सातै प्रदेशका प्रदेशप्रमुख र अस्थायी केन्द्र तोक्ने तयारी

 आवाज संवाददाता     २ माघ २०७४, मंगलवार

सरकारले आज सातै प्रदेशका प्रदेशप्रमुख र अस्थायी केन्द्र तोक्ने तयारी गरेको छ । प्रधानमन्त्री स्रोतका अनुसार आज बस्ने मन्त्रिपरषद् बैठकले प्रदेश प्रमुख तोक्नुका साथै प्रदेशको कार्य सञ्चालन गर्नेगरी अस्थायी केन्द्र तोक्ने जनाएको छ ।

प्रधानमन्त्ती शेरबहादुर देउवाले राजनीतिक सहमतिका आधारमा प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने बताउँदै आएपनि सहमति जुट्न नसकेपछि यी दुवै निर्णय आफैँ गर्न लागेका हुन् ।

यही निर्णय गर्न देउवाले आज दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक डाकेको छ । निर्वाचन आयोगले सोमबार पत्रकार सम्मेलन गरी माघ ४ सम्म सरकारले प्रदेश प्रमुख नतोके माघ २४ गतेको राष्ट्रियसभा निर्वाचन प्रभावित हुने बताएपछि सरकारले आज काम सक्न लागेको हो ।

कानुनमन्त्री यज्ञबहादुर थापाले पनि प्रदेश प्रमुख तोक्नका लागि गृहकार्य पुराभएको र आजको मन्त्रिपरिषद्को बैठकले टुंग्याउने बताउनुभयो । सरकारले प्रदेश प्रमुखमा पूर्व सचिव एवं निर्वाचन अयोगका पूर्वआयुक्त दोलखबहादुर गुरुङ, मोहनराज मल्ल, अनुराधा कोईराला, रत्नेश्वरलाल कायस्थ, उमाकान्त झा, दुर्गाप्रसाद खनाल लगाएतलाई सिफारिस गर्नेगरी प्रस्ताव अघि बढाएको छ ।

कानुनमन्त्री थापाले राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पु¥याएका र कुनैपनि विवादमा नपरेका व्यक्तिलाई प्रदेश प्रमुख बनाईने बताए । उनले संविधानको धारा २८८ को उपधारा ३ बमोजिम प्रदेशको तत्काल कार्य सञ्चालनका लागि अस्थायी केन्द्र तोक्न लागिएको बताए ।

सरकारले यसअघि नै प्रदेशकेन्द्र सम्बन्धी खाका तयार पारिसकेको छ । जसअनुसार प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर प्रदेश ३ को काठमाण्डौँ उपत्यका, प्रदेश ४ को पोखरा, प्रदेश ५ को लुम्बिनी क्षेत्र, प्रदेश ६ को सुर्खेत र प्रदेश ७ को धनगढी आसपास केन्द्र तोक्न लागिएको छ ।

संविधान अनुसार प्रदेशको स्थायी राजधानी भने सम्बन्धित प्रदेशसभाको दुई तिहाई बहुमतले टुंगो लगाउने छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।