वैत्यश्वर गाउँपालिकाका जनप्रतिनिधिलाई अभिनन्दन

 आवाज संवाददाता     ३ माघ २०७४, बुधबार

दोलखा, ३ माघ
वैत्यश्वर गाउँपालिकाका जनप्रतिनिधिहरुलाई स्थानीयले बुधबार पाँडुडाँडामा अभिनन्दन गरेका छन् । विगतदेखिको गाउँपालिका केन्द्र विवाद मिलाएर सर्वसम्मत रुपमा पाँडुडाँडामा आधिकारिक कायम गराएको खुशीयालीमा उनीहरुलाई अभिनन्दन गरिएको हो ।
वैत्यश्वरको गाउँसभाको निर्णयका आधारमा नेपाल सरकारले एक हप्ता अघि मात्र केन्द्र वैत्यश्वर ६ पाडुडाँडामा कायम गरी राजपत्रमा सूचना प्रकाशित गरेको थियो । जिल्लाकै वैत्यश्वर गाउँपालिकाको केन्द्र साविक काब्रे गाविसको भवनमा तोकिएकोमा सर्वत्र विरोध भएपछि केन्द्र सार्ने विषयमा पहल गरीएको थियो ।
संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ को उपदफा ५ बमोजिम सम्बन्धीत गाउँसभा वा नगरसभाको सिफारीसमा नाम र केन्द्र परिवर्तन गरी नेपाल राजपत्रमा प्रकाशित गरेसँगै बैतेश्वरको केन्द्र वडा नम्बर ६ पाँडुडाँडामा रहने भएको हो । हाल अस्थायी कार्यालय वैत्यश्वर ६ कै मेघेचौरमा रहेको छ ।
यस अघि स्थानीयहरुले पाँडुडाँडामा गाउँपालिका कार्यालयका लागि ४२ रोपनी जग्गा दान गरिसकेका छन् । गाउँपालिकालाई आवश्यक ७० रोपनी जग्गा मध्ये अन्य प्राविधिक कारणले गाउँपालिकाको नाममा लालपूर्जा आउँन मात्र बाँकी रहेको गाउँपालिका उपाध्यक्ष रविचन्द्र आचार्यले बताए ।
स्थानीयको भावना अनुसार नै जनप्रतिनिधिहरुले केन्द्र सर्वसम्मत रुपमा कायम गराएकाले अभिनन्दन गरिएको स्थानीय पुण्यप्रसाद घिमिरेले बताए । गाउँपालिका केन्द्रसम्मका लागि गाउँपालिकाले मैनापोखरी र नाम्दू दुवैतर्फबाट सडक समेत पु¥याइसकेको छ ।
पाडुलामा २५ जनाको ४५५ कित्ता जग्गा रहेको छ । जग्गाधनीसँग रहेको ७५ प्रतिशत जग्गा आफूसँग राखेर २५ प्रतिशत गाउँपालिकाको नाममा पास गर्ने स्थानीयहरुले स्वयम् निर्णय गरेका छन् । कोही कसैको जग्गा २५ प्रतिशतभन्दा बढी गाउँपालिकाको केन्द्र बनाउनका लागि प्रयोग गर्न पास गर्नु पर्ने भएमा पछिल्लो घेरामा रहेका जग्गाधनीले सट्टा पास गर्ने समेत निर्णय गरेका छन् ।
वैत्यश्वर ६ का पुण्यप्रसाद घिमिरेले आफ्नो जग्गा केन्द्रलाई दान दिने ठाउँमा नपरेपछि पछाडीको जग्गा पास दान गर्नेहरुलाई पास गर्न आएको बताए । केन्द्रको जग्गा दान दिन र पछाडीको जग्गा सट्टाभर्नाका लागि स्थानीयको छुट्टा–छुट्टै समिति बनेको छ । गाउँपालिकाको नाममा जग्गा दान गर्नेहरुलाई ७५ प्रतिशत जग्गा पछाडीको जग्गाबाट पु¥याउने हाम्रो सहमति भएको उनले बताए । जग्गासम्बन्धी विषय स्थानीय रुपमै चाँडै टुङ्ग्याइने बताए ।
वैत्यश्वर गाउँपालिका अध्यक्ष छवि लामाले केन्द्रको टुङ्गो पनि लागेको स्थानीयले उत्साहका साथ जग्गा पनि दान गरेकाले अब चाँडै प्लानिङ गरेर भवन निर्माणको प्रक्रिया अघि बढाइने बताए । पक्कि भवन बन्न समय लाग्ने भएकाले अहिले अस्थायी कार्यालय भवन बनाएरै काम सुरु गरिने बताए । पाडुमा भवन निर्माणको लागि जग्गा सम्याउने काम समेत सुरु भएको छ ।
अभिनन्दन कार्यक्रम सामान्वय ढंगले गर्न खोजे तापनि कार्यक्रममा नागरिकहरुको सोचेभन्दा बढी उपस्थिति भएको स्थानीय बालकुमार दाहालले बताए । केन्द्रको समस्या मिलेकाले अब अरु विकासे काममा लाग्न जनप्रतिनिधिहरुलाई स्थानीयले सुझाव दिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।