दोलखाको जिरीमा माघ १९ र २० गते लाटोकसेरो महोत्सव हुने

 आवाज संवाददाता     ३ माघ २०७४, बुधबार

दोलखा, ३ माघ
दोलखाको पर्यटकीय नगरी जिरीमा ‘नेपाल लाटोकेसेरो तथा हुचिल उत्सव २०७४’ हुने भएको छ । प्रकृतिका साथीहरु नामक गैर सरकारी संस्था र युवा सञ्जाल जिरीको संयुक्त आयोजनामा यही माघ १९ र २० गते जिरीमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको हो । महोत्सव जिरी प्राविधिक शिक्षालयमा हुनेछ ।
बुधबार सदरमुकाम चरिकोटमा पत्रकार सम्मेलनको आयोजना गरी अन्तराष्ट्रिय लाटोकोसेरो महोत्सवको अवसर पारेर जिरीमा पनि लाटोकोसेरो तथा हुचिल उत्सव गर्न लागिएको जानकारी दिइएको हो । किसानको साथी भनेर चिनिने लाटोकोसेरोको अवैध व्यापार र शिकार हुन थालेपछि संरक्षणका लागि उत्सवको आयोजना गर्न लागिएको आयोजक प्रकृतिका साथीहरु नामक संस्थाका निर्देशक राजु आचार्यले जानकारी दिए । अमेरिका र इटालीमा समेत मनाइने गरिएको यो उत्सव नेपालमा पनि केही बर्षयता मनाउन थालिएको छ । जिरीमा आयोजना हुन लागेको लाटोकोसेरो तथा हुचिल उत्सव सातौँ उत्सव हो ।

उत्सवका आकर्षण

दुई दिनसम्म चल्ने उत्सवको पहिलो दिन चरा अवलोकन, लाटोकोसेरो सम्बन्धी अस्थायी लघु म्युजियम तथा रोवोट प्रदर्शनी, लाटोकोसेरो सम्बन्धी स्लाइड तथा भिडियो प्रदर्शनी हुने निर्देशक आचार्यले जानकारी दिए । उत्सवको दोश्रो दिन संरक्षण, संस्कृति तथा लाटोकोसेरोसँग सम्बन्धी सामाग्रीहरु प्रदर्शन गरिने छ ।
उत्सवलाई जीवन्त बनाउनका लागि स्थानीय शेर्पा, जिरेल, नेवार लगायतका सांस्कृतिक नृत्य, भजन तथा लोपोन्मुख स्थानीय खेल टुटु प्रतियोगिता पनि हुने आयोजक युवा सञ्जाल जिरीका अध्यक्ष केन्द्रज्योति खड्काले जानकारी दिए । उत्सवमा नेपालको सवैभन्दा ठूलो लाटोकोसेरोको मास्कोट पनि प्रदर्शन गरिने आयोजकले जनाएको छ । उत्सवको सहआयोजक जिरी नगरपालिका, गौरीशंकर संरक्षण क्षेत्र आयोजना र जिरी प्राविधिक शिक्षालय रहेका छन् ।
लाटोकोसेरोले मुसाको शिकार गरी नियन्त्रण गर्ने हुनाले यसलाई किसानको साथी पनि भन्ने गरिन्छ । लाटोकोसेरोको भाले, पोथी र एउटा बच्चाले एक सिजन अर्थात ४ महिनाको अवधिमा करिव ३ हजारवटासम्म मुसा खाने गर्दछन् । मुसा बाहेक लाटोकोसेरोले किरा, फट्याङ्ग्रा, सर्प र भ्यागुतालाई पनि नियन्त्रण गर्दछ ।
पर्यावरणलाई सन्तुलित राख्न यसले महत्वपूर्ण भूमिका निर्वाह गरेपनि अवैध चोरी शिकारीका कारण लोप हुने अवस्थामा पुगेको छ । नेपालमा कानुनीरुपमा लाटोकोसेरोलाई पाल्न, शिकार वा किनवेच गर्न पाइँदैन । यसको शिकार वा किनवेच गरेमा २५ देखि ५० हजारसम्म जरिवाना वा ६ महिनादेखि एक वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।
नेपालमा तराईदेखि हिमालसम्मै बासस्थान रहेको लाटोकोसेरोको संख्या भने एकिन छैन । संसारभर २३ प्रकारका लाटोकोसेरोको प्रजातिहरु रहेको अभिलेख छ । नेपालमा ८८६ प्रजातिका चराहरुमध्ये ३९ प्रजाति लोपोन्मुख रहेको आचार्यले बताए ।
नेपालमा गैडा, बाघ लगायतका बन्यजन्तुकै हाराहारीमा लाटोकसेरो शिकार तथा अवैध व्यापार हुन थालेपछि यसको संरक्षणमा चासो बढेको हो । औषधी, झारफुक तथा घरमा पाल्नका लागि भारत, चीन लगायत विभिन्न खाडी मुलुकहरुमा यसको अवैध कारोवार हुने गरेको छ । कानुनी रुपमा शिकार र ओसारपसार अवैध रहे तापनि यसको व्यापार झन बढेको अनुमान रहेको बताए ।
प्रकृतिका साथीहरु नामक संस्थाले ३५ जिल्लामा गरेको प्रारम्भिक अध्ययन अनुसार नेपालबाट वार्षिक २ हजारवटासम्म लाटोकोसेरो तथा हुचिलको शिकार तथा अवैध रुपमा जीवितै किनवेच हुने गरेको छ । त्यसमध्ये दोलखा जिल्लावाट मात्रै बार्षिक २ सय भन्दा बढी लाटोकोसेरोको अवैध शिकार तथा व्यापार हुने गरेको अध्ययनले देखाएको छ ।

