दोलखा उद्योग वाणिज्य संघमा ३ महिनापछि पदाधिकारी चयन

 आवाज संवाददाता     २० असार २०७३, सोमबार

दोलखा, २० असार/दोलखा उद्योग वाणिज्य संघमा निर्वाचन भएको ३ महिनापछि पदाधिकारी चयन गएको छ । २ पक्ष बीचको विवादले पदाधिकारी चयन हुन नसकेकोमा आज बसेको बैठकले पदाधिकारी चयन गरेको हो ।
बैठकले प्रथम उपाध्यक्ष दिनेश थापा, द्वितीय उपाध्यक्ष दिनेश बस्नेत, महासचिव इन्द्रबहादुर श्रेष्ठ, सचिव अनिता श्रेष्ठ र कोषाध्यक्ष निलाकुमार श्रेष्ठलाई चयन गरेको हो ।
२ प्यानलमा भएको निर्वाचनमा सुन्दर कार्की अध्यक्षमा निर्वाचित भए पनि रामेश्वर मानन्धर पक्षका बहुमत सदस्य निर्वाचित भएका थिए । सदस्यमा कार्की पक्षका ४ र मानन्धर पक्षका १० सदस्य निर्वाचित भएका थिए । पदाधिकारीमा दिनेश बस्नेत कार्की पक्षबाट निर्वाचित सदस्य हुन भने अन्य मानन्धर पक्षका हुन् ।
दोलखा उद्योग वाणिज्य संघको बैशाख ११ गते निर्वाचन गरी बैशाख १२ र १३ मा मत गणना गरी सुन्दर कार्कीलाई अध्यक्ष निर्वाचित भएको निर्वाचन समितिले घोषणा गरेको थियो ।
मत परिणाम अनुसार कार्कीले ५ सय ६ मत प्राप्त गरेका थिए भने मानन्धरले ५ सय ५ मत प्राप्त गरेका थिए । १ मतको फरक परेपछि मतगणना सकिनासाथ मानन्धर प्यानलले पुनः मतगणनाको माग गर्दै निर्वाचन समितिमा निवेदन गरेका थिए । तर कार्की समूहले त्यसलाई स्वीकार नगरेपछि निर्वाचन समितिले दुवै पक्षको रोहबरमा मतपत्र जिल्ला प्रहरी कार्यालयमा सुरक्षित रुपमा थन्क्याएर मत परिणाम घोषणा गरेको थियो ।
मानन्धरले पुनः मत परिणाम चित्त नबुझेको भन्दै पुनरावेदन अदालतमा समेत निवेदन गरेका छन् । उनको मुद्दा विचाराधीन छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।