आइपिएलको अक्सन सूचीमा नेपालका बलर सन्दीप लामिछाने
आवाज संवाददाता ७ माघ २०७४, आईतवार
आगामी अप्रिलमा हुने इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट प्रतियोगिताका लागि शनिबार सार्वजनिक गरिएको अक्सन (बोलकबोल) सूचीमा नेपालका युवा बलर सन्दीप लामिछाने परेका छन्। शनिबार सार्वजनिक गरिएको ५ सय ७८ जनाको सूचीमा सन्दीप पनि परेका हुन्। सूचीमा ३ सय ६० जना भारतीय खेलाडी छन्।
आइपिएल अक्सनको सूचीमा परेका खेलाडीहरुको अक्सन आगामी जनवरी २७ र २८ मा बैंगलुरुमा हुनेछ। अक्सन सूचीमा ७० जना क्याप्ड खेलाडी छन् भने बाँकी अनक्याप्ड छन्। सन्दीप अनक्याप्ड खेलाडीको क्याटागोरीमा छन् ।
यसअघि सन्दीप पाकिस्तान सुपर लिग (पिएसएल) र बंगलादेशको घरेलु लिगको ड्राफ्टमा परे पनि अक्सनबाट टिममा छनोट हुन असफल भएका थिए।
आइपिएलको नयाँ नियम अनुसार अनक्याप्ड खेलाडीले कम्तीमा २० लाख भारु (३२ लाख रुपैयाँ) पाउनेछन्।
आइपिएलका ८ टिमले आफ्नो टिममा बढीमा २५ र कम्तीमा १८ खेलाडी राख्नुपर्नेछ। जसमा बढीमा ८ जना विदेशी खेलाडी एक टिममा हुन सक्नेछन्।
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।