दोलखा डेरीको १७ वर्षमा आधा किलो घिउ बोनस

 आवाज संवाददाता     १ माघ २०७४, सोमबार

दोलखा दुग्ध उद्योगले १७ वर्षमा शेयरधनीहरुलाई पहिलो पटक बोनस वितरण गरेको छ । स्थापनादेखि शेयरधनीलाई कुनै पनि बोनस दिन नसकेको उद्योगले १७ वार्षिक साधारण सभामा उपस्थित शेयर सदस्यहरुका लागि बोनस स्वरुप आधा किलोग्राम घिऊ बोनस वितरण गरेको हो ।
२०५७ सालमा निजी र सार्वजनिक क्षेत्रको संयुक्त लगानीमा स्थापित दोलखा दुग्ध उद्योग लिमिटेड रुग्ण अवस्था पुगेपछि ४ वर्ष अघि दुग्ध विकास संस्थानले ५१ प्रतिशत थप सेयर लगानी गरेपछि उसैको व्यवस्थापनमा सञ्चालन हुँदै आएको छ । संस्थानले व्यवस्थापन संहालेपछि उद्योगले पुर्नताजगी लिन थालेको छ । शेयरधनीलाई रित्तो हात किन फर्काउनु भनेर आधा किलो घिऊ वितरण गरिएको उद्योगका अध्यक्ष लालकुमार केसीले बताए । यसले आगामी दिनमा उद्योगले बोनस वितरण गर्न सक्ने भन्ने संकेतको रुपमा लिनु पर्ने बताए ।
सुरुवातमा १ करोड चुक्ता पुँजी रहेको उद्योगमा पुँजी र सेयर संरचनालाई कायम राखेर पुँजी वृद्धि गरी चुक्ता पुँजी ५ करोड पु¥याएको अध्यक्ष केसीले बताए । अहिले पुरानो पुँजी ४९ प्रतिशत र डीडीसीको सेयर ५१ प्रतिशत रहेको जानकारी दिए । अहिले डीडीसीको १ करोड २७ लाख, निजी क्षेत्रका ९० जना व्यवसायीको ५१ लाख ९६ हजार ३ सय, १७ वटा सहकारी संस्थाको १० लाख, ६७ हजार २ सय, दोलखा जिविस, रामेछाप जिविस सहितका दोलखाका ९ वटा स्थानीय तहको २५ लाख ३६ हजार ५ सय गरी जम्मा २ करोड १५ लाख ५० हजार लगानी उद्योगमा भएको छ ।
चरिकोटमा रहेको उद्योगका लागि चरिकोटको खिम्ती र जिरी पशु फारामसम्म सञ्जाल विस्तार भएर दैनिक औसत १ हजार ५ सय लिटर दुध संकलन भएको उनले जानकारी दिए । जब कि डीडीसीले व्यवस्थापन लिनुभन्दा अघी दैनिक ३ सय लिटर दुध संकलन पनि धौधौ थियो ।
उद्योगका अध्यक्ष केसीका अनुसार आर्थिक वर्ष २०७३÷७४ मा ३ लाख ४४ हजार २९० लिटर दुध संकलन गरी किसानलाई १ करोड ४६ लाख ५८ हजार ३ सय भुक्तानी गरेको छ । उद्योगबाट दुध, दही, पनिर, पेडा, कृम, मखन, घिउ उत्पादन हुँदै आएको छ । उद्योगबाट बढी भएको ६ हजार लिटर दुध डीडीसीलाई समेत बिक्री गरेको छ ।
एक हजार पाँच सय प्रतिघण्टा क्षमताको यन्त्र जडान छ तर दूध पुगेन । अहिले पुराना उपकरण पनि मर्मत गर्नु पर्ने अवस्थामा पुगेको उनले बताए । पछिल्लो समयमा दुध संकलन पनि वृद्धि हुँदै गएकाले उद्योग नाफामा जाने बताए । किसानहरुको विश्वास बढेकाले अब स्थानयि तहले पशुपालनका क्षेत्रमा लगानी बढाउनु पर्नेमा जोड दिए ।
जिविस दोलखाको विशेष पहल र स्थानीय स्वायत्तशासन कार्यक्रमको प्राविधिक सहयोगमा निजी तथा साझेदारी कार्यक्रमअन्तरगत २०५६ सालमा यो उद्योग प्रारम्भ भई उत्पादनमा गएको हो । तत्कालिन जिविस सभापति लालकुमार केसीकै पहलमा स्थापना उद्योग भएकैले पनि हालसम्म निरन्तर उद्योगका अध्यक्ष पनि केसी नै रहेका छन् । भीमेश्वर नगरपालिका–६ चोथाङमा सात रोपनी जग्गामा भवन निर्माण भई मेसिन जडानसमेत भएको छ । उद्योगमा अहिले डीडीसीका प्रतिनिधिहरु, निजी क्षेत्र र स्थानीय तहका प्रतिनिधि सञ्चालक छन् ।
उद्योगले आगामी दिनमा भीरकोट, पवटी, फस्कु, उखुबारी मागापौवामा डिफ्रिज सहितको चिस्यान केन्द्र स्थापनाका लागि काम सुरु गरेको जानकारी दिए ।

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।