३ संरक्षणकर्मी पुरस्कृत हुने

प्रकृतिका साथीहरु नामक संस्थाले जिरीमा हुने सातौँ लाटोकोसेरो तथा हुचिल उत्सवको अवसर पारेर प्रकृति संरक्षणको क्षेत्रमा योगदान पु¥याउने एक अनुसन्धानकर्मी, एक संरक्षणकर्मी र एक पत्रकार सहित तीन जनालाई ‘प्रकृति संरक्षण पुरस्कार’ प्रदान गर्ने घोषणा पनि गरेको छ । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बेदवहादुर खड्का, नेपाल पक्षी संरक्षण संघ काठमाडौँका गिद्ध संरक्षण कार्यक्रम अधिकृत कृष्णप्रसाद भुषाल र नेपाल वातावरण पत्रकार समूहमा आवद्ध पत्रकार शोभा मानन्धरलाई पुरस्कृत गरिने भएको हो । पुरस्कारको राशी जनही नगद २५ हजार र ताम्रपत्र रहेको छ ।
प्रकृति संरक्षणको क्षेत्रमा योगदान पु¥याए वापत हरेक वर्ष संरक्षणकर्मीहरुलाई पुरस्कृत गर्ने गरिएको उनले बताए । खड्कालाई घडियाल संरक्षणमा, भुषाललाई गिद्द संरक्षणमा र मानन्धरलाई प्रकृति संरक्षणका क्षेत्रमा प्रचारप्रसारमा योगदान पु¥याएकोमा पुरस्कृत गर्न लागिएको हो ।
नेपालका वन, वन्यजन्तु तथा प्रकृति संरक्षणको क्षेत्रमा योगदान दिने २ संस्थालाई पनि सम्मान गर्न लागेको छ । काठमाडौँको रिसोर्सेस हिमालय र नवलपुर कावासोतीको अमलटार मध्यवर्ती सामुदायिक होमस्टेलाई सम्मान गर्न लागेको हो । वन्यजन्तु संरक्षणको क्षेत्रमा योगदान पु¥याउने स्थानीय संरक्षणकर्मी र पत्रकार २ जनालाई पनि सम्मान गरिने आयोजनकले बताएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।