एमबीबीएसको प्रश्नपत्र चुहावटमा ६ जना दोषी ठहर

 आवाज संवाददाता     २७ पुष २०७४, बिहीबार

एमबिबिएस परीक्षामा चिट चोराउने कार्यमा संलग्न भएको आरोप लागेकामध्ये ६ जनालाई विशेषले दोषी ठहर गरेको छ । २ जनालाई सफाइ दिएको  छ ।

२०७१ मंसिरमा शिक्षा मन्त्रालयले गराएको एमबिबिएस परीक्षामा गोल्डेन गेटका सञ्चालकले अन्य व्यक्तिसँग मिलेमतो गरी प्रश्नपत्र लिक गराएको ठहर गर्दै विशेषले कैद र जरिवाना हुने फैसला सुनाएको हो।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्यद्वय द्वारिकानाथ जोशी र नारायणप्रसाद पोखरेलको इजलाशले ३ वर्षपछि बुधबार यस्तो फैसला सुनाएको हो। देवीराम पाण्डेसहित ६ जनालाई दोषी ठहर गर्दै उनीहरुबाट बरामद गरेको ३४ लाख २५ रकमसमेत जफत हुने फैसला सुनाएको छ।

निर्देशक पाण्डेलाई ९ महिना कैद र ५ लाख ५ हजार जरिवाना हुने तथा सोही कलेजका शिक्षक हरिहर भन्ने खेतरनाथ सापकोटालाई एक महिना १५ दिन कैद र   २५ सय जरिवाना हुने फैसला सुनाइएको छ।

विशेषले प्रश्नपत्र लिक गराउने कार्यमा संलग्न अन्य प्रभातकुमार कुशवाहलाई ४ वर्ष कैद ३४ लाख जरिवाना, धर्मेन्द्र यादवलाई एक वर्ष कैद ९ लाख जरिवाना, जिवछ यादवलाई १ वर्ष कैद ५ लाख २ हजार र महेश्वरप्रसाद यादवलाई २ वर्ष कैद १७ लाख १ हजार जरिवाना फैसला सुनाएको हो।

शहिद अख्तर र धर्मेन्द्र संग्रौलालाई भने सफाइ दिने फैसला सुनाएको छ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF