पूरा हुने भो नेत्रहीन माझी दाजुभाइको सपना !

 आवाज संवाददाता     ५ माघ २०७४, शुक्रबार
दोलखा माघ ५
राजेन्द्र माझी कक्षा २ मा पढ्ने नेत्रहीन विद्यार्थी हुन् । उनी भविष्यमा गायक बन्न चाहन्छन् । आर्थिक अवस्था कमजोर भएका कारण उनको चाहना अघि बढ्न सकेको थिएन तर अब उनको यो चाहना पूरा हुने भएको छ ।
तामाकोशी गाउँपालिका १ का अध्यक्ष महेश काफ्लेले माझीको यो चाहना पुरा गर्न पहल सुरु गरेका छन् । परिवार स्रोतबाट उनीहरुको चाहनाबारे थाहा भएपछि पहल सुरु गरेको उनले बताए । काफ्लेले आफूले विभिन्न कार्यक्रममा पाएको भत्तावापतको प्राप्त रकम नेत्रहीन राजेन्द्र र उनका दाजु सुजेन्द्रलाई आज हस्तान्तरण गरे ।
राजेन्द्रका दाजु सुजेन्द्रको पनि भविष्यमा हास्य कलाकार बन्ने चाहना छ । माझी दाजुभाइ दुबैजना नेत्रहीन छन् । राजेन्द्र कालिन्चोक मावि चरिकोटमा कक्षा २ मा अध्ययन गर्दैछन् भने सुजेन्द्र सोही विद्यालयको कक्षा ३ मा अध्ययन गर्दैछन् । उनीहरु सो विद्यालयको समाहित कक्षा अन्तर्गत छात्रवृत्तिमा छात्रबासमा बसी अध्ययनरत छन् । उनीहरुका बाबु सामान्य कृषक परिवारका हुन् । उनी कहिले माछा मार्दै र कहिले बनिबुतो गर्दै जीवन निर्वाह गर्दैआएका छन् ।
काफ्लेको पहलसँगै माझी दाजुभाइको सपना साकार हुने भएको हो । उनीहरुको चाहना पूरा गराउन तामाकोशी १ का अध्यक्ष महेशले आफूले विभिन्न कार्यक्रममा गएवापत पाएको भत्ता ८ हजार ७७५ र दोलखा घर भै हाल अमेरिका बसोबास गर्ने सानु शेर्पाले उपलव्ध गराएको ५ हजार गरी १३ हजार ७७५ रुपैयाँ आज कालिन्चोक माविमा एक कार्यक्रमको आयोजना गरी उनीहरुका पिता शंकर माझीलाई हस्तान्तरण गरे । उनले माझी दाजुभाइको गायक कलाकार बन्ने चाहना पूरा गराउन अभियान चलाउने बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।