दोलखाका निजी अस्पतालहरुमा मापदण्ड अधुरै

 आवाज संवाददाता     २ माघ २०७४, मंगलवार

दोलखा जिल्लामा सञ्चालित निजी अस्पतालहरुमापदण्ड विपरित नै सञ्चालन भइरहेका छन् । अस्पताल सञ्चालनका लागि सरकारी मापदण्ड अनुसारको भवन, जनशक्ति तथा प्रविधि निर्देशिका पालना भएका छैनन् । जिल्लामा तीन वटा निजी अस्पताल, केही पोलिक्निक, केही डेण्टल अस्पताल र मेडिकलहरु सञ्चालनमा रहे तापनि ती सबै मापदण्ड विपरीत भएको सरोकारवाला निकायले नै बताएको छ ।
भीमेश्वर नगरपालिका वडा नम्बर ३ र ६ मा पर्ने दोलखा सदरमुकाम चरिकोटमा दुई वटा निजी अस्पताल रहेको छ भने वडा नम्बर २ मा पर्ने दोलखा बजारमा एक वटा निजी अस्पताल रहेको छ । त्यसैगरी बैतेश्वर गाँउपालिकाको मैनापोखरीमा सहकारी संस्थाबाट सञ्चालन गरेको एउटा अस्पताल रहेको छ । त्यसैगरी सदरमुकाम चरिकोट र बिभिन्न गाउँपालिकामा पोलिक्निकहरु समेत सञ्चालनमा छन् ।
सदरमुकाम चरिकोटमा ५५ बेडको च्छो रोल्पा जनरल अस्पताल र १५ बेडको दोलखा सामुदायीक अस्पताल प्रालि रहेको छ । दोलखा बजारमा ५५ बेड बनाउने तयारीमा रहेको गौरीशङ्कर सामुदायीक अस्पताल रहेको छ । त्यसैगरी मैनापोखरीमा २५ बेडको बनाउने तयारीमा रहेको हिमालय कियर हेण्डस्ले सञ्चालन गरेको सामुदायीक अस्पताल रहेको छ ।
यी अस्पतालहरुले सरकारी मापदण्ड पूरा गर्न कागजमा सबैकुरा उल्लेख गरेको भएपनि काम गर्न भने १÷२ जना एमविविएस डाक्टर, केही स्टाफ नर्स, एचए, अनमी लगाएतमात्र राखेका छन् । अस्पतालको कम्पाउण्ड र भवन पनि सरकारी निर्देशिका अनुसार नभएको र भुकम्प प्रतिरोधि समेत नरहेको अस्पताल सञ्चालकहरु नै स्वीकार गर्छन ।
सरकारले लागु गरेको स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नती मापदण्ड सम्बन्धि निर्देशीका २०७० को १९ को १ मा २५ बेडसम्मको अस्पताललाई एमविविएस ४ जना, विएन नर्सिङ १ जना, स्टाफ नर्स ५ जना र विशेषज्ञ डाक्टर नभएपनि एमडिजिपि एक जना अनिर्वाय गरेको छ । त्यसैगरी ५० बेडसम्मको अस्पताललाई फिजिसियन १ जना, सर्जन १ जना, बालरोग विशेषज्ञ १ जना, स्त्रीरोग विशेषज्ञ १ जना, एनेस्थेसिया १ जना, एमविविएस ६ जना, विएन नर्सिङ २ जना र स्टाफ नर्स १० जना अनिर्वाय गरेको छ ।
त्यसैगरी ७५ बेडसम्मको अस्पताललाई फिजिसियन २ जना, सर्जन १ जना, हाडजोर्नि विशेषज्ञ १ जना, बालरोग विशेषज्ञ १ जना, स्त्रीरोग विशेषज्ञ २ जना, प्याथालोजिष्ट १ जना, रेडियो लोजिष्ट १ जना, एनेस्थेसिया १ जना, डेण्टल १ जना, एमडिजिपि १ जना, एमविविएस ७ जना, विएन नर्सिङ ३ जना र स्टाफ नर्स १५ जना अनिर्वाय गरेको छ ।
सरकारले २५ बेडसम्मको अस्पतालको स्थापना अनुमति र नवीकरण गर्ने अधिकार जिल्ला स्वास्थ्य कार्यालयलाई दिएको छ भने त्योभन्दा माथिको क्षमता भएको अस्पतालको अनुमति र नवीकरण गर्ने अधिकार क्षेत्रीय स्वास्थ्य निर्देशनालयलाई दिएको छ ।
दोलखा सामुदायीक अस्पताल प्रालिका सञ्चालक अमृत बुढाथोकी जिल्लामा सञ्चालित निजी अस्पतालहरु सरकारी मापदण्ड अनुसार नरहेको स्वीकार गरे । उनले आफू दोलखा सामुदायीक अस्पताललाई मापदण्ड अनुसार सञ्चालन गर्न जनशक्ति र आवश्यक प्रविधि थप गरिरहेको बताउँछन् । समय सापेक्ष सेवा विस्तारमा अस्पताल व्यवस्थापन लागि परेको उनले दाबी गरे ।
धुलिखेल अस्पतालबाट सञ्चालित गौरीशङ्कर सामुदायीक अस्पताल भुकम्पपछि सरकारी मापदण्ड अनुसार नभएको अस्पतालकै कर्मचारीहरुले बताएका छन् । अहिले अस्पतालको नयाँ भवन बनिरहेको र अब दुई बर्ष भित्र एमडिजिपिको ट्रेनिङ सेन्टर सहितको ५५ बेडको अस्पताल सरकारी मापदण्ड अनुसार सञ्चालन हुने काठमाडौँ विश्वविद्यालय स्कूल अफ मेडिकल साईन्सका सहायक डिन दिपक श्रेष्ठले बताए ।
जिल्लामा सञ्चालनमा रहेका अस्पतालहरु मापदण्ड अनुसार नरहेको र विरामीले आवश्यक सेवा पाउन नसकेको गुनासो बढेपछि जिल्ला स्वास्थ्य कार्यालय मार्फत डाक्टरहरु समेत संलग्न रहेको टोलीले निजी अस्पतालहरुको अनुगमन गरेको थियो । टोलीले सबै अस्पताल मापदण्ड विपरीत रहेको भनि प्रतिवेदन दिएको जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटवालको भनाई छ ।
क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर मदन उपाध्यायले दोलखाका निजी अस्पतालहरु अहिलेसम्म नवीकरणको लागि या अन्य प्रयोजनका लागि क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा नआएको उल्लेख गर्दै सरकारी मापदण्ड विपरीत रहेका अस्पतालहरुको नविकरण या नयाँ अनुमति कुनै पनि हालतमा नदिईने बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।