आन्दोलनरत नर्सहरुले ३ घन्टा ड्युटी छाड्ने

 आवाज संवाददाता     १ माघ २०७४, सोमबार

आन्दोलनरत नर्सहरुले सोमबारदेखि एक सिफ्टको ड्युटी नै छाडेका छन्। जसका कारण अस्पतालहरुमा नर्सिङ सेवा ठप्प भएको छ।

एक हप्ताअघि ११ बुँदे माग अघि सार्दै उनीहरुले आन्दोलन घोषणा गरेका थिए। स्वास्थ्य मन्त्रालयले उनीहरुका मागको सुनुवाइ नगरेपछि पूर्व कार्यतालिका अनुसार सोमबारदेखि तीन दिनसम्म उनीहरुले १० देखि १ बजेसम्म ३ घन्टाका लागि ड्युटी छाड्ने घोषणा गरेका हुन्।

यी तीन दिनभित्र पनि माग पूरा नभए ४, ५ र ६ गते सबै अस्पताल र शैक्षिक संस्थामा ८ देखि ४ बजेको सिफ्टमै ड्युटी नजाने र अझै माग पूरा नभए माघ ७ गते २४ घन्टा नै ड्युटी छाडेर स्वास्थ्य मन्त्रालयमा धर्ना दिने भएका छन्।

यी हुन् नर्सहरूले उठाएका माग

  • जनतालाई गुणस्तरीय नर्सिङ सेवा दिन नेपाल सरकारले बनाएको ‘नर्स बिरामीको अनुपात’ सबै अस्पतालमा यथाशीघ्र लागू गरियोस् ।
  • मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्कासन गरिएका नर्सिङ कर्मचारीहरूलाई विनासर्त अविलम्ब पुनर्बहाली गरियोस् ।
  • अधिकारसहितको नर्सिङ सेवा महाशाखा पुनस्र्थापना गरियोस् ।
  • नेपाल सरकारका नर्सहरूलाई उपलब्ध गराइरहेको न्यूनतम तल–बभत्तासरह विभिन्न निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सलाई पनि तहगत हिसाबबाट उपलब्ध गराइयोस् ।
  • सार्वजनिक, निजी र साझेदारी क्षेत्रको सहकार्यलाई प्रवर्धन गरी स्कुल तथा उद्योगहरूमा गुणस्तरीय नर्सिङ सेवा पुर्‍याउने व्यवस्था गरियोस् ।
  • भोलेन्टियरका नाममा भएको नर्सको श्रम शोषण बन्द गरियोस् ।
  • सरकारी तथा निजी क्षेत्रमा कार्यरत नर्सहरूलाई लुगा भत्ता, रात्रिकालीन भत्ता, बिदा सुविधा र जोखिम भत्ता गरी सोहीअनुरूप निजी स्वास्थ्य संस्थामा पनि सोही अनुपातमा लागू गरियोस् ।
  • दुर्गममा काम गर्ने नर्सहरूलाई उचित पारिश्रमिक र सुरक्षाको प्रत्याभूति गरियोस् ।
  • योग्यता पुगेका नर्सिङ कर्मचारीलाई वृत्ति विकासका लागि प्रस्ट खाका तयार गरियोस् ।
  • योग्यता पुगेका अनमीलाई स्टाफ नर्स, स्टाफ नर्सलाई ब्याचलर नर्सिङ, ब्याचलर नर्सिङलाई मास्टर नर्सिङ र मास्टर नर्सिङलाई पिएचडीसम्म तलबी अध्ययन बिदाको व्यवस्था गरियोस् ।
  • श्रम ऐन, ०७४ सबै स्वास्थ्य क्षेत्रमा यथाशीघ्र लागू गरियोस् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।