्” उनले भने “पुर्ननिर्माणको काम हामीले पनि पहिलो पटक गरेकाले गर्दै सिक्दै गरेका छौं तथापी हाम्रो प्रगति सन्तोषजनक छ ।” विद्यालय पुर्ननिर्माणको प्रगति ५० प्रतिशत र सम्पदाको पुर्ननिर्माण पनि राम्रै रहेको उनले बताए ।
दोलखामा ९० परिवार साविकको बसोबार स्थानलाई जोखिमयुक्त भएकाले स्थानान्तरण गर्नु पर्ने रहेको बताए । उनीहरुलाई जग्गा खरिदका लागि २ लाख दिएर विदा गर्न पनि सकिने बताए । सम्पदाको वरपरका घरहरु पुर्ननिर्माण गर्दा अगाडीको मोहोडा पुरानै शैलीका बनाए थप ५० हजार उपलब्ध गराउने निर्णय भएको जानकारी दिए ।
दोलखाका जनउप्रतिनिधिहरुले भने पुर्ननिर्माणका लागि स्थानीय तहलाई नै अधिकार दिन आग्रह गरे । उनीहरुले प्राधिकरणले पहिलो किस्ता लिनेले पुस मसान्तभित्र जगत यार गर्नु पर्ने समय तालिकालाई थप गर्नु पर्नेमा जोड दिएका थिए । भीमेश्वर नगरपालिकाका मेयर भरत केसीले परम्परागत शैलीले काम गर्दा पुर्ननिर्माणमा प्रगति हाँसिल गर्न नसकेका बताए । सानो सानो समस्यामा पनि जनप्रतिनिधिहरुलाई अल्झाउने र लाभग्राहीहरुलाई दुःख दिने काम पुर्ननिर्माण प्राधिकरणले गरेको आरोप लगाए ।
जिरी नगरपालिकाका मेयर टंक जिरेलले प्राधिकरणबाट आएका नयाँ इन्जिनियरहरुले लाभग्राहीहरुको व्यवहारिकता समेत नबुझ्ने कारण समस्या भएको बताए । दक्ष मान्छे गाउँ आउँन नचाहने अनि अरुले कुरा नबुझ्ने समस्या भएको बताए ।
शैलुङ गाउँपालिका वडा नं. ८ का अध्यक्ष रामेश्वर उप्रेतीले छुट भएका लाभग्राहीहरुको नामावली प्राविधिकले दिएको पुरानो निस्सा सहित गुनासो पठाउँदा समेत समयमा सम्बोधन नभएको बताए । प्राधिकरण समयमा काम नगर्ने अनी तल्लो तहमा काम भएन भनेर समय सिमाको कुरा मात्र गरेर नहुने उनले बताए ।
सहरी विकास तथा भवन डिभिजन कार्यालय चरिकोटका प्रमुख एकराज अधिकारीले अहिलेसम्म दोलखामा ६२ हजारले पहिलो किस्ता, १८ हजारले दोस्रो किस्ता र ५ हजारले मात्र तेस्रो किस्ता लिएको जानकारी दिए । एनजिओसँग प्राधिकरणमा माथि नै सम्झौता गर्ने तर उनीहरु नजिक सुगममा मात्र काम गर्दा दुर्गम क्षेत्रमा कोही नपुगेको बताए । एनजिओसँग सम्झौता गर्दा जिल्लाका निकायहरुसँग पनि सिफारिस वा राय लिनु पर्ने बताए ।
विगू गाउँपालिकाका अध्यक्ष युधिष्टिर खड्काले एनजिओले गरेको निजी आवास पुर्न निर्माण राम्रो भए तापनि सरकारी तहले नै गरेको काम सुस्त रहेको बताए । गाउँपालिका नजिक र चरिकोटमै बैंकहरु हुँदाहुँदै आफ्नो गाउँपालिकाका लाभग्राहीहरुलाई बाहिरी जिल्लाको बैंक धाउन बाध्य पारिदा नागरिकले सास्ती भोग्नु परेको बताए । उत्तरी क्षेत्रमा गुम्बाहरु धेरै रहेको तर गुम्बा पुर्ननिर्माणका चासो नदेखाएकोमा उनले दुःखेरो व्यक्त गरे ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF