सिन्धुपाल्चोकमा जोखिमयुक्त वस्ती स्थानान्तरण शुरु

 आवाज संवाददाता     २७ पुष २०७४, बिहीबार

भूकम्पले सबैभन्दा बढी मानवीय र भौतिक क्षति भएको सिन्धुपाल्चोकमा जोखिमयुक्त वस्तीको स्थानान्तरण कार्य शुरु भएको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको पहलमा जिल्लामा पहिलो पटक १८ घरपरिवारलाई शुरक्षित स्थानमा घडेरी खरिद गर्न लगाएको प्राधिकरणका कार्यकारी सदस्य धु्रवप्रसाद शर्माले बताए । प्राधिकरणको अगुवाई र जिल्ला प्रशासन कार्यालयको समन्वयमा जोखिमयुक्त बस्तीको रुपमा पहिचान भएको साविकको गाती गाविसका १८ घरधुरीलाई बाह्रबिसे नगरपालिका वडा नं–३ मा स्थानान्तरण गर्न जग्गा व्यवस्थापन गरिएको हो ।
सरकारले दिएको प्रतिपरिवार रु दुई लाख अनुदानमा लाभग्राहीले रकम थप गरी कम्तीमा साढे दुई आनादेखि ८ आनासम्म घडेरी खरिद गरेका छन् ।
जोखिमयुक्त बस्ती पहिचान भएका लाभग्राहीलाई सुरक्षित स्थानमा जग्गा किन्न प्रतिघर रु दुई लाख सरकारले अनुदान दिँदै आएको छ । जोखिमयुक्त वस्तीका पीडितले निजी आवास पुनःनिर्माण गर्न पनि रु ३ लाख पाउँछन् ।
जोखिमयुक्त लाभग्राहीका रुपमा पहिचान भई थप रु दुई लाख अनुदान पाई जग्गा खरिद गरेकाले १० वर्षसम्म घडेरी बेचबिखन गर्न पाइँदैन । प्राधिकरणको पहलमा यसअघि नुवाकोट, धादिङ, रसुवामा पनि जोखिमयुक्त वस्तीका लाभग्राहीलाई सुरक्षित स्थानमा सार्न जग्गा व्यवस्थापन गरिएको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